जन्ती बस दुर्घटनामा १५ जनाको मृत्यु

Palpa District

बुटवल, २१ फागुन । पाल्पा जिल्लामा जन्ती बोकेको बस धैरेनीमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।
पाल्पाकै राम्दी आमडाँडाबाट जन्ती लिएर बुढीकोटतर्फ जाँदै गरेको लु १ ख २७९५ नम्वरको बस चिदीपानी–२, धैरेनीमा आइतबार राती करीव सवा नौं बजे दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा २५ यात्रु घाईते भएका छन् ।
मृतकमध्ये १२ जनाको घटनास्थल र तीन जनाको उपचारका क्रममा प्रभास मेडिकल कलेज पाल्पामा मृत्यु भएको प्रहरी निरीक्षक सूर्यबहादुर चन्दले बताए ।
बसमा रहेका ४० जना जन्ती मध्ये २५ जना घाइते छन् । मृत्यु हुनेमा चिदिपानी–७ का बेदबहादुर बिकट्टा, कमला जर्घा, लोकबहादुर सारु, नवीना सूर्यबंशी, तेजकुमारी बीरकट्टा, योगेन्द्र चर्ती, केशरी सारु, बिष्णुबहादुर चर्ती, लुमीसरा सारु, रमेश बिक, सुरज न्यौपाने, अमरबहादुर जर्घा, रमादेवी सारु र बस चालक हुमिन गाविसका मिलन बिक रहेका छन् ।
दुर्घटनामा घाईते भएका ९ जनाको तानसेनस्थित मिसन अस्पताल र बाँकीको लुम्बिनी मेडिकल कलेज परबासमा उपचार भईरहेको छ । बेहुला केशबबहादुर चर्ती र बेहुली विष्णुकुमारी चर्ती पनि घाईते छन् ।
बस सडकबाट झण्डै साढे तीन सय मिटर तल खोल्सामा खसेको छ । चालकले मदिरा सेवन गरेर तीव्र गतिमा बस चलाएका कारण दुर्घटना भएको घाईते यात्रुलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

प्रतिक्रिया