लागत मूल्य नउठेपछि आक्रोशित किसानले सडकमा फाले टमाटर

तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा टमाटर (गाेलभेडा) सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन्। सरकारले किसानलाई पर्याप्त अनुदान, उत्पादनको उचित मूल्य र बजारको सुनिश्चितता गर्न नसकेको तथा आयातमुखी नीतिका कारण स्वदेशी किसान मारमा परेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

प्रदर्शनका क्रममा किसानहरूले आफूहरूले उत्पादन गरेको टमाटर बिक्री हुन नसकेको, लागतसमेत उठाउन कठिन भएको र सरकारले किसानका समस्या समाधानमा बेवास्ता गरेको आरोप लगाए। विरोधस्वरूप उनीहरूले टमाटर सडकमै फाल्दै सरकारको कृषि नीतिप्रति असन्तुष्टि जनाएका थिए ।

किसानहरूले कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य निर्धारण, उत्पादनमा अनुदान वृद्धि, मल–बिउको सहज उपलब्धता, बजार व्यवस्थापन तथा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति तत्काल लागु गर्न माग गरेका छन् । उनीहरूले सस्तो आयातित तरकारीका कारण नेपाली किसान प्रतिस्पर्धामा टिक्न नसकेको पनि बताएका छन् ।

प्रतिक्रिया