वैदेशिक रोजगारमा जाने बढे

rojgari-2काठमाडौ, २३ जेठ । वैदेशिक रोजगारीमा जाने संख्यामा वृद्धि भएको छ । देशको राजनीतिक अस्थिरता र उपयुक्त कामको अवसरको अभावका कारण दक्ष तथा अदक्ष युवाको समेत विदेश जाने क्रम बढेको छ ।

गत वैशाखमा ३९ हजार २ सय ८० जनाले वैदेशिक रोजगारमा जान श्रम अनुमतिपत्र लिएका छन् । अनुमति प्राप्त गर्नेमध्ये ३६ हजार ८ सय १३ जना पुरुष र दुई हजार ४ सय ६७ जना महिला रहेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । चालु आवको १० महिनामा तीन लाख ५७ हजार ७ सय ७ जनाले श्रम स्वीकृति प्राप्त गरेका छन् । यो संख्या गत वर्ष सोही अवधिको तुलनामा करिब १४ प्रतिशतले वृद्धि भएको मन्त्रालयले उल्लेख गरेको छ ।
वैशाखमा वैदेशिक रोजगारीका क्रममा २ सय १० वटा ठगीका उजुरी परेको र त्यसमा आठ करोड ५९ लाख २० हजार रकम दाबी गरिएको थियो । त्यसमध्ये ७२ वटा उजुरी फछर्योट भई एक करोड १५ लाख १२ हजार असुल गरिएको, वैदेशिक रोजगारसम्बन्धी कसुरमा वैदेशिक रोजगार विभागद्वारा १० करोड ११ लाख ६ हजार असुलउपर गराइएको बताइएको छ ।
चालु आर्थिक वर्षको वैशाख महिनासम्म विदेशमा मृत्यु भएका १ सय ६० जनाको शव काठमाडौँदेखि मृतकको घर ठेगानासम्म पुर्‍याउन आर्थिक सहायता प्रदान गरिएको मन्त्रालयले जनाएको छ । त्यसैगरी मन्त्रालयले साउदी अरबका लागि नेपाली राजदूतलाई वैदेशिक रोजगार विभागलाई दिएको अधिकार चार महिनाका लागि प्रयोग गर्न दिने निर्णय गरेको छ । साउदी सरकारले सो देशमा रोजगारदाता परिवर्तन गरी गैरकानुनी रूपमा कार्यरत विदेशी कामदारलाई स्वदेश फर्कन वा पुन: कानुनी रूपमा स्वीकृति लिई काम गर्न सक्नेगरी छनोटको सुविधासहित क्षमादान गरेकाले सोही अनुरूप नेपाली श्रमिकको व्यवस्था गर्ने प्रयोजनका लागि अधिकार प्रदान गरिएको मन्त्रालयले स्पष्ट पारेको छ ।

प्रतिक्रिया