एमाले, माले र राजमो चुनावी सहकार्य गर्न तयार

काठमाडौं, १३ असार । नेकपा मालेले एमालेसँग तत्काल पार्टी एकता गर्न नसकिने जनाएको छ । बुधबार एमाले अध्यक्ष झलनाथ खनालसँगको भेटमा खनालले माले महासचिव सिपी मैनालीसँग पार्टी एकताको प्रस्ताव राखेका थिए ।

खनालले आगामी चुनावमा सबै राजनीतिक दललाई चुनावमा ल्याउन संवाद गर्ने सिलसिलामा बुधबार माले महासचिव सिपी मैनाली र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँग छलफल गरेका थिए । भेटमा माले महासचिव मैनालीले मिल्ने मुद्दामा चुनावमा सहकार्य गर्दै जाने र मिल्नसक्ने बिन्दु खोज्दै जाने सहमति भएको बताए ।
‘मूल राजनीतिक कार्यदिशामा कतिपय विमति छन्, मिल्न सकिने विषयमा सहकार्य र एकता गर्दै जान सकिन्छ,’ मैनालीले भने, ‘अहिले नै पार्टी एकता भने सम्भव छैन ।’ यसअघि पनि एमालेले वार्ता टोली बनाएरै मालेलगायत वामपन्थी दलहरूसँग एकता वार्ता गरेको थियो । देशभक्त, राष्ट्रवादी, लोकतान्त्रिक र प्रगतिशील शक्तिहरूबीच चुनावमा सहकार्य गर्दै जाने खनालको प्रस्ताव भने मैनालीले स्वीकार गरेका थिए ।
आफ्नै निवास डल्लुमा खनालले राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई पनि भेटेका थिए । भेटमा खनालले सबै पार्टीहरूलाई चुनावमा लैजान आफुले हदैसम्मको लचकता अपनाउन उच्चस्तरीय राजनीतिक समितिमा कुरा उठाउने आश्वासन दिएका थिए । आगामी चुनावमा लोकतान्त्रिक, वामपन्थी तथा राष्ट्रवादी शक्तिहरूबीच सहकार्यको प्रस्ताव खनालले गरेका थिए ।
खनालको सो प्रस्तावमा भने मैनाली र केसी दुवैले सहमति जनाएका थिए । छलफलमा सहभागी एमाले नेता रघुजी पन्तका अनुसार अध्यक्ष खनालले वामपन्थी तथा लोकतन्त्र पक्षधर शक्तिहरूबीच सहकार्यको वातावरण बनाउन अधिकतम लचकता अपनाउन तयार रहेको बताएका थिए । आगामी निर्वाचनमा सहकार्य गर्न दुवै दल सकरात्मक भएको नेता पन्तले बताए ।

प्रतिक्रिया