अपहरित दुई बालकहरुको सकुशल उद्धार

dangदाङ, २२ साउन । दाङको तुल्सीपुर नगरपालिकाबाट अपहरित दुई बालबालिकालाई प्रहरीले सकुशल उद्धार गरेको छ ।
तुल्सीपुर नगरपालिका–८ का धनीष ओलीका १० बर्षीय छोरा केशव ओली र सोही ठाउँ बस्ने शशिधर भण्डारीका १० बर्षीय छोरा सुलभ भण्डारीलाई आज (मंगलबार) सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ ।
केशव र सुलभलाई सोमबार चार बजे स्थानीय शान्तिदीप बोर्डिङ स्कुलको गेटबाट अपरिचित २ जना व्यक्तिहरुले अपहरण गरेका थिए ।
अपरिचित दुई व्यक्तिले केशव र सुलभलाई खानेकुरा र पैसा दिई ललाई फकाई मोटरसाइकलमा राखेर लगेको सूचना पाउने वित्तिकै प्रहरीले खोजतलास शुरु गरेको थियो ।
खोजतलासमा खटिएको प्रहरी टोलीले दिउँसो २ बजे दुबै बालकलाई मानपुर–९, पत्रेखोलाबाट सकुशल उद्धार गरेको हो ।
अपहरणको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले तुलसीपुर नगरपालिका–८ बस्ने २१ बर्षीय इन्द्र विकसहित २ जना महिलालाई नियन्त्रणमा लिएको छ ।
यसैवीच, कर्तव्य गरी ज्यान मारेर फरार रामपुर–५, काउलेका ४६ बर्षीय सुरत बहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ ।
विकसहितका व्यक्तिहरुले २०६१ साल भदौ–१ गते सोही ठाउँ बस्ने २२ बर्षीय भरतराज बस्नेतको हत्या गरी स्थानीय बाक्सेनी जंगलमा गाडेर फरार भएका थिए । विकलाई प्रहरीले सोमबार काउलेमा हिँडडुल गरी रहेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया