क्षेत्रीय पुरस्कार गोर्खालाई

New Imageकाठमाडौं, २३ भदौ । शिक्षा मन्त्रालयले प्रदान गर्ने संस्थागत विद्यालय तर्फको मध्यपश्चिम क्षेत्रीय पुरस्कार कोहलपुरस्थित गोर्खा युनाइटेड पब्लिक स्कुलले पाएको छ ।
राष्ट्रिय शिक्षा दिवसका अवसरमा आइतवार राजधानीमा आयोजित कार्यक्रममा अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले विद्यालयका निर्देशक केशरवहादुर आलेलाई पुरस्कार प्रदान गरेका हुन् ।
गोर्खा विद्यालयसँग सामुदायिक तर्फ मध्यपश्चिमबाट कनकासुन्दरी माध्यामिक विद्यालय लुडकु जुम्लाले पाएको छ । दुवै विद्यालयले नगद एक लाख सहित माध्यामिक विद्यालय राष्ट्रिय शिल्ड र प्रमाण पत्र पाएका हुन् ।
मन्त्रालयले विगत तीन बर्षको एलएलसी परीक्षाको रिजल्टको आधारमा गोर्खा स्कुललाई पुरस्कार प्रदान गरेको हो । यसअधि २०६७ सालमा पनि गोर्खाले क्षेत्रीय पुरस्कार पाएको थियो ।
विक्रम संवत २०६० सालबाट एसएलसी परीक्षामा सामेल भएको गोर्खाले सतप्रतिशत रिजल्ट निकाल्न सफल भएको छ । गत बर्षको एसएलसीमा ८१ जना सम्मेलित मध्ये ३९ जना विशिष्ट श्रेणी र ४२ जना प्रथम श्रेणीमा विद्यार्थी उत्तीर्ण गराउन सफल भएको थियो ।
शिक्षा दिवसका अवसरमा अध्यक्ष रेग्मीले सामुदायिक तर्फ बेनी सामुदायिक माध्यामिक विद्यालय बेनी म्याग्दी र संस्थागत जेम्स स्कुल ललितपुरलाई नगद २ लाख सहित राष्ट्रिय पुरस्कार प्रदान गरेका थिए ।
५ वटै विकास क्षेत्रबाट ५ सामुदायिक र ५ संस्थागत विद्यालयलाई क्षेत्रीय पुरस्कार प्रदान गरिएको छ । सामुदायिक तर्फ पूर्वाञ्चलबाट स्कुलचौन मावि महारानीझोडा झापा, मध्यमाञ्चलबाट तरुण मावि बालाजु काठमाडौ, पश्चिमाञ्चलबाट बालमन्दिर मावि नदीपुर कास्की र सुदूरपश्चिममाञ्चलबाट गलेश्वर मावि महरगाउँ बैतडी रहेका छन् ।
यसैगरी संस्थागततर्फ पूर्वाञ्चलबाट बालकल्याण विद्यामन्दिर मावि मोरङ, मध्यमाञ्चलबाट नाइटिङेल मावि कुपोन्डोल, पश्चिमाञ्चलबाट न्यू होराइजन मावि रुपन्देही र सुदूरपश्चिमबाट इन्टरनेशनल पब्लिक स्कुल महेन्द्रनगर रहेका छन् ।

प्रतिक्रिया