हार्ने देखेर एमाओवादीले चुनाव हुन दिएन : रावल

धनगढी, ३० चैत । एमाले नेता भीम रावलले एमाओवादी र संयुक्त मधेसी मोर्चाबीचको चुनावी गठबन्धन देश टुक्राउनेतर्फ लक्षित रहेको आरोप लगाएका छन् । निर्वाचन गराउन भन्दै खिलराज रेग्मी नेतृत्वको सरकार गठन भएलगत्तै एमाओवादी र मोर्चाबीच चुनावी गठबन्धन गर्ने चर्चा तीव्र हुन थालेको सन्दर्भमा एमाले नेता रावलको यस्तो भनाइ आएको हो ।

प्रेस चौतारी कैलालीले बुधबार गरेको कार्यक्रममा नेता रावलले मोर्चासँग गठबन्धन गर्न खोजेर एमाओवादीले देश टुक्राउन खोजेको आरोप लगाए । ‘एमाओवादीले चुनावमा मधेसी मोर्चासँग गठबन्धनको कुरा गर्नुभनेको देशलाई टुक्राउन खोज्नुसरह हो,’ रावलले भने । नेता रावलले नेकपा–माओवादी पनि चुनावमा सहभागी हुने ठोकुवा गरे । निर्वाचनमा नआए माओवादी सदाका निम्ती विलय हुने उनले दाबी गरे ।
चुनाव हार्ने महसुस गरेपछि एमाओवादीले निर्वाचनको माहोल सिर्जना हुन नदिएको आरोप लगाए । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिनछिनमा कुरा फेरेर निर्वाचनको वातावरण बिथोलेको उनको आरोप छ ।
उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका प्रचण्डले एमाओवादी चुनावमा हार्ने डरले एकपछि अर्को कुरा फेरेर चुनाव नहुने वातावरण सिर्जना गरेको उनको आरोप छ । एमाले कैलालीको सातौँ जिल्ला अधिवेशन उद्घाटन गर्दै नेता रावलले बिहीबार यस्तो बताएका हुन् । असारमा चुनाव नहुने पक्का भएको बताउँदै उनले कात्तिकमा जसरी पनि चुनाव भएरै छाड्ने दाबी गरे । ‘वर्तमान सरकारलाई दलहरूले चुनाव गर्ने म्यान्डेड दिएकाले सबै दल चुनावमा सहभागी हुनुको विकल्प छैन,’ उनले भने ।

प्रतिक्रिया