साहस गर्नुहोस् न्यायमूर्ति

Rishiप्रधानन्यायाधीश खिलाराज रेग्मीलाई कार्यपालिका प्रमुखको जिम्मेवारी दिएर चुनाव सम्पन्न गर्न बनिसकेको सहमतिमा अवरोध उत्पन्न हुन खोज्दा दलहरू आफ्नो परीक्षाका लागि जनतासामु पुग्न अझै भयभित भएको सन्देश प्रवाह भयो । चुनावी वातावरण तयार हुँदै गर्दा बनेको नयाँ परिस्थितिले राजनीतिलाई झनै अस्थिर बनाउने त होइन ? भन्ने गम्भीर प्रश्न तेर्सिएको छ । न्यायमूर्तिलाई संविधानसभा निर्वाचन सफलताका साथ सम्पन्न गर्ने भूमिका निर्वाह गर्न कार्यपालिका प्रमुख बनाएर जाने सहमति बनिसक्ता एकाएक बढेको विवादले सहमति भाँडिने हो कि भन्ने सन्त्रास फैलिएको छ । दलहरू आ–आफ्नो अडानबाट एक कदम पछि हटेर सहमतिका लागि अघि नसरे प्रधानन्यायाधीशलाई सर्त नै सर्त राखिरहने हो भने जेठ २२ मा हुने भनिएको चुनाव नभएर मुलुक गम्भीर राजनीतिक संकटतिर धकेलिन सक्छ ।
नेपालको न्यायापालिका सधँ आशा र भरोसाको केन्द्र बन्दै आएको छ । लोकतन्त्र खतरामा पर्दा न्यायालयले विधि र कानुनको शासनलाई बचाएर राखेका अनगिन्ती उदाहरण छन् । आस्थाको धरोहरमाथि विधिको शासन नमान्ने र तानाशाही लाद्न खोज्नेहरूबाट गर्ने कैयन प्रहार नभएका होइनन् । तर, सबै विफल भए । वर्तमान अवस्थामा आएर आस्थाको धरोहर न्यायालयलाई विवादमा ल्याउन खोज्नु देशका लागि हितकर छैन । प्रधानन्यायाधीशलाई कार्यकारी प्रमुख बनाउन भइरहेका सहमतिका प्रयासलाई गलत बाटोतर्फ मोड्न खोज्नुले नकारात्मक परिस्थिति उत्पन्न हुने खतरा छ । प्रधानन्यायाधीशले राजनीतिक सहमतिका नाममा विधिको शासनमा नकारात्मक असर पर्ने गरी आफू कार्यकारी प्रमुख नबस्ने अडान लिइरहनुभएको छ । अडानबाट उहाँमाथि लगाइएका आरोप र आलोचनाहरू मिथ्या सावित भइसके । उहाँमा पदलोलुपता देखिन्न । लोकतान्त्रिक मूल्य र मान्यतालाई बलियो बनाउने दायित्व निर्वाहमा दत्तचित्त हुनुभएको प्रमाणित भइसक्यो । कतिपयले प्रधानन्यायाधीशले सत्ता हातमा लिएपछि निरंकुश हुने सम्मको आशंका गरे । लोकतान्त्रिक मूल्यमान्यतालाई हृदयमा राखी विधिको शासन बलियो बनाउन सक्रिय व्यक्तित्व माथिको आशंका उपयुक्त होइन । जिम्मेवार नेताहरूले लोकतन्त्र हरण हुने आशंका राख्नु नकारात्मक नहोला तर पनि मुलुकमा सहमति हुन नसकिरहेका बेलामा कुनै एउटा सहमतिको विकल्प आउँछ भने भविष्यमा लोकतन्त्रको संस्थागत विकासको मार्गका रूपमा लिएर दलहरूले संविधानसभा निर्वाचनमा आफूलाई होम्नुबाहेकको विकल्प छैन । दलहरूमाथि जत्तिसुकै आरोप र आलोचना भए पनि लोकतन्त्रको रक्षा गर्ने दलहरूले नै हो । त्यसैले दलहरूले सहमतिलाई बचाउन सर्त होइन समन्वयकर्ताको भूमिका निर्वाह गर्नुपर्छ ।
