खाडी मुलुक जाने महिला घटे

गुल्मी : छापहिले–२ गुल्मीकी २१ वर्षीया युमुना खड्का आर्थिक अभावका कारण वैदेशिक रोजगारीका लागि खाडी मुलुक जाने तयारीमा थिइन् । उनी एक महिनाअघि मात्र राहदानी बनाउन राजधानीबाट सदरमुकाम तम्घास आएकी हुन् । तर, ३० वर्षभन्दा कम उमेरका महिलालाई खाडी मुलुक जान सरकारले रोक लगाएको जानकारी पाएपछि उनी त्यत्तिकै फर्कन बाध्य भइन् ।
‘घरमा जेठी छोरी भनेकी मै हुँ, अरू बहिनी र भाइ साना छन्, मेरो बाबा अब ६० वर्षको पुग्न थाल्नुभयो, मैले पैसा नकमाउने हो भने मेरो घरमा आर्थिक अभावले खानसमेत पाइँदैन,’ उनले भनिन् ।
सात कक्षासम्मको अध्ययन गरेकी उनले आफूलाई आर्थिक, शैक्षिक दुवै हिसाबले दुबई नै ठीक हुने बताइन् । खड्का मात्रै होइन्, गुल्मी जिल्लामा आर्थिक अभावका कारण वैदेशिक रोजगारीमा चाहेर पनि उमेर हदबन्दीका कारण जान नपाउने महिला धेरै छन् । घरमा श्रीमान्को कमाइले छोराछोरीको खर्च नचल्ने भएपछि इस्मा दोहली–७ निवासी २६ वर्षीया सुमित्रा कार्कीले पनि वैदेशिक रोजगारमै जाने तयारी गरेकी छन् ।
समाजको चुनौतीका बाबजुद घरपरिवार, श्रीमान्, छोराछोरी सबै त्यागेर विदेश जाने तयारी गरिरहेकी कार्कीको वैदेशिक रोजगारीमा गएर सम्पन्न परिवार बनाउने धोको चार वर्षका लागि अझै अधूरै रहने भएको छ । रहरले भन्दा पनि बाध्यताले वैदेशिक रोजगारीमा जाने तयारी गरिरहेको बताउँदै उनले खाडी मुलुकमा कम उमेर भएकै कारण जान नपाउने नियमले आफूजस्ता गरिब र विपन्नहरू भोकै मर्न बाध्य हुने उनको भनाइ छ । ‘मेरो श्रीमान्को कमाइले म र मेरो दुई छोराछोरीलाई एकछाक खान र एकसरो लुगा फेर्न पनि पुग्दैन,’ उनले भनिन्, ‘छोराछोरी पढाउन, पाल्न मैले नै कमाउनुपर्छ, पति बिरामी छन्, विदेश गएर कमाउन सक्नुहुन्न ।’
दैनिक घर निर्माण गर्ने काम गर्ने कार्कीका श्रीमान्को मासिक आम्दानी पाँच हजार मात्रै हुन्छ । खर्चअनुसार आम्दानी कम हुँदा आफूलाई रोजगारीका लागि विदेश नै जानुपर्ने बाध्यता रहेको उनको भनाइ छ । केही वर्षअघि घरपरिवार चलाउन पुरुष मात्रै रोजगारीका लागि विदेश जाने प्रचलन रहे पनि पछिल्लो समयमा महिला पनि वैदेशिक रोजगारीमा जान थालेका छन् । तर, पछिल्लोपटक सरकारले वैदेशिक रोजगारीमा जाने महिलालाई लक्ष्य गरी ल्याएको उमेर हदबन्दीसम्बन्धी ऐनले खाडी मुलुक जाने महिलाको संख्या घटेको जिल्ला प्रशासन कार्यालय राहदानी फाँटका कर्मचारी भुवन बस्नेतले जानकारी दिए । अरूको लहलहैमा लागेर विदेश जाने महिला आज–भोलि खासै नभएको जिल्ला विकास समितिका सूचना अधिकृत शंकरप्रसाद गौतमले बताए । उनले जिल्ला विकास समितिमा राखिएको वैदेशिक रोजगारसम्बन्धी सूचनाकक्षमा सूचना लिनेको संख्या बढेको बताए ।
खाडी मुलुकमा रोजगारीका लागि जाने महिलालाई सरकारले लगाएको उमेर हदबन्दीले महिलालाई अवैधानिक बाटो हुँदै विदेश जान बाध्य पारेको पिपुल फोरमकी जिल्ला संयोजक सञ्जीवनी अर्यालको भनाइ छ । ‘उमेरहदबन्दी नै समस्याको समाधान होइन, महिलाहरू यहाँ नेपालको विमानस्थलबाट नभई भारतको बाटो हुँदै गइरहेका छन्,’ उनले भने ।

प्रतिक्रिया