फिस्टोको भेषमा लेखनाथ

sujit-mainali-1बन्जारा जीवनलाई पनि कुनै न कुनै रूपमा एउटा स्थिर (?) विन्दु आवश्यक पर्दो रै’छ । बाहिरबाट काठमाडौं आएका मजस्ता स्थायी बसोबास नभएका बन्जाराका निम्ति काठमाडौंले ‘कृपापूर्वक’ डेरारूपी विन्दु दिलाइदिएको छ । एक दिन घट्टेकुलोस्थित अस्थायी गुँडबाट निस्किएर साँघुरो एवं ओसिलो गल्ली नागबेली पारामा छिचोल्दै बढिरहेको थिएँ, दुई व्यक्तिबीचको संवादले तानिहाल्यो ।
‘हिन्दू भए पनि मासु खाने सवालमा म बुद्धिष्ट हुन्छु । बुद्धले मासु खान छुट दिएका छन् । आफ्नै हातले जनावर र पशुपक्षी नमार्नु रे, अरूले मारिदिएको जति पनि खाए हुन्छ रे †’ अर्को व्यक्तिले सही थप्यो र छेउको पसलबाट एक किलो ब्रोइलर कुखुरा अर्डर गर्‍यो ।
मेरो भावना र चिन्तनको परिधिलाई जरैबाट हल्लाएर मेरो बोध तथा अनुभूतिलाई एक हदसम्म तिखारी आजन्मका लागि मलाई आभार तुल्याउने व्यक्ति बौद्ध धर्मावलम्बी भएकाले बौद्ध धर्मसम्बन्धी उनीहरूको संवादले स्वाभाविक रूपमा मेरो ध्यान आकृष्ट गर्‍यो र मलाई नोस्टाल्जिक बनायो ।
०००
त्यतिबेला पनि म मांसभक्षण गर्थें । पाँच कक्षामा पढ्दाताकाको कुरो हुँदो हो । छिमेकीको घरमा गंगे नाम गरेको गोठालो बस्थ्यो । उसको जीवनचर्या ज्यादै आह्रिस लाग्ने खालको † स्कुल जान भनेपछि मेरा जीउमा काँडा उम्रिन्थे । कन्काइ खोलामा डुबुल्की लगाउनु अहोभाग्य लाग्थ्यो । गंगेको फुक्काफाल जीवन देख्दा कसैको घरमा गोठालो बस्न पाए क्या मज्जा जस्तो लाग्थ्यो । स्कुल जानुको सट्टा राँगोमाथि चढेर गंगे खोलाको बगर जान्थ्यो, चराउन । मन लाग्नसाथ खोलामा डुबुल्की लगाउँथ्यो । त्यति मात्र हो र ? दिनभरि माछा माथ्र्यो । गुलेलीले ढुकुर, घररूपी आदि सिकार गथ्र्यो । हिलाम्मे खेतमा गँगटो समात्थ्यो । सिकार भेला पाथ्र्यो र पात, झिँगटी आदि जुटाएर आगो सल्काउथ्यो अनि पोलेर खान्थ्यो ।
घरमा मासु खान मलाई छुट थियो, तर खसीको मात्र । त्यो पनि कट्टरधर्मी हजुरबुबा–हजुरआमालाई थाहा नदिए जस्तो गरेर † कुखुराको मासु बन्देज थियो, सुँगुर, राँगो, घुँगी, गँगटो आदि त धेरै परेको कुरा † छिमेकीको मेरै उमेरको छोरो र म छुट्टीको बेला कहिलेकाहीँ परिवारको आँखा छलेर गंगेसँग बगर जान्थ्याँै र उसको फुक्काफाल दिनचर्या नियाल्थ्यौँ – घुटुक्क थुक निल्दै । थुक घुट्क्याउनुका