जेष्ठ नागरिकप्रति युवा दायित्व

नेपाली समाज आफूभन्दा ठूलालाई सम्मान र सानालाई माया गर्ने समाज हो । हाम्रो धर्म, परम्परा, सांस्कृतिक र व्यवहारले जेष्ठ नागरिक प्रति कर्तव्य पालना गर्न सिकाएको छ । साथै जुनसुकै धर्मले जेष्ठ नागरिकलाई राज्य र समाजले दिनुपर्ने सहयोग साथै सम्मानका बारेमा निर्देश गरेको छ । जेष्ठ नागरिक बोझ होइनन् समाजका गहना हुन् भन्ने परम्परा पनि विश्वमा रही आएको छ । त्यसै पनि हाम्रो समाज पूर्वीय दर्शनद्वारा निर्देशित छ । जुन दर्शनले वृद्ध–वृद्धालाई अत्यन्त उच्च सम्मान र सहयोग गर्न प्रेरित गर्छ । तर, नेपालमा अहिले जेष्ठ नागरिक प्रति गरिने व्यवहार ठीक छैन भनी नियम कानुन बनेकै छैनन् । विकसित हुँदै गएको प्रवृत्ति पनि हाम्रो परम्परा साथै मूल्य–मान्यता अनुसारको छैन । जसले गर्दा जेष्ठ नागरिकले अपमान बोध गर्नुपर्ने अवस्था छ । यो अवस्था रहनु भनेको भोलि आपैँmमाथि आइलाग्ने नकारात्मक व्यवहारलाई निम्तो दिनु हो । किनकि, आजका प्रत्येक युवा–युवती भोलिका वृद्ध–वृद्धा हुन् । सबैले वृद्ध अवस्था भोग्नै पर्छ । तसर्थ, यो अवस्थालाई सरल सहज र सुखमय बनाउन समाज र राज्यले आवश्यक ध्यान दिन जरुरी छ । जहाँ जेष्ठ नागरिकको हितमा काम हुन्छ त्यो मुलुक आपैँm सुसंस्कृत र कर्तव्यनिष्ट जनता भएको मुलुक ठहरिन्छ । आफ्नै अग्रजहरू प्रति उचित व्यवहार गर्न नसक्ने व्यक्ति समाज र राज्यलाई सम्मानको दृष्टिले हेर्न सकिँदैन । तसर्थ, सबैले जेष्ठ नागरिककको हक–हितका लागि सोच्नै पर्छ ।
नेपालमा २४ लाख जेष्ठ नागरिक रहेको अवस्था छ । यो संख्यामा अधिकांश दक्ष नागरिक रहेका छन् । तर, विडम्बना के छ भने उनीहरूसँग रहेको दक्षता र सीप राज्य तथा समाजले उपयोग गर्ने चासो देखाएको छैन । यो दक्षतालाई प्रयोग गर्नका लागि राज्यसँग नियम, कानुन र दीर्घकालीन सोच नहुनु नै अहिले खड्किएको पक्ष हो । वृद्धहरूलाई हेलाको पात्र बनाइँदै छ । जबकि, उनीहरूसँग समाजलाई काम लाग्ने यथेष्ट ज्ञान र सीप छ । जेष्ठ नागरिकको यो पंक्तिमा धेरै व्यक्ति सरकारी वा गैरसरकारी जागिरबाट अवकाश प्राप्त भएकाहरू पाइन्छन् । यदि, उपयुक्त स्थान दिने हो भने उनीहरूले लामो समय लगाएर आर्जन गरेको ज्ञान सीप राष्ट्रले अझ धेरै लामो समयसम्म प्राप्त गर्न सक्छ । तर, यसका लागि सरकारले कानुन तर्जुमा गर्नुपर्ने हुन्छ र विभिन्न संघ–संस्था समूह र समाजले अग्रहजहरूको ज्ञानलाई उपयोग गर्ने वतावरण तयार गर्न सक्नुपर्छ । एकातिर यसले जेष्ठहरू प्रति सम्मान गरेको ठहर्छ भने राष्ट्रले पनि उनीहरूबाट प्रचुर लाभ लिन सक्छ । वास्तवमा बालक, युवा र अन्य समूहका लागि विभिन्न कानुन बने, सेवा गृह निर्माण भए तर वृद्ध–वृद्धाका लागि केही छैन । यो अवस्था रहनु हँुदैन ।
मानव विकासको क्रममा मानिसको जन्म भएपछि युवा, वृद्ध हुँदै मर्ने प्रक्रिया प्रकृतिको वरदान नै मानिन्छ । यदि, यो प्रक्रियामा कतै भुलचुक भए यो संसार नरहन सक्छ । सबै प्राणिका लागि जन्म, बाल, युवा र वृद्ध हँुदै अन्तिममा मृत्यु वरण गर्नु नै प्रकृतिको नियम हो । यही नियम भित्र पर्छ जेष्ठ नागरिक प्रति गरिने सम्मानजनक व्यवहार र उपयुक्त व्यवस्था । तर, नेपालमा जेष्ठ नागरिकको हक–हित र उचित सरोकारका विषयमा सरकारले कुनै नियम कानुन बनाएको छैन । २४ लाख जेष्ठ प्रति एक प्रकारले यो अपमान हो । उनीहरूका हकहित सुरक्षित गर्न र मृत्यु पर्यन्त सम्मान गर्न सक्ने खालको कानुनी व्यवस्था सरकारले तुरुन्त गर्नुपर्छ । केमा स्पष्ट हुन जरुरी छ भने हामी जे छौँ अग्रहजहरूकै कारणले छौँ । हामीले जे उपयोग गरिरहेका छौँ त्यो अग्रहजहरूकै कारणले प्राप्त भएको हो । यसलाई कसैले बिर्सन मिल्दैन । अहिलेका वृद्धहरू हिजो युवा थिए र युवाहरू हिजो बालक थिए । आजका युवा भोलि वृद्ध हुन्छन् । यही नै प्रकृतिको नियम हो । यो प्रकृतिको नियमलाई कसैले बदल्न सक्तैन । तसर्थ, अग्रजहरूका हक–हितको ग्यारेन्टी गर्नु भनेको आफ्नो वृद्ध अवस्थालाई सहज बनाउनु हो । तसर्थ, जेष्ठहरूको हक–हितको ग्यारेन्टी गर्ने कानुन निर्माण र उनीहरूले सम्मानपूर्वक बाँच्न पाउने वातावरण तयार गर्नै पर्छ ।

प्रतिक्रिया