अख्तियारमा कार्की

Lokmanshin-Karkiकाठमाडौं, २६ वैशाख । अन्तत: पूर्वमुख्यसचिव लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख भएका छन् । कार्की प्रमुख बनेसँगै अख्तियारले झन्डै सात वर्षपछि नेतृत्व पाएको छ ।
उनलाई अख्तियार प्रमुख बनाउन सिफारिस गर्ने शीर्ष नेताहरूकै दलभित्रबाट विरोधका स्वरहरू उठिरहेका बेला बुधबार कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले राष्ट्रिपति डा.रामवरण यादवको
उपस्थितिमा कार्कीलाई पद तथा गोपनियताको शपथ गराएका छन् । शपथग्रहण कार्यक्रममा राष्ट्रपति यादवसँगै मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, मन्त्रीहरू, विभिन्न दलका नेता तथा उच्च सरकारी अधिकारीहरूको उपस्थिति  रहेको थियो ।
कामुप्रधानन्यायाधीश शर्माले कार्कीसँगै लोकसेवा आयोगकी प्रमुख कयोदेवी यमी र महालेखा परीक्षकका प्रमुख भानुप्रसाद आचार्यलाई पनि शपथ गराए । कार्कीले शपथ लिएलगत्तै आयोगको सदस्यमा सिफारिस केशव बराललाई शपथ खुवाएका थिए । बराललाई यसअघि नै माधव नेपाल नेतृत्वको सरकारले नियुक्तीका लागि सिफारिस गरेको थियो । तर, त्यतिबेला प्रमुख आयुक्त पद रिक्त रहेकाले उनले शपथ ग्रहण गर्न पाएका थिएनन् । नेपाल प्रहरीका पूर्वएआइजी बराल वामदेव गौतम गृहमन्त्री हुँदा ३० वर्षमा अवकाश पाउने नियम लागू भएपछि प्रहरी सेवाबाट बाहिरिएका थिए ।
एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चासहितको चार दलीय उच्चस्तरीय राजनीतिक समितिको सिफारिसमा संवैधानिक परिषद्ले कार्कीसहित अन्य संवैधानिक निकायका प्रमुखहरूमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष २२ वैशाखमा सिफारिस गरेको थियो । परिषद्को सिफारिससँगै कार्कीको नियुक्तिविरुद्ध केही दलका भ्रातृ संगठनहरूले विरोध गर्दै आएका थिए ।
पद तथा गोपनियताको शपथ लिए लगत्तै कार्की र बरालले बुधबार अख्तियार पुगी पद बहाली गरेका छन् । उनले भ्रष्टारचारमुक्त समाज निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।

प्रतिक्रिया