कारण दुई हुन्थे – उसको जस्तै जीवन बाँच्ने अभिलाषा र बेसार, मसला आदिमा लुटपुट्याएर उसले चरा, माछाआदि पोलेर खाएको दृश्य । आक्कलझुक्कल हामीलाई पनि एक/दुई चोक्टा दिन्थ्यो । बाँकी जम्मैले आफ्नै दारा उधिन्थ्यो । लाग्थ्यो – मेरो पनि गुलेली भए चरा मार्थें र गंगेलाई देखाउँदै पोलेर खान्थेँ । तर गुलेली त गंगेसँग थियो । छुन दिँदैनथ्यो, लोती चुडिन्छ भनेर । आफूचाहिँ एक पाखुरा तन्काएर हान्थ्यो र चरालाई ठहरै पाथ्र्याे ।
कुनै कारणबस एक दिन स्कुल छट्टी भयो । घरमा दिनभर त्यतिकै बस्दा पट्यार लाग्न थाल्यो । रित्तो समय सिर्जना र विध्वंश दुवैको मुहान हो भन्छन्, सत्य रहेछ † किन हो कुन्नि, गुलेलीको मालिक हुने रहर भित्रैदेखि जाग्यो । तर, कसरी ? गंगेसँग मागु, दिँदैन । घरकाले किनिदिनु त परै जाओस्, गुलेली बोकेको देख्यो मात्र भने पनि डुँडुला भाँच्ने पक्का थियो । के गर्ने ? दिनभरिको फुर्सदिलो समयलाई मैले गुलेली मालिक कसरी बन्न सकिन्छ भन्ने काइदा सोच्नमा खर्च गरेँ । उपाय सुझेन ।
गंगेको चोरुँ  कि † तर थाहा पायो भने फकाइफुल्याइ बगर पुर्‍याएर पानीमा चोपल्दै ढुट्याउने पक्का थियो । यत्रो जोखिम कसरी मोल्ने ? पैसा जम्मा गरी किनौँ भने भुरासँग कहाँबाट पो आओस् र † कहिलेकाँही काठमाडौंबाट काका घर फर्किँदा सय/डेढ सय रुपियाँ थमाइदिनुहुन्थो । पैसा हात पर्नसाथ दुईचार साथी बटुलेर थुक्पा र फेन्टा खान बजारतिर दगुरिहाल्थेँ र हरितन्नम भएर फर्किन्थेँ । औँलामा गन्न सकिने स्कुलका केही साथी दुई रुपियाँमा पाइने पशुपति भुजिया किनेर खान्थे, ब्रेकमा । हाम्रो भागमा त त्यो पनि हुँदैनथ्यो । पैसा हुनसाथ सिध्याइहालिन्थ्यो, घरबाट नियमित पाइँदैनथ्यो ।
यस्तोमा कसरी गुलेली हात पार्ने ? उपाय सुझेन । उपाय सोच्दै घरभित्र बाहिर गर्दै थिएँ, अकस्मात् घरको खाँबोमा टाँगिएको हजुरबुबाको ज्वारीकोटमा आँखा पर्‍यो । हजुरबुबा मलाई बिछट्टै विश्वास गर्ने † ज्वारीको भित्री गोजीको पैसा टप्काउँछु भन्ने कल्पनासम्म पनि नगर्ने † ज्वारीको भित्री गोजीमा प्राय: सँधै पैसा हुने गथ्र्याे । कहिल्यै नगरेको दुस्साहस मैले त्यो दिन गरँे । जिराफ शैलीमा घाँटी उचाली आँगन र गेटसम्म नियाले । अहँ, कोही छैन । कुर्सी चढी ज्वारीको भित्री खल्तीमा कुमसम्म हात डुबाएँ । पैसा रै’छ । गुलेलीको मालिक