सहयोगी नपाउदा परीक्षाबाट वञ्चित

दोलखा : दृष्टिविहीन पेम्बा लेखकले सहयोगी नपाएकै कारण एसएलसी परीक्षामा सहभागी हुन पाएका छैनन् ।
सहयोगी नभएकै कारण परीक्षा दिनबाट वञ्चित भएको गुनासो लेखकले गरे । बोचका केन्द्राध्यक्ष किशोर दाहालले शिक्षा कार्यालयबाट सहयोगी प्रमाणित गरेर ल्याउन नसकेका कारण परीक्षा छुटेको बताए । कालिञ्चोक उमाविको खुला शिक्षाका विद्यार्थी लेखकका लागि परीक्षा सहज बनाइदिन केन्द्राध्यक्षलाई निर्देशन दिएको शिक्षा अधिकारी शिव सापकोटाले बताए । दृष्टिविहीनले परीक्षा नै नदिएको सुन्दा दु:ख लागेको बताउँदै सापकोटाले भने, ‘बाँकी परीक्षा दिने मौका नचुकाउनका लागि पहल गर्छु ।’
३२ इन्च उचाइकी सावित्री ओलीले तीन तलामाथिको कोठा उक्लिएर एसएलसी परीक्षा दिनुपर्दा निकै सास्ती खेप्नुपर्‍यो । उचाइअनुसार डेक्सबेन्च नमिलेपछि त झन् उनी सकसमै परिन् । बस्ने र लेख्ने ठाउँको उचाइ नमिलेर परीक्षामा सामेल हुन साहै गाह्रो भएको गुनासो उनको छ । हात छोटा भएकाले छिटो लेख्न नसक्ने उनलाई अंग्रेजीको परीक्षामा समय पनि थपिएन । ‘बस्ने र लेख्ने असुविधाले गाह्रो त पर्‍यो नै समय नथपिएकाले उत्तर लेख्नै भ्याइनँ,’ ओलीले भनिन्, ‘ढोकाबाट तीन तलामाथि उक्लेर ठाउँ खोजेर बस्नै आधा घन्टा लाग्यो ।’
देवी मावि बोचमा सामेल हुनुपर्ने दृष्टिविहीन पेम्बा लामाले सुशीलाको जस्तै प्रतिकूलताका कारण परीक्षा दिन छाडेको दाबी गरे । शिक्षा कार्यालयका सचिव गजेन्द्र राउतले अपांगतालाई हरेक दृष्टिले सुविधा पर्ने गरी परीक्षामा सामेल गराउनुपर्ने स्पष्ट नीति भएको बताए । ‘अपांगतालाई परीक्षामा सकस उत्पन्न गराउनु र परीक्षा दिनबाट निरुत्साहन गराउनु दु:खद हो,’ उनले भने, ‘अपांगता भएकालाई सहज ठाउँमा राखेर केन्द्राध्यक्षले आवश्यकताअनुसार परीक्षाको समय थपिदिनुपर्ने हुन्छ ।’
केन्द्राध्यक्ष विश्वमणि चौलागाईंले दोस्रो दिनदेखि उनको शारीरिक स्थिति हेरेर भुइँतलामा सारिएको र समय थपिएको बताए । अंग्रेजी विषयको परीक्षा दिने क्रममा सावित्रीले न सुविस्तायुक्त ठाउँमा बसेर परीक्षा दिन पाइन् न त समय नै थपियो । लादुककी १८ वर्षीय सावित्री र २५ इन्च होचो उनकै भाइ कृष्णका लागि कालिञ्चोक उमाविले उचाइ मिल्ने बेन्च र डेस्क बनाइदिएको थियो । गौरीशंकर क्याम्पसमा परीक्षा दिइरहेकी उनले त्यो बेन्च र डेक्स मगाइदिन आग्रह गरिन् । ‘कसैले नसुनेपछि दोस्रो दिन पनि दु:खले नै परीक्षा दिँदै छु,’ उनले भनिन् । करिब एक किलोमिटर टाढा रहेको बेन्च टेबल आएको भए परीक्षा राम्रो हुनसक्ने उनको आशा थियो । कालिञ्चोक उमाविका प्राचार्य नवराज न्यौपानेले उनीहरूको उचाइअनुसार बनाएको डेस्क–बेन्च आइतबारदेखि आफ्नै प्रयत्नमा परीक्षा केन्द्रमा पठाइदिने बताए । (सौस)

प्रतिक्रिया