प्रधानन्यायाधीश आफैँ पदका लागि बढुनुभएको होइन । उहाँलाई दलहरूले जिम्मेवारी सम्हाल्न अनुरोध गरिरहेका छन् । चुनाव अनिश्चित बन्दै गर्दा उहाँको नेतृत्वबाट चुनाव सम्पन्न हुने आशाका साथ सहमतिको उपयुक्त व्यक्तित्वको रूपमा देखापर्नुभएको हो । दलीय राजनीतिमा लागेका व्यक्तिहरूको नेतृत्वमा चुनावमा जान प्रमुख दलहरू आफैँ सहमतिमा पुग्न नसकेपछि विकल्पका रूपमा उहाँको नाम प्रस्ताव गरिएको थियो । तर, चुनाव हुने सुनिश्चितता भएमात्र उहाँ नेतृत्व लिन तयार देखिनुभएको छ । चुनाव नगर्ने र राजनीतिक अस्थिरताको फाइदा लिई आफैँ सत्तामा चढ्ने रणनीतिका साथ अगाडि बढेकाहरूबाट सचेत देखिनुभएको छ । त्यसैले दलहरूबीचको सहमतिका नाममा चुनाव गर्न नसके नेतृत्वबाट फिर्ता हुने अक्षरप्रति आपत्ति जनाउनुभयो । चुनाव गर्ने गरी सहमति बनाउनुपर्नेमा उत्पन्न गरिएका अड्चन चुनावको विपक्षमा देखापर्दै छ ।
सहमति बनाउन निकै कसरत गर्नुपर्छ । असहमतिका लागि एउटा नकारात्मक शब्द नै पर्याप्त हुन्छ । अहिले परिस्थिति त्यतैतर्फ उन्मुख हुने खतरा छ । यद्यपि नकारात्मक चिन्तन र आशंका हटाएर सकारात्मक सोचका साथ विमतिहरूलाई सहमतिको पाइलातर्फ उन्मुख गराउनुपर्छ । सहमतिका लागि भइरहेका बहसले आशा गर्ने ठाउँ छ । दलहरूका सामु सहमतिको विकल्प छैन । दलीय राजनीतिमा सक्रिय व्यक्तिमा उनीहरू सहमत नहुने निष्कर्षमा पुगेरै गैरदलीय तर न्यायालय प्रमुखमा सहमति खोज्न जुटेका हुन् । प्रधानन्यायाधीश उपयुक्त व्यक्ति हो किनकि दलहरूबीच आपसी विश्वासको संकट छ । अन्यौलग्रस्त राजनीतिलाई ट्रयाकमा ल्याउन उहाँको योगदान हुनसक्छ । त्यसका लागि दलहरूको सहयोग अपरिहार्य छ । जटिल र वातावरण बिगार्ने प्रकारका सर्तहरू तेर्साएर बन्दै गएको माहोल बिगार्न खोज्नु, लोकतन्त्रका लागि हितकर छैन । देश नयाँ चुनावमा गए मात्र राजनीति सही बाटोबाट अगाडि बढ्ने अवस्था बन्नसक्छ । अहिले चुनावलाई अर्जुनदृष्टि बनाएर जानुमै सर्वहित छ । सहमतिका लागि जति ढिलो हुन्छ उत्तिनै चुनावी वातावरण बिथोलिन्छ । बिनासर्त चुनावमा जानका लागि विकसित भएको सकारात्मक परिस्थितिलाई सार्थकरूप दिन आवश्यक योगदान सबैबाट हुनै पर्छ ।