बन्ने सपना साकार हुन लागेको सम्झिएर खुसी भएँ । तर, कसैले थाहा पाउला र करङ भाँचिएलान् भन्ने सोचेर त्रस्त पनि । गुलेलीमोह यति प्रबल भयो कि असाध्यै डराउँदै भए पनि मैले पैसाको मुठो निकाले । गुलेलीको दाम आठ रुपियाँ थियो । सुरुमा त्यति झिकँे । तर, मनको आधारभूत चरित्रमध्ये लालसा पनि एक रै’छ । १२ रुपियाँ मुठ्याएर बाँकी खल्तीमा हालिदिए र चप्पल नलगाइ हान्निएँ, बजारतिर ।
भारतीयमुलको एउटा चमार जुत्तामा पालिस लगाउने र गुलेली बेच्ने गथ्र्यो । उसको नाम अहिले याद छैन । आठ रुपियाँ तिरी गुलेली लिएर हिँडँे । मन त थियो, सारा जगत्लाई गुलेली प्रदर्शन गर्ने । गुलेली बोक्नु अपराधसरह मानिने मेरो परिवारमा बगली मारेको पैसाले किनेको पत्ता लागे छाला काडिने निश्चित थियो । कम्मरमा बेरिएको हाफपेन्टको इलास्टिकमा जतनसाथ गुलेली घुसारेर भेस्टले छोपेँ । घरतिर लागँे ।
घरभित्रै गुलेली लुकाए कसै न कसैले देखिहाल्थे । त्यसैले ग्वाली (गोठ)को चेपमा लुकाएँ, कसैले नदेख्ने गरी । खल्तीबाट पैसा घटेको हजुरबुबाले थाहा पाउनुहोला भन्ने ठूलो भय थियो । मनमा अनेक त्रास डुलाउँदै बगरतिर हिँडे, गुलेली हान्नका लागि ससाना गोल आकारका ढुंगा खोज्न । साझ घर फर्किँदा हाफपेन्टको दुवैतिरका गोजीमा ढुंगा छङछङगी बजिरहेका थिए । ढुंगाको भारले हाफपेन्ट तल तानेर मेरो केटौले वैंशमाथि धावा बोल्न खोज्दै थियो । दुवै हातले हाफपेन्ट तानेर जसोजसो इज्जत जोगाइ घर पुगेँ । ग्वालीको चेपमा जनतसाथ ढुंगा थन्काएँ ।
धन्न हजुरबुबाले पैसा हराएको थाहा पाउनुभएन । भय र उत्साहमिश्रित भावमा रात बित्यो । भोलि स्कुल गएँ । छुट्टीपछि घर फर्किनसाथ गुलेली र ढुंगा बोकी हिँडेँ खेततिर । मकैका घोगा एकदम सप्रिएका † उन्मत्त लिंगझँै आकाशतिर फर्किएर रकेट हानौलाझैँ गरिरहेका थिए । सुँगाका बथानले मकैका खोसेलामा थुतुनो गाड्दै जवान घोगोलाई क्षणभरमै थोता बनाइदिन्थे । सुँगा धपाउने निहुमा दिनहँु बेलिकापख खेत जान र सुँगालाई निसाना लगाउन थालेँ । तर, अहँ, बथानमै गुलेली हान्दा पनि कहिल्यै निसाना लागेन । सधैँ चुक्यो । विस्तारै घरकाले बिहान पनि सँुगा धपाउन पठाउन थाले । निसाना साध्ने कला क्रमश: खारिँदै गयो । तर, एउटै सुगालाई पनि घाइते पार्न सकिनँ ।
