भट्टराईलाई शिव सेनाले निगरानीमा राख्ने

DSC_0692काठमाडौं, १० साउन । राजाले बाढी पीडितलाई राहत बाँडेको विषयलाई लिएर जेल हाल्नु पर्ने अभिब्यक्ति दिएका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई शिवसेना नेपालले निगरानी राख्ने भएको छ ।
शिव सेनाले आफ्ना अभिब्यक्तिलाई लिएर भट्टराईले तत्काल माफी माग्न माग गरेको छ । भट्टराईले माफी नमाग्दासम्म निगरानीमा राख्ने चेतावनी शिव सेनाको छ ।
शिव सेनाले आज (बिहीबार) काठमाडौंमा पत्रकार सम्मेलन गरेर तत्काल माफी माग्नु भन्दै कारबाहीको चेतावनी दिएको हो । ‘जनयुद्धको नाममा हजारौं निर्दोष जनताको ज्यानलिने, राष्ट्रघाती बाबुराम भट्टराईको हरेक गतिविधिहरुलाई ध्यान दिएका छौं,’ शिव सेनाका महासचिव माधवप्रसाद भण्डारीले भने ।
उनले बाढी पहिरोले आक्रान्त भएका जनतालाई राहत वितरण गर्न जाँदा अङ्कुश लगाउन खोज्ने भट्टराई जनविरोधी र राष्ट्रघाती भएको बताए ।
उनले भट्टराई क्रिश्चियनको ठेकेदार र भारतीय विस्तारवादको दलाल भएको आरोप लगाए । उनले भने, ‘राजसंस्था र ८५ प्रतिशत हिन्दू भएको अखण्ड मुलुक प्रति कसैले धावा बोल्छ भने त्यस्ताहरुको विरुद्ध बन्दुक उठ्न सक्छौं ।’
नेपाल बार एसोसिएसनका कोषाध्यक्ष एवम् शिवसेना नेपालका उपाध्यक्ष राजकुमार थापाले भट्टराईको अभिव्यक्ति संविधान विपरित भएको दावी गरे ।
ओम रक्षा बाहिनीका उपप्रमुख महावीरसिंह खड्काले राजसंस्था र हिन्दूधर्मको विरुद्ध बोल्ने बाबुराम लगायत सबैको प्रतिकार गर्ने घोषणा गर्दै त्यसलाई एक एक गरेर कारवाही गर्ने चेतावनी दिए ।

प्रतिक्रिया