काभ्रेको ब्वाइज र बर्दियाको वागेश्वरी युथ बराबरीमा

काठमाडौ : रेडबुल ‘सी’ डिभिजन जिल्ला लिगअन्तर्गत आइतबार भएको खेलमा काभ्रेको धुलिखेल ब्वाइज क्लब र बर्दीयाको वागेश्वरी युथ क्लबबीच २–२ गोलको बराबरी भएको छ । धुलिखेलका लागि साजन माकजु र साजन प्रधानले गोल गरे । त्यस्तै वागेश्वरीका लागि चेतन चौधरी र नन्दकिशोर चौधरीले गोल गरेका थिए ।
अर्को खेलमा सप्तरीको हिमालय क्लबले बाग्लुङले कालिका भगवती युवा क्लबलाई ३–१ गोलले पराजित गर्‍यो । जितसँगै हिमालय यस वर्षको रेडबुल ‘सी’ डिभिजन जिल्ला लिगको विजेता बनेको छ । हिमालयका लागि उत्तम बिष्ट, कुशेश्वर चौधरी र प्रविण चौधरीले गोल गरेका थिए भने वाग्लुङ्गका लागि अनुज कार्कीले गोल गरेका थिए ।
प्रतियोगिताको विजेता हिमालय क्लबले दुई लाख रुपियाँ प्राप्त गरेको छ । उपविजेता धुलिखेल युनाइटेड फुटबल क्लब काभ्रेले एक लाख रुपियाँ पायो । साथै यी दुवै टोली आगामी वर्षका लागि ‘बी’ डिभिजन जिल्ला लिगमा उक्लन सफल भएको छ । प्रतियोगिताको उत्कृष्ट फर्वाड कालिका भगवती वाग्लुङ्गका प्रमल थापा, मिडफिल्डर धुलिखेल युनाइटेडका विकाश लामा, डिफेन्स हिमालयका सविर चौधरी, गोलकिपर कालिका भगवतीका सुशील बोसेल र प्रशिक्षक हिमालयका राजकुमार परियार घोषित भए । उत्कृष्ट घोषित भएका सबै खेलाडीले सात हजार रुपियाँ पाए । विजयी खेलाडीलाई प्रमुख अतिथि पूर्वराष्ट्रिय खेलाडी जीतेन्द्रनारायण देव, सप्तरी जिल्ला फुटबल संघका अध्यक्ष देवेन्द्रमानसिंह बस्नेत, सप्तरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दशरथ गुप्ता र स्थानीय समाजसेवी सत्यनारायण शर्माले पुरस्कार वितरण गरे । (सौस)

प्रतिक्रिया