गुलेलीशास्त्रप्रतिको मेरो लगन र अभ्यासबाट हासिल भएको ज्ञानले भन्छ – कागलाई निसाना लगाउनु सबैभन्दा कठिन । त्यसपछि सिंकुखुरा, भँगेरा, घररूपी आदि । गुहिएरूपी  सबैभन्दा लाटो, ख्यालख्यालैमा हान्दा पनि भक्लक्कै ढाल्न सकिने † आँखा तन्काइरहनै नपर्ने †
गुलेली हानेर मैले असंख्य गुहिएरूपीको इहलीला समाप्त पारेको छु । केही थान घररूपी पनि ढालेको छु । एउटा सिंकुखुरा, एकाध ढुक्कुर पनि मारेको छु । जुरेली मारेर मैले चरा वध अभियान आरम्भ गरेको हँु । मेरो गुलेलीबाट छुटेको ढुंगो लागेर बकैनाको हाँगामा बसेको जुरेली ठहरै भएर खसेको थियो । त्यसअघि सधँै निसाना चुक्ने गथ्र्यो । यसपटक पनि त्यस्तै हुन्छ होला भनेर हानेको थिएँ, ठ्याक्कै लाग्यो र खुत्रुक्क खस्यो । हर्षको सीमा रहेन । डर पनि लाग्यो । जुरेलीको प्राण लिएको झिनो ग्लानी त छँदै थियो, साथै घरकाले थाहा पाउलान् भन्ने त्रास पनि । छट्पटाइरहेको जुरेली उठाएँ र फुटेको उसको छाती गुलेलीको काम्रोमा दलँे । शत्रुको वध गरेपछि उसको खुनले हतियार चोख्याउने आदि संस्कारझँै सिकार गरेपछि त्यसको आलो रगतले गुलेलीको काम्रो भिजाउने चलन त्यतिबेला पनि थियो । दिग्विजयी भावमा मैले पनि त्यो परम्परा धाने, त्रस्त मनोदशामा ।
जुरेली वधपछि मैले धेरै पक्षीको प्राण हरिसकेको छु । सुरुसुरुमा गुलेलीबाट छुटेको ढुंगा लागेर चरा छटपटाउँदै खसेको दृश्यले मन विचलित हुन्थ्यो, हात थर्थर काम्थ्यो । गुलेली शाष्त्रको खुड्किलो जसैजसै उक्लिँदै गएँ, उसैउसै म संवेदनाहीन र अझ कठोर बन्दै गएँ । विस्तारै यस्तो अवस्था आउन थाल्यो कि छट्पटाएको पक्षी देख्दा पनि मेरो मन द्रवित हुन छोड्यो । वितरागी भावमा उनीहरूको प्राण हर्न थाले । कसाइ र जल्लादको मनोदशा पनि सायद मेरोजस्तै हुँदो हो †
हातले टर्चलाइटको प्रकाशलाई जतिसुकै छोप्न खोजे पनि लालरूप धारण गरेर भए पनि बाहिरिएरै छोड्छ । संवेदनाहीनताको बर्को ओडेर जतिसुकै कठोर बन्दै गए पनि एउटा सानो घटनाले मलाई विक्षिप्त एवं उद्वेलित बनाइदियो र मेरो मनलाई रूपान्तिरित गराइदियो ।
खेत र बगर पुगी चराको इहलीला खोस्ने मेरो हैसियतको ‘पदोन्नति’ हुन थाल्यो, विस्तारै । अब म छिमेकका बारीमा बस्न आएका चरामाथि निसाना साध्न थालेँ । विस्तारै घरकै चौघेरोभित्र व्याधा अवतार धारण गर्न थालेँ । थेत्तरिँदै गएँ । हाम्रो घरबारी चराहरूका लागि सुरक्षित मानिन्थ्यो किनकि कसैले उनीहरूमाथि मट्यांग्रा अथवा ढुंगा बर्साउने साहस जुटाउन सक्दैनथ्यो । तर, मेरो व्याधा अवतार चराहरूका लागि प्रस्ट रूपमा खतराको सूचक बन्यो । विस्तारै चराहरू घरआँगनबाट लोप हुन थाले । सिकार खोज्न मैले फेरि अन्यत्रै लाग्नुपर्ने भयो ।
