‘चोर प्रहरी’ फेरि फन्दामा

Khemraj Thapaदोलखा : प्रहरी जवान भए पनि दोलखा सदरमुकाम चरिकोट  बजारका दर्जनौँ पसलमा चोरीको अभियोगमा पक्राउपछि हिरासतबाटै फरार भएका खेमराज प्रजा पुन: फन्दामा परेका छन् ।
दोलखा प्रहरीले पक्राउ गरेको दुई दिनपछि नै करिब १५ दिनअघि हिरासतबाटै भागेका अभियुक्त प्रजा पर्साको ठोरी क्षेत्रबाट पक्राउ परेका हुन् । गत ९ गते बिहान करिब ४ बजे उनी हिरासत कक्षबाटै भागेका थिए । मूलगेटबाटै भगाइएको आशंका गरिएकोमा अभियुक्त प्रजाले हिरासत कक्षको भेन्टिलेसन तोडी फरार भएको बयान दिएका छन् ।
६ महिनाको अवधिमा तीन दर्जनभन्दा बढी पसल चोरी गरेको अभियोग उनीमाथि लागेको छ । गत ७ गते प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको निवास सुरक्षार्थ खटाइएका बेला उनलाई एक ट्रक चोरीका सामानसहित कोठाबाटै पक्राउ गरिएको थियो । चरिकोटमा ६ महिनायता सुनदेखि फेन्सी, भाँडा, स्टेसनरी, कपडा, हार्डवयरलगायत पसलमा पटकपटक चोरी हुँदै आएका थिए ।
हिरासतबाट भागेपछि उनको खोजीका लागि व्यापक रूपमा प्रहरी परिचालन गरिएको थियो । दोलखाका प्रहरी प्रमुख डिएसपी ओम अधिकारीका अनुुसार वीरगन्ज नाकातर्फ खटिएको विशेष प्रहरी टोलीले पर्सा ठोरीबाट लुकेर बसेको अवस्थामा बुधबार बिहान उनलाई पक्राउ गरेको हो । बुधबार नै उनलाई थप अनुसन्धानका लागि दोलखा ल्याइएको थियो ।
अभियुक्त भागेपछि मिलेमतोको आशंकामा जुनियर अधिकृतसहित ३ प्रहरीको निलम्बन फिर्ताका लागि प्रक्रिया अगाडि बढाएको डिएसपी अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार मिलेमतोमा भगाइएको आशंकापछि तीन प्रहरीलाई हिरासतमै लिइएको थियो ।
त्यसैगरी, प्रजाकी पत्नीलाई एक साताअघि मकवानपुरको हेटौँडाबाट एक ट्रक चोरीका सामानसहित दोलखा ल्याइएको थियो । प्रजाका भतिज भने हिरासतमै थिए । (सौस)

प्रतिक्रिया