
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १६ जनाको सजाय निर्धारण गरेको छ । यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री रायमाझीलाई सबै कसुरमा गरी ११ वर्ष कैद र १ लाख ५ हजार रुपैयाँ जरिमाना तोकेको छ भने पूर्वगृहमन्त्री खाँणलाई ५ वर्ष ३ महिना कैद र ५० हजार रुपैयाँ जरिमाना तोकेको छ । तर, खाँणको अधिकतम कैद सजाय २ वर्ष र रायमाझीको ४ वर्ष तोकिएको छ । काठमाडौँ जिल्ला अदालतले उनीहरूलाई २३ असारमै दोषी ठहर्याए पनि मंगलबार सजाय निर्धारण गरेको हो । जिल्ला अदालत काठमाडौँका न्यायाधीश तेजबहादुर खड्काको इजलासले उक्त सजाय सुनाएको हो ।
उनीहरूमाथि ठगी, संगठित अपराध, राज्यविरूद्धको अपराध र एकीकृत अपराधतर्फ दोषी ठहर्याउँदै सबै कसुरमा छुट्टाछुट्टै सजाय निर्धारण गरिएको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान रचिएको अपराध अभियोगमा १० जेठ, २०८० मा सरकारी वकिल कार्यालयले पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित ३० जनाविरूद्ध ठगी, लिखत किर्ते, राज्यविरूद्धको अपराध र संगठित अपराध गरी ४ वटा कसुरमा मुद्दा दायर गरेको थियो । तर, १६ जना मात्र दोषी ठहर भएका थिए भने ७ जनाले सफाइ पाएका थिए, अन्य फरारको सूचीमा छन् । सफाइ पाउनेमा रामशरण केसी, टंककुमार गुरुङ, सञ्जीव रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी छन् ।
०००
कुन कसुरमा कसलाई कति सजाय ?
इन्द्रकुमार राई, आङटावा शेर्पा, पूर्वगृहसचिव पाण्डे र पूर्वउपप्रधानमन्त्री रायमाझीलाई समान कसुरमा समान सजाय निर्धारण गरिएको छ । जसमा ठगी कसुरमा समान २ वर्ष कैद र २० हजार जरिमाना, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार जरिमाना, राज्यविरूद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार जरिमाना र एकीकृत कसुरतर्फ ४ वर्ष कैद र ४० हजार जरिमाना सुनाइएको छ । तर, यस प्रकरणमा मतियार ठहरिएका पूर्वगृहमन्त्री खाँणलाई भने ती सबै कसुरमा आधा सजाय हुने गरी सजाय तोकिएको छ ।
त्यस्तै, केशवप्रसाद दुलाल र सानु भण्डारीलाई समान कसुरमा समान सजाय तोकिएको छ । उनीहरूलाई सरकारी कागज किर्तेमा २ वर्ष कैद र २० हजार जरिमाना, ठगीमा २ वर्ष कैद र २० हजार जरिमाना, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार जरिमाना र राज्यविरुद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार जरिमाना तोकिएको छ भने एकीकृततर्फ ४ वर्ष कैद र ४० हजार जरिमाना तोकिएको छ । सागर राई र सन्देश शर्मालाई पनि समान कसुरमा समान सजाय निर्धारण भएको छ । उनीहरूलाई ठगी, संगठीत, राज्यविरुद्धको कसुर र एकीकृत अपराधमा सजाय सुनाइएको छ ।
ठगी, संगठीत अपराध, राज्यविरुद्धको कसुर र एकीकृत अपराधमा दोषी ठहरिएका नरेन्द्र केसी, शम्शेर मियाँ, हरिभक्त महर्जन र निरञ्जनकुमार खरेललाई ती कसुरहरूमा क्रमशः समान ६ महिना कैद र ५ हजार, ९ महिना कैद र ७ हजार ५००, ६ महिना कैद र ५ हजार, १ वर्ष कैद र १० हजार जरिमाना तोकिएको छ । यसैगरी गोविन्द कुमारचौधरी, सन्देश शर्मा र सागर राईलाई पनि समान ४ वर्ष कैद र ४० हजार जरिमाना तोकिएको छ । उनीहरूलाई ठगीमा २ वर्ष कैद र २० हजार जरिमाना, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार जरिमाना, राज्यविरूद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार जरिमाना र एकीकृत कसुरतर्फ ४ वर्ष कैद र ४० हजार जरिमाना तोकिएको छ ।
०००
कसरी हुन्छ सजाय कार्यान्वयन ?
दोषी ठहर भएका सबैलाई विभिन्न कसुरमा छुट्टाछुट्टै सजाय तोकिएको छ । तर, अदालतले कसुरअनुसार कैद र जरिमाना भनी अलग–अलग सजाय किटान गरे पनि जुन कसुरमा सबैभन्दा बढी सजाय तोकिएको छ, त्यो मात्र कार्यान्वयन हुनेछ । अधिकतम सजाय भुक्तान गर्दा बाँकी सजाय पनि एकैसाथ भुक्तान हुनेछ । फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ ले यससम्बन्धी व्यवस्था गरेको छ । ऐनको दफा ११ को उपदफा १ मा एकै वारदातमा एकभन्दा बढी कसुर गर्ने कसुरदारलाई सजाय निर्धारण गर्दा प्रत्येक कसुर अलग–अलग भएको मानी छुट्टाछुट्टै सजाय निर्धारण गर्नुपर्ने उल्लेख छ भने उपदफा २ र ३ मा जुन कसुरमा सबैभन्दा बढी सजाय हुन्छ, सो मात्र कार्यान्वयन हुने भनिएको छ । सोही दफामा सजाय निर्धारण गर्दा भने प्रत्येक कसुरबापत छुट्टाछुट्टै सजाय तोक्नुपर्ने उल्लेख छ । यस हिसाबमा १ वर्षदेखि ११ वर्षसम्मको कुल सजाय निर्धारण भए पनि अधिकतम सजाय जुन तोकिएको छ, त्यो मात्र कार्यान्वयन हुनेछ । सो सजाय भुक्तान गर्दा त्योभन्दा कम सजाय स्वतः भुक्तान भएको मानिने कानुनी प्रावधान रहेकाले कुल ११ वर्ष जेल सजाय तोकिएका व्यक्तिले उनीहरूलाई तोकिएको अधिकतम ४ वर्ष कैद भुक्तान गरे पुग्नेछ ।
कसलाई अधिकतम सजाय कति ?
अभियुक्त – कैद – जरिमाना
टोपबहादुर रायमाझी ४ वर्ष ४० हजार
टेकनारायण पाण्डे ४ वर्ष ४० हजार
केशवप्रसाद दुलाल ४ वर्ष ४० हजार
सानु भण्डारी ४ वर्ष ४० हजार
सागर राई ४ वर्ष ४० हजार
सन्देश शर्मा ४ वर्ष ४० हजार
डा. इन्द्रजित राई ४ वर्ष ४० हजार
गोविन्दकुमार चौधरी ४ वर्ष ४० हजार
आङटावा शेर्पा ४ वर्ष ४० हजार
बालकृष्ण खाँण २ वर्ष २० हजार
टेकनाथ रिजाल २ वर्ष २० हजार
नरेन्द्र केसी १ वर्ष १० हजार
शमशेर मियाँ १ वर्ष १० हजार
हरिभक्त महर्जन १ वर्ष १० हजार
निरञ्जनकुमार खरेल १ वर्ष १० हजार
बेचन झा १ वर्ष १० हजार
प्रतिक्रिया