मुम्बइ लैजाँदै गरेका बालकको उद्धार

Childrenवीरगन्ज, २१ फागुन । मजदुरीका लागि भारतको मुम्बइ लैजान लागेका रौतहट र बाराका आठ बालकलाई रक्सौलबाट उद्धार गरिएको छ । डेभलपमेन्ट नेपाल नामक संस्थाले वीरगन्जको सीमावर्ती रक्सौल रेल स्टेसनबाट शनिबार साँझ ती बालकलाई उद्धार गरेको हो । मानव तस्करीमा संलग्न गिरोहले उनीहरूलाई मजदुरीका लागि मुम्बइ लैजान थालेका थिए ।

उद्धार गरिएका बालक १५ वर्षमुनिका छन् । जनसाधारण एक्सप्रेस रेलमार्फत मुम्बइ लैजान लागेका बेला रक्सौल रेल स्टेसनबाट उनीहरूलाई उद्धार गरिएको डेभलपमेन्ट नेपालका कार्यक्रम संयोजक सन्दीप ठकुरीले बताए । मानव तस्करीमा संलग्नहरू भने संस्थाका कार्यकर्ता देख्नेबित्तिकै फरार भएको ठकुरीले जानकारी दिए ।
डेभलपमेन्ट नेपालले रौतहटको ब्रह्मपुरीका १३ वर्षीय राजकुमार दास, शिवनगरका १२ वर्षीय अलाउदिन आलम, रामपुर्वाका १३ वर्षीय महम्मद तबरेज, जेठरहियाका १२ वर्षीय भरत साह, सगैयाका १३ वर्षीय टपेन्द्र राम, गरुडाका १३ वर्षीय विनोदकुमार दास, राजपुर बलुवाका १४ वर्षीय महम्मद तौकीर र बारा सिम्रौनगढका १३ वर्षीय राजेश दासलाई उद्धार गरेको हो । उनीहरूलाई आइतबार अभिभावकको जिम्मा लगाएर पठाइएको ठकुरीले जानकारी दिए ।

प्रतिक्रिया