मिडियाको गेटमा गाडी तेर्स्याउने घटनाको छानबिन हुँदै, दोषीलाई कारबाही गर्ने सरकारको प्रतिबद्धता

काठमाडौँ । सञ्चारगृहको प्रवेशद्वारमा गाडी तेस्र्याएर अवरोध गर्ने व्यक्तिहरूको पहिचानका लागि अनुसन्धान भइरहेको सरकारले जनाएको छ । शिक्षा तथा खेलकुदमन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले उक्त घटनामा संलग्न जोसुकै भए पनि प्रमाणका आधारमा कारबाही गरिने प्रतिबद्धता जनाएका हुन् । मंगलबारको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले घटनालाई सरकारसँग जोडेर गरिएको आरोप अस्वीकार गरे । उनले सरकारको निर्देशनमा यस्तो कार्य भएको भए गृह मन्त्रालयअन्तर्गत रहेको नेपाल प्रहरीले अनुसन्धान नगर्ने दाबी गर्दै प्रहरीले संलग्न व्यक्तिहरूको खोजी गरिरहेको बताए ।

‘यस्तो काम सरकारले गरेको भए नेपाल प्रहरी त गृह मन्त्रालयअन्तर्गत हो । त्यही मन्त्रालयले नै त्यसरी खोजी गर्दैनथ्यो होला । प्रहरीले यसमा को–को संलग्न हुनुभएको छ, सबैको खोजी हुँदै छ,’ उनले भने । सरकारका प्रवक्ता पोखरेलले कुनै पनि राजनीतिक दल वा समूहको व्यक्ति भए पनि कानुनभन्दा माथि नरहने उल्लेख गरे । उनले सञ्चारगृहको काममा अवरोध पु¥याउने गतिविधि स्वीकार्य नहुने भन्दै दोषी देखिए कानुनी प्रक्रिया अघि बढाइने जानकारी दिए ।

घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताको संलग्नताको विषय उठेपछि पोखरेलले कुनै पार्टी विशेषलाई नहेरी निष्पक्ष रूपमा कारबाही गरिने बताएका छन् । यसैबीच, सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को सञ्चालक समितिको अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकको कामसमेत गर्ने गरी कार्यकारी अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई महाप्रबन्धकको समेत जिम्मेवारी दिने निर्णय गरेको सरकारका प्रवक्ता पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिएका हुन् । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल, नेपालको विपद् खोज उद्धारमा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गर्नेसमेत निर्णय गरेको मन्त्री पोखरेलले बताए । साथै, मन्त्रिपरिषद्ले बिउवीजन (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको छ ।

रविको स्पष्टोक्ति : सवारी अवरोध जसले गरेको भए पनि कारबाही हुन्छ

यता, सरकारको नेतृत्व गरिरहेको दल रास्वपाका सभापति रवि लामिछानेले पनि केही सञ्चारगृहका प्रवेशद्वारमा अवरोध गर्ने गरी सोमबार सवारीसाधन राख्ने जोसुकै भए पनि कारबाही हुने बताएका छन् । सोमबार केही सञ्चारगृह र नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको घर अगाडि प्रवेशद्वारलाई नै असर गर्ने गरी निजी नम्बर प्लेटका सवारीसाधन पार्किङ गरिएको भेटिएको थियो । ती सवारीसाधनलाई प्रहरीले हटाउनुका साथै जरिमाना गरेर छोडेको थियो ।

मंगलबार सिंहदरबारमा पत्रकारहरूले यसै विषयमा राखेको जिज्ञासामा सभापति लामिछानेले ती सवारीसाधन रास्वपाकै कार्यकर्ता या जसले राखेका भए पनि कारबाही हुने स्पष्ट गरेका हुन् । सभापति लामिछानेले सोमबारको घटनाका बारेमा पार्टीले नै विज्ञप्ति प्रकाशन गरेर रास्वपा सदैव प्रेस स्वतन्त्रताको पक्षमा रहेको र सवारी अवरोध उत्पन्न गर्नेमाथि कारबाही हुने जानकारी गराइसकेको बताए । उनले भने, ‘यस घटनाका बारेमा सबैभन्दा पहिला रास्वपाले नै विज्ञप्ति निकालेर यसको विरोध गर्दै दोषीमाथि कारबाही गर्ने धारणा सार्वजनिक गरेको हो । रास्वपा त्यस्तो पार्टी हो जसले आफ्ना सांसदलाई ७२ घण्टाभित्रै कारबाही गरेको इतिहास पनि छ । त्यसैले यसमा जोसुकै एवं रास्वपाकै कार्यकर्ताको संलग्नता भए पनि कारबाही हुन्छ ।’

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र आफूबीच हालै भएको भेटवार्ताका सम्बन्धमा राखिएको एक जिज्ञासामा सभापति लामिछानेले सो भेटमा सुकुमवासी समस्याको दिगो र छिटो समाधान, विकसित विविध परिस्थिति, राष्ट्रिय राजनीति र पार्टीका विविध विषयमा कुराकानी भएको बताए । सोमबार दिनभर केही मिडिया हाउससँगै व्यापारिक प्रतिष्ठान र नेताका घरअगाडि शंकास्पद रूपले पार्क गरिएका सवारीसाधनको विषय निकै चर्चामा रहेको थियो । भित्रबाहिर गर्नै असहज हुने गरी कान्तिपुर, अनलाइन खबर र हिमालयन टेलिभिजनको गेटैमा पार्क गरिएका ती गाडी किन र कुन उद्देश्यका साथ त्यसरी राखियो भन्नेबारे हालसम्म आधिकारिक तथ्य बाहिरिएको छैन । तर, उक्त घटनाले सूचना तथा सञ्चार क्षेत्रमाथि मनोवैज्ञानिक दबाब दिनुका साथै प्रेस स्वतन्त्रता हनन गर्ने प्रयास गरेको भन्दै सञ्चारगृह तथा प्रेससम्बद्ध संगठनहरूले आपत्ति जनाएका छन् ।

प्रतिक्रिया