गीताको निबन्ध–संग्रह सार्वजनिक

काठमाडौं :  युवा कवि तथा समालोचक गीता त्रिपाठीको नवीनतम कृतिका रूपमा निबन्ध–सङ्ग्रह ‘म एक्लो र उदास उस्तै’ हालै सार्वजनिक भएको छ । वसुन्धरास्थित साउथवेस्टन स्टेट कलेजमा बुधबार आयोजित एक कार्यक्रममा वरिष्ठ साहित्यकार माया ठकुरी तथा उच्च माध्यमिक शिक्षा परिषद्का प्रवक्ता नारायणप्रसाद कोइरालाले संयुक्त रूपमा सो कृति विमोचन गरेका हुन् ।
विमोचित कृतिमाथि बोल्दै माया ठकुुरीले भनिन्, “नेपाली निबन्धमा गीता त्रिपाठीको आगमन उनको कवि, गीतकार र समालोचक व्यक्तित्वजस्तै सशक्त किसिमले भएको प्रमाण यस सङ्ग्रहभित्र समेटिएका निबन्धहरूले दिएका छन् । उनले नारीलेखनका विषयमा उठाइने अनेक प्रश्नको जवाफ दिनसक्ने गरी अत्यन्त गम्भीर लेखन गरेकी छन् र नेपाली निबन्धमा उनको लेखनले एउटा अध्ययनशील लेखकको परिचय दिएको छ ।”
यसरी नै कृतिमाथि समालोचकीय टिप्पणी प्रस्तुत गर्ने अर्का समालोचक उपप्राध्यापक रेशमबहादुर अधिकारीले गीता त्रिपाठीका निबन्धमा अभिव्यक्तिको विशिष्ट शैली र चिन्तनको उच्च स्वरूप प्रवाहित भएकाले यी निबन्धहरू निजात्मक हुादाहुादै पनि मानवीय सम्वेदनाले भरिएका काव्यिक आलेख बन्न पुगेको छ भन्ने विचार प्रकट गर्नुभयो । कृतिमाथि उपप्राध्यापक राजेन्द्र लामिछानेलगायत विभिन्न वक्ताले मन्तव्य राखेका थिए । कृति विवेकसिर्जनशील प्रकाशनले बजारमा ल्याएको हो । (सौस)

प्रतिक्रिया