पूर्वप्रदेश प्रमुख अहिराज बलात्कार मुद्दामा दोषी ठहर

काठमाडौँ । पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर भएका छन् । मंगलबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको एकल इजलासले उनलाई दोषी ठहर गरेको हो । इजलासले उनलाई सजाय निर्धारणका लागि असार ३२ गतेको पेसी तोकी जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौँ र प्रतिवादीलाई जानकारी दिन भनेको छ । ‘प्रतिवादी राजेश अहिराज भन्ने राजेश झाले मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (१) र (२) बमोजिमको कसुर गरेको ठहर्छ,’ आदेशमा भनिएको छ ।

अहिराज मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख, पत्रकार तथा मधेसवादी कार्यकर्ता हुन् । २०७७ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा उनलाई मधेस प्रदेशको प्रदेश प्रमुख बनाइएको थियो । तर, सर्वोच्चको परमादेशपछि शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि उनलाई प्रदेश प्रमुखबाट हटाइएको थियो । प्रदेश प्रमुख भएका बेला आफ्नो कार्यालयमा पृथ्वीनारायण शाहको तस्बिर राखेपछि थप चर्चामा आएको थिए ।

आफ्नै घरको डेरामा बस्ने एक महिलालाई बलात्कार गरेको आरोपसहित ४ जेठ, २०८१ मा उनीविरुद्ध मुद्दा दायर भएको थियो । ४ साउन, २०८२ मा प्रहरीले उनलाई पक्राउ गरेको थियो भने प्रहरी अनुसन्धानका आधारमा सरकारी वकिल कार्यालय काठमाडौँले उनीविरुद्ध जबरजस्ती करणी मुद्दामा अभियोजन गरेको थियो । त्यसपछि १४ साउन, २०८२ मा जिल्ला अदालत काठमाडौँले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । उनी हाल डिल्लीबजार कारागारमा छन् ।

प्रतिक्रिया