कोरियामा ई बैंकिङ लोकप्रिय हुँदै

koriyaदक्षिण कोरिया, ८ चैत । रोजगार अनुमति प्रणाली (इपिएस ) मार्फत रोजगारीका लागि दक्षिण कोरियामा आएका नेपाली पछिल्लो समय अनलाइन–बैंकिङतर्फ आकर्षित हुन थालेका छन् । कोठामै बसेर कम्प्युटर र मोबाइलमार्फत नेपालमा रहेका आफन्तका खातामा रकम ट्रान्सफर गर्ने कार्य पछिल्लो समय बढेको छ ।

अनलाइनमार्फत कोठामै बसेर साथीभाइ तथा आफन्तका लागि चाहेको समयमा चाहेको रकम नि:शुल्क ट्रान्सफर गर्न सकिने र आफूले उपभोग गरिरहेको खाताको नियमित जाँच गर्न मिल्ने भएकै कारण उनीहरू यसमा आकर्षित भएका हुन् । त्यस्तै स्मार्ट मोबाइल बोक्ने अधिकांश कामदार ‘स्मार्ट बैंकिङ’ चलाइरेका छन् । एकबाट अर्को बैंकमा ट्रान्सफर गर्नका लागि करिब एक डलर लाग्छ । त्यसैमाथि बैंक जान–आउन समय अभाव र झन्झटका कारण आप्रवाशी कामदार यसमा आकर्षित भएका हुन् । यो सेवा प्रयोग गर्नेहरू डलरको मूल्य बढ्दा र कोरियन वन घट्दा नेपालमा पैसा बढ्ने र सोही समयमा रकम ट्रान्सफर गर्ने गरेको बताउँछन् ।
कोरियामा होस् या नेपालमा विनाकुनै झन्झट सस्तो, सजिलो र भरपर्दो ई–बैंकिङ प्रयोग गरिरहेको अनुभव उनीहरूको छ । तनहुँका लक्ष्मण गुरुङले इन्टरनेटको कारण आफ्नो खातामा रहेको रकम चाहेको बेला अन्य मानिसको खातामा ट्रान्सफर गर्न मिल्ने र नियमित चेकअप गर्न सकिने हँुदा कारोबार गर्न सहज भएको बताए ।
त्यस्तै रूपन्देहीका पुरन पाण्डे कामदारका लागि अनलाइन बैंकिङ एटिएम मेसिन बराबर हुने बताउँछन् । पहिला–पहिला कोरियामा अनलाइन बैंकिङ सहज नभएको तर अहिले जनस्तरसम्म पुग्न सकेको बताउँदै उनले भने, ‘दैनिक १२/१४ घन्टा काम गरेर थाकेको मान्छेलाई बैंक र एटिएम काउन्टर जान गाह्रो हुन्छ ।’ उनले आफूसँगै काम गर्ने ६ जना नेपालीलाई पनि यो माध्यममा सहभागी गराएको बताए ।
केइवी बैंकमा नर्मल र इजिवान खाता खोलेका ई–बैंकिङ प्रयोगकर्ता सिन्धुपाल्चोकका सूर्य केसीले भने, ‘तलब नर्मलमा आउँछ, अनि आपैँm कम्प्युटरमार्फत इजिवान खातामा कोरियन वन टान्सफर गर्छु, पैसा त डलरमा कन्र्भट भई नेपालको बैंकमा पुग्छ । यो सेवा सुरुमा गाह्रो भए पनि चलाउँदै जाँदा सजिलो भएको उनको अनुभव छ । पोखराका इसु केसी ट्रान्सफर गर्दा पैसा नलाग्ने, बैंक, एटिएम धाइरहनु नपर्ने र चाहेको समयमा मोवाइलमार्फत ट्रान्सफर गर्न मिल्ने भएकै कारण यो सेवा प्रयोग गरिरहेको बताउँछिन् ।
यो सुविधा उपयोग गर्नका लागि यहाँको जुनसुकै बैंकमा गई दर्ता गराउन सकिन्छ । यहाँबाट नेपालका लागि भने कोरियन एक्स्चेञ्ज बैंक (केइवी) मा इजिवान खाता खोल्ने र यससँग सहकार्य गरेका नेपालका बैंक नबिल, सिद्धार्थ, ग्लोबल आइएमई, हिमालय, एभरेस्ट र राष्ट्रिय वाणिज्य बैंकमा ई–खाता खोल्नुपर्ने हुन्छ । आगामी दिनमा कोरिया आउने प्रतिक्षामा रहेका नेपालीले यी बैंकमा अनलाइन बैंकिङ खाता खोलेर आएमा पैसा रेमिट गर्न सहज र भरपर्दो हुने यसका प्रयोगकर्ताहरू बताउँछन् । पछिल्लो समय नेपाली कामदारको ई–बैंकिङमा दर्ता गर्ने क्रम बढिरहेको सोलमा रहेका नबिल बैंकका प्रतिनिधि गोपि पाण्डेले बताए ।

प्रतिक्रिया