हाम्रो भान्छाघरछेउ निबुको बोट थियो । बारी र रूखतिर चरा नभए पनि निबुको बोटमा एउटा फिस्टो अक्सर नाँचिरहेको भेटिन्थ्यो । लघुकायको फिस्टो ज्यादै चञ्चल, पानीमा पैडीने सर्पभन्दा पनि † काँडैकाँडाले छपक्क छोपेको निबुका मसिना हाँगा र पातमा बुरुकबुरुक उफ्रिने फिस्टोशैली असाध्यै मनमोहक, हेरिरहँु लाग्ने † अँजुलीमा पनि नअटाउने भँगेराको भन्दा सानो कायाको फिस्टो असाध्यै विचरो लाग्थ्यो । ज्यादै सानो भएकाले यसमाथि निसाना लगाउन पनि नसकिने । दुईचारपटक प्रयास नगरेको होइन, ख्यालख्यालैमा । तर, लघुकाया र एकै ठाउँ स्थिर भई क्षणभर पनि रहन नसक्ने अतिशय चञ्चलताका कारण फिस्टो सधँै मेरो निसाना छल्न सफल भयो । विस्तारै लाग्न थाल्यो – फिस्टोमा कहिल्यै निसान लागाउन नसकिने रै’छ । त्यसैले मार्न नभई त्यतिकै बिनाप्रयोजन फिस्टोमाथि निसाना लगाउन थालेँ, लाग्दैन भन्ने पूर्वानुमानसहित ।
प्रचण्ड गर्मीको दिन थियो त्यो । सिरसिर बतास चले पनि रूखको छहारी छोडेर घाममा निस्किन सक्ने अवस्था थिएन । त्यो दिन मैले दिउँसो घर रुङनुपर्ने थियो । घरआँगनमा चरा आउन छोडेकाले रूखका हाँगामा निसाना लगाइरहेको थिएँ । त्यतिकैमा निबुको बोटमा बुर्लकबुर्लुक उफ्रिरहेको फिस्टोमाथि ध्यान गयो । हेरिरहेँ, एकटक । रमाइलो लाग्यो । बतास अझ जोडले चल्न थालेपछि मन थप चंगा भयो । हातले सानो ढुंगा टिपेर विस्तारै हानेँ । के लाग्थ्यो † वास्तवमा मैले लगाउन हानेको पनि थिइनँ । एउटाबाट अर्का हाँगो गर्दै फिस्टो नाँचिरह्यो । ढुंगा र फिस्टोबीच लुकामारी चलिरहेको थियो । एउटा बाटुलो ढुंगो गुलेलीमा ‘लोड’ गरेँ र एक पाखुरा तन्काएर प्रहार गरेँ । दुर्भाग्य, यसपटक फिस्टो आफँै आएर ढुंगामा ठोक्कियो ।
कसाही शैलीमा निर्विचार भावले पक्षी वध गर्ने बानी परे पनि यसपाली स्तब्ध भएँ । पहिलोपटक जुरेली मार्दाजस्तै हात थर्थर काम्यो, मुटु एकतमासले धड्किन थाल्यो । अव्यक्त त्रास र ग्लानीले भित्रैदेखि गलायो । जुरेली मार्दाताकाको झिनो उत्साह पनि रहेन । मभित्रको दिग्विजयी भाव हठात लोप भयो र यसको स्थान लियो – खिन्नताले । संकोचका पाइला चाल्दै निबुको बोटनेरी पुगेँ । काँडाबाट बच्न टुक्रुक्क बसी उत्तानिएको फिस्टोलाई पूजाको थाममा चढाइएको गुलावको थुँगोझँै शान्तपूर्वक हातमा लिएँ । प्राणपखेरू उडिसकेको रै’छ ।
फिस्टोको शरीरबाट बगेको रगत आलै थियो । शरीर चिसिएको थिएन । उसको देहको ताप महसुस गर्दा मन भक्कानिएर आयो, पश्चताप एवं ग्लानीले । यद्यपि आँसु खसेनन् । सोचेँ – व्यर्थमा मैले यसको प्राण किन लिएँ ? के हासिल भयो यसको इहलिला समाप्त पारेर ? मैले असंख्य गुहिएरूपी, घररूपी, ढुकुर आदि मारिसकेको थिएँ । तर, कुनै सिकार पनि पोलेर खाएको थिइनँ । एकाध बाँढ्थँे, बाँकी एकातिर हुत्याइदिन्थेँ । तर, फिस्टो वधले मेरो संवेदनालाई छोपिराखेको निर्ममताको बर्को उडाइदिएछ । द्रवित भएँ ।
ग्वालीको चेपमा गुलेली थन्काएँ । अन्डकोष प्रतीत हुने ढुंगा सबै मिल्काएँ । साँझ नपरुञ्जेलसम्म मन व्यथित भइरह्यो । अस्ताचलमा सन्ध्या ओर्लिँदा आकाशको सुदूरपश्चिम किनारमा छाएको रत्तिम बादल देखेर झस्किएँ । फिस्टोको देहबाट बगेको रगतको सम्झना आयो । फिस्टोको शरीरमा लागेको चोटले मेरो मनमा त्योभन्दा गहिरो घाउ लगाएको रै’छ । खान मन लागेन । जुठो लगाएर ओछ्यानमा पल्टिए । रात धेरै छिप्पिसक्दा पनि निन्द्राले आलिंगन गर्न संकोच मान्यो ।
पत्तै नपाई निदाएछु । फिस्टोको त्रासद स्मृतिले सपनामा पनि पछ्याइह्यो । सपनामा फिस्टो आउँथ्यो र अरन्यरोदन गथ्र्यो । ‘मलाई मारेर के पाइस्’, बारम्बार सोधिरहन्थ्यो । झसंग हुँदै बिउझिन्थेँ । पश्चतापले मुटु कामिरहेको हुन्थ्यो ।
अर्कोपटक झपक्क निदाउँदा फेरि फिस्टो देखा पर्‍यो । मेरी बास्सै, योपटक त उसले श्लोकमा पो मसँग रुँदै वेदना पोख्न थाल्यो † फिस्टोको शरीरका भुत्ला देख्दा अनायसै लेखनाथ पौडेलको लामो दाह्री सम्झना आयो । कहाँको फिस्टो, कहाँको लेखनाथ बाजे † तर, मेरो आश्चर्यको सीमा रहेन जब फिस्टोले लेखनाथको कविता रुँदै वाचन गर्न थाल्यो । अनि पो बुझेँ, लेखनाथ बाजे फिस्टो रूप धारण गरी आएका रै’छन् । वा फिस्टोले पो लेखनाथ भेष धारण गरेको थियो कि ?
भट्याउन थाल्यो –
नसक्छौ यो आँसु टपटप टिपी चप्प पिउन
नसक्छौ मासुले दिनभर अघाएर जिउन
नसक्छौ यो भुत्ला लिइकन कुनै वस्त्र सिउन
तोड्यौ व्यर्थ मेरो मनुज तिमीले जीवन किन ?

फेरि बिउझिएँ । मनको सन्तप्त जलन बुझाउन करुवाबाट पानी खाएँ । तर अहँ, जलन मेटिएन । फिस्टोको करुण दशा, उसको मृत शरीर, हातमा महसुस भएको मृत देहको ताप, लेखनाथको भेषमा सपनामा उसको दारुण उपस्थिति र उसले भट्याएको कविताले मेरो कठोर मनलाई पाकेको आँपजस्तो गिलो बनाइसकेको रै’छ । आँखा रसाए । मन भक्कानियो । त्यो रात मैले संकल्प गरेँ – अबदेखि कुनै पशुपक्षीको हत्या गर्दिन । नभन्दै मैले गुलेली खेल्न छोडेँ । त्यो गुलेली कहाँ पुग्यो, सम्झना छैन ।
०००
झन्डै डेढ दशकअघिका पुराना दिन सम्झिँदा अहिले पनि भावुक हुन्छु । फिस्टो वध मेरो जीवन रूपान्तरणको एउटा कडी थियो, सायद । त्यो घटनाले मलाई संवेदनशील र करुणामय बनाइदियो । हिंसामा करुणाको बिज अंकुरित हुँदो रै’छ । कत्रो अचम्म † वालेस स्टेभिनले ‘डेथ इज द मदर अफ ब्युटी’ हरफमार्फत दिन खोजेको सत्यको सूक्ष्म झल्को अहिले प्राप्त भइरहेछ ।
मेरो बुझाइलाई मनोवैज्ञानिक दृष्टिकोणबाट पनि पुष्टि गर्न सकिन्छ । मनोविज्ञानले भन्छ – हिंस्रक वृत्ति व्यक्तिको नैसर्गिक स्वभाव हो । यो वृत्तिले कुनै न कुनै स्वरूपमा हाम्रा कार्यमार्फत निकास पाएरै छोड्छ । मनोवैज्ञानिकहरू भन्छन् – सानोमा बच्चाहरूले अनयासै बोटबिरुवाका पत्ता चुँड्छन्, फूल च्यात्छन्, कमिला मार्छन्, पुतलीको पखेँटा उखालेर असीम यातना दिई हत्या गर्छन् । यसरी उनीहरूभित्रको हिंस्रक वृत्तिले निकास पाउँछ र यसले उनीहरूमा निहित हिंसाउन्मुख स्वभावमाथि एक हदसम्मको अंकुश लागाइदिन्छ । जसले सानो छँदा हिंस्रक वृत्तिलाई निकास दिन पाउँदैन, ठूलो भएपछि उसले पीडक भएर अझ डरलाग्दो रूपमा आफ्ना दमित आकांक्षालाई पूरा गराउँछ ।
यद्यपि अझै पनि म मांसभक्षण गर्छु । छोड्ने प्रयास नगरेको होइन । सकिँन । त्यसैले मासुप्रतिको लगावलाई आफ्नो रुचि अनुकूलको दर्शन, अध्यात्म एवं तर्कको जामा पहिर्‍याएर चोखिने प्रयास गरेँको छु । एक दिन दयानन्द सरस्वतीको ‘सत्यार्थ प्रकाश’ नामक उच्च कोटिको किताब हात पर्‍यो । त्यसमा मांसभक्षण गर्न नहुने, तर स्वाद र आसक्ति नराखी वितरागी एवं निर्विचार भावमा  खाए धर्मसम्मत हुने लेखिएको थियो । मानाँै, जंगलमा विचरण गर्दा भोक लाग्यो । खाने कुरो भेटिएन । सामु मृत जनावर भेटियो र प्राण धान्नका निम्ति जनावरको मासुलाई विशुद्ध भोजन मानी निर्विचार भावमा खाएको खण्डमा मासु ‘ननभेज’ तरकारीसरह बन्ने दयानन्दको तर्क थियो । मासु खाँदा अहिले पनि मलाई ग्लानी हुन्छ । राक्षसानुभूति गराउँछ । यस्तो बेलामा दयानन्दको तर्क सम्झिएर चित्त बुझाउने गरेको छु । घट्टेकुलोको गल्लीमा दुई व्यक्तिले बुद्धलाई व्याख्या गरेको सुनेपछि आफ्नो मांसानुरागलाई न्यायोचित ठहर्‍याउन मैले दयानन्दको आशयलाई काइते पारामा आफूअनुकूल व्याख्या गरेको सम्झिएँ । अनि, गंगेदेखि फिस्टोसम्मका दृश्य मेरो मानसपटलमा सलबलाउन थाले ।

[email protected]

प्रतिक्रिया