प्रधानमन्त्री डा.बाबुराम भट्टराईको सम्मानजनक बर्हिगमनसँगै चुनावी वातावरण बनाउन दलहरूले औपचारिक र अनौपचारिक बहसहरू लामो समययता गर्दै आए । रणनीतिक रूपमा सारिएका प्रस्तावहरू हावामै बिलाएर गए । एकले अर्कोलाई असफल बनाउने उद्देश्यहरू सतहमै देखिए । जसका कारण गहिरिएको असमझदारीको खाडल पुर्न धेरै कठिन भयो । स्वतन्त्र व्यक्तिको नाम आउनुमा असहमझदारीको खाडल पुर्ने उद्देश्य पनि एउटा कारण हो । स्वतन्त्र व्यक्तिका रूपमा प्रधानन्यायाधीशको नाम अगाडि सार्दा दलहरूबीच बढेको असमझदारीको कालो बादल एक्कासि हट्दै गयो । लामो समयपछि बनेको सकारात्मक परिस्थितिलाई सम्हाल्न नसकेमा दलहरूप्रति झनै नकारात्मक सन्देश जान सक्छ । त्यसले लोकतन्त्रलाई कमजोर पार्ने षड्यन्त्रमा सक्रियहरूलाई ऊर्जा मिल्न सक्छ । त्यसतर्फ दलहरू सचेत हुन आवश्यक छ । आफूहरूबीच पनि सहमति निकाल्न नसक्ने र स्वतन्त्र व्यक्तिका नाममा बनेको सहमतिको माहोललाई समेत सार्थक रूप प्रदान गर्न नसक्नुले राजनीतिक टकराबलाई उग्र रूप दिने खतरा रहन्छ । सबै किसिमका खतरालाई पन्छाउन बनेको सहमतिलाई औपचारिकता प्रदान गरी शीघ्र चुनावतर्फ बढ्नुमै देश, जनता र दलको हित छ । चुनाव भए मात्र दलीय राजनीति बलियो हुन्छ । चुनावले दलहरूकै साख बढाउने हो । अहिलेको आवश्यकता भनेको सहमति नै हो । सहमतिबाटै असम्भव भनिएको विषय सम्भव भएको इतिहास छ । खाली वार्तामा बस्ने निष्कर्षमा पुग्न नसक्ने अवस्थाको अन्त गरौँ । नेताहरूले एउटै टेबुलमा बसेर जतिसक्दो छिटो सहमति गर्नैपर्छ । आशंका, आग्रह र पूर्वाग्रहलाई मेटेर दूरदृष्टिका साथ देशलाई अगाडि बढाउन सहमतिको विकल्प छैन । बनिसकेको सहमतिलाई सार्थकरूप दिएमै देशमा विद्यमान अन्यौल चिरिन्छ ।
सिंगो मुलुक चुनावका लागि छटपटिएको छ । चुनाव नहुँदा केन्द्रमा अराजकता बढेको छ । दूरदराजका गाउँमा राजनीतिक सक्रियता कम छ । जसले विकासका काममा अवरोध तेर्सिएको छ । जनतालाई जागरूक बनाउने र असन्तुष्टि जाहेर गर्ने निकाय रित्तिँदा जटिलता थपिएको छ । राजनीतिक रिक्तताले बढाएको समस्याले दूरगामी असर परिरहेछ । रिक्तता पुर्न ढिला गर्न हुन्न । यो या त्यो व्यक्तिका नाममा उचालिएको विवाद चुनावलाई टाढा धकेल्ने रणनीति मात्र हुनसक्छ । अहिलेको आवश्यकता जतिसक्दो छिटो चुनाव सफलताका साथ सम्पन्न गर्नु हो । त्यसका लागि बनिसकेको सहमतिलाई औपचारिक रूप प्रदान गर्नैपर्छ । अर्को विकल्प खोज्नु भनेको देशमा चुनावी वातावरण बिथोल्ने चलखेल मात्र हो । प्रधानन्यायाधीशले पनि हिम्मत देखाउनुपर्छ । हिम्मतिलो र संकटलाई निकास दिने व्यक्तित्वको पहिचान बनाउने अवसर र चुनौती उहाँसामु छ । उहाँले एक कदम अघि बढे देशले नयाँ भविष्यको मार्ग कोर्न सक्छ ।

 

प्रतिक्रिया