१५ गाविस औलोको उच्च जोखिममा

इलाम, १२ वैशाख । इलामका १५ गाविसका एक लाख बढी नागरिक औलोको उच्च जोखिममा रहेको पाइएको छ ।
पहाडी जिल्ला भएपनि एक लाख १२ हजार छ सय ७५ जना औलोको उच्च जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालय इलामले जनाएको छ । तीमध्ये पाँच बर्ष मूनीका नौ हजार पा“च सय ९९ बालबालीका छन् । औलोबाट चार हजार १७ जना गर्भवती महिला जोखिममा रहेको कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाइजर विमल बरालले बताए ।
चालु आर्थिक बर्ष २०६९/०७० को आठ महिनामा जिल्लामा छ जना औलोबाट रोगी भेटिएका छन् । तीमध्ये तीन जनामा कडा किसिमको औलोको बिरामी भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । त्यस अवधिमा नौ सय ५३ जनाको रगत परीक्षण गरिएको कार्यालयले जनाएको छ ।
अघिल्लो आ.व. २०६८/०६९ मा जिल्लामा दुई हजार नौ सय २८ जनाको रगत परीक्षण गरिएकोमा २० जनामा औलो रोग प्रमाणितभएको थियो । जसमध्ये १३ जनामा कडा खालको औलो र सात जनामा नरम खालको औलो भेटिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । आव २०६७/०६८ मा संकास्पद तीन हजार नौ सय ६९ जनाको रगत परीक्षण गरिएकोमा १७ जनामा औलो रोगी भेटिएको थियो । आव २०६६/०६७ मा ४६ जनामा औलो रोगी पाइएको कार्यालयले जनाएको छ ।
औलोको जोखिममध्ये चुरे क्षेत्रका तराईसग सीमाना जोडीएका गाविसहरु रहेको छन् । जिल्लाका चुलाचुली, दानाबारी, लक्ष्मीपुर, बाझो, साकफारा, जिर्मले, चिसापानी, इरौंटार, गोदक, सोयाक, सोयाङ्ग, जमुना, माइपोखरीलगायतका गाविसहरु औलोको उच्च जोखिममा रहेका छन् । इलाम नगरपालिका र अन्य ३१ गाविस तुलनात्मक रुपमा औलोबाट कम प्रभावित मानिन्छ । माबु र माइमझुवा औलोबाट प्रभावित छैनन् ।
जिल्लाबाट पूर्ण रुपमा औलो नियन्त्रण हुन नसके पनि रोगीको संख्या भने क्रमश घटदै गइरहेको पाइएको छ । औलो नियन्त्रण सम्बन्धी विभिन्न कार्यक्रम गरिएकाले बिरामीको संख्या घट्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यसैबीच औलो प्रभावीत नौ गाविसमा सुपानेट झुल वितरण सुरु गरिएको छ । ग्रामीण विकास फाउण्डेशनले ४६ हजार एक सय, र वास्थ्य कार्यालयबाट तीन हजार चार सय ३१ झुल औलो प्रभावीत क्षेत्रका गर्भवतीहरुलाई वितरण गरिरहेको जनाईएको छ ।
लामखुट्टेको टोकाईबाट लाग्ने औलो रोगको समयमै उपचार नभए बिरामीको मृत्यू समेत हुने गरेको छ ।

प्रतिक्रिया