ताहाचल क्याम्पसलाई स्वायत्तता दिइएकोमा विरोध

काठमाडौं, २ चैत । महेन्द्ररत्न क्याम्पस ताहाचललाई स्वायत्तता दिएको विरोधमा विद्यार्थीहरू आन्दोलित भएका छन् । त्रिभुवन विश्वविद्यालयको कार्यकारिणी परिषद्ले उक्त क्याम्पसलाई ३ फागुनमा स्वायत्त बनाउने निर्णय गरेको थियो । क्याम्पसले बुधबार विश्वविद्यालय त्रिवि अनुदान आयोगद्वारा सञ्चालित दोस्रो उच्च शिक्षा परियोजनासँग सम्झौतासमेत गरेको छ ।

आंगिक क्याम्पसलाई स्वायत्तता दिँदा विद्यार्थीको हकहित सुनिश्चित नहुने भन्दै विद्यार्थीहरू आन्दोलित भएका हुन् । उनीहरूले क्याम्पसलाई स्वायत्तता दिएर गरिब विद्यार्थीलाई शिक्षाबाट वञ्चित गराएको भन्दै बिहीबार क्याम्पस गेटअगाडि प्रदर्शन गरे । क्याम्पसलाई स्वायत्त बनाउने निर्णय तत्काल खारेजीको माग गर्दै उनीहरू प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनमा उत्रिएका १४ विद्यार्थीलाई प्रहरीले पक्राउसमेत गरेको थियो ।
स्ववियु सभापति अनिल रिजालले क्याम्पसलाई स्वायत्त बनाएर विद्यार्थीको हकहित खोसिएका कारण आन्दोलन थालेको बताए । ‘क्याम्पसलाई स्वायत्त बनाएर प्राइभेट गर्न खोजिएको छ,’ रिजालले सौर्यसँग भने, ‘यसले गरिब विद्यार्थी पढ्न नसक्ने अवस्था आउँछ । त्यसैले निर्णय खारेजीको माग गरेको हो ।’
नेपाल विद्यार्थी संघका इकाइ सचिव बजिन्द्र केसीले सरकारी क्याम्पसलाई पैसाको लोभमा स्वायत्त बनाएर विद्यार्थीको अधिकार कुण्ठित पार्न खोजेको बताए । क्याम्पस प्रमुख भोलानाथ भट्टले क्याम्पसलाई आत्मनिर्भर बनाउन स्वायत्ततामा लगिएको उल्लेख गर्दै विद्यार्थीले नबुझेर आन्दोलन गरेको प्रतिक्रिया दिए । ‘क्याम्पसको प्रशासनिकदेखि शैक्षिक गुणस्तर बढाउन स्वायत्ततामा लगिएको हो,’ भट्टले भने, ‘तर विद्यार्थीहरूले अहिले नबुझेर आन्दोलन गरिरहेका छन् । यसको कुनै तुक छैन ।’
क्याम्पसले स्वायत्त भएपछि अनुदान आयोगमार्फत परियोजनाबाट आर्थिक अनुदान पाउँछन् । परियोजनालाई विश्व बंैकले आर्थिक सहयोग पुर्‍याउँदै आएको छ । बुधबार परियोजना र क्याम्पस प्रशासनबीच भौतिक पूर्वाधार तथा सञ्चालनका लागि साढे १६ करोड अनुदान दिने सहमति भएको भट्टले जानकारी दिए । स्वायत्तमा गएपछि त्रिविबाट आउने कुनै पनि आर्थिक र अन्यबाट आउने सहयोग नरोकिने भट्टको भनाइ छ ।
त्रिविले चार आंगिक क्याम्पसलाई स्वायत्ततामा जान अनुमति दिइसकेको छ । महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाम, खाद्य प्रविधि क्याम्पस धरान, आयुर्वेदिक क्याम्पस कीर्तिपुर र महेन्द्ररत्न क्याम्पस ताहाचल स्वायत्त भएका हुन् । अनुदान आयोगका प्रशासकिय प्रमुख सुवासचन्द्र ढुंगेलले स्वायत्तमा जादा क्याम्पस राम्रोसँग सञ्चालन हुने दाबी गरे । ‘विद्यार्थीहरूले शुल्क महँगो हुन्छ । स्ववियु रहन्न कि भनेर आन्दोलन गरेका होलान् । तर, त्यस्तो हुन्न,’ ढुंगेलले भने ।
स्वायत्त भएपछि क्याम्पसलाई आफैँ परीक्षा सञ्चालन तथा प्रकाशन गर्नेसम्मको अधिकार दिइएको हुन्छ । पछिल्लो समय विश्वविद्यालय अस्तव्यस्त भएको अवस्थामा सरकारी क्याम्पसहरू धमाधम स्वयत्ततामा जान थालेका छन् ।

प्रतिक्रिया