मेरा समाचार निराधारः प्रधानमन्त्री

काठमाडौं, २५ पुस । प्रधानमन्त्री बाबुराम भट्टराईले दैलेख घटनाको विषयलाई लिएर आफूसँग जोडिएर आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
उनले आज प्रकाशित आफूसँग सम्बन्धित समाचारको खण्डन गरे । सञ्चारमाध्यममा ‘प्रधानमन्त्रीको आदेशमा अभियुक्तको वयान रोकियो’, ‘अधिकारवादीले उक्साए’लगायतका आशयका समाचार निराधार भएको प्रधानमन्त्री भट्टराईको आरोप छ ।
दैलेखमा हत्या गरिएका पत्रकार डेकेन्द्र थापाका दोषीलाई कारबाही प्रक्रिया अघि नबढाउन प्रधानमन्त्रीले प्रहरी प्रशासनलाई निर्देशन दिएको लगायतका समाचार प्रकाशित भए पछि भट्टराईले आपत्ति जनाएका हुन् ।
प्रधानमन्त्री भट्टराईले आज आफ्ना स्वकीय सचिव विश्वदीप पाण्डे मार्फत विज्ञप्ति जारी गर्न लगाई आफूलाई लागेका आरोपहरुको खण्डन गरेका हुन् ।
उनले सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन गरी देशैभरि द्वन्द्वका क्रममा भएका घटनाको निष्पक्ष अध्ययन अनुसन्धान गर्नुपर्ने अभिव्यक्ति दिएको बताए । उनले भनेका छन्, ‘व्यक्ति–व्यक्ति गरेर जान थाल्ने हो भने माओवादी मात्र होइन, कांग्रेस, एमाले, सुरक्षा निकाय कोहि चोखो रहँदैन् ।’
प्रधानमन्त्री भट्टराईले दण्डहिनताको अन्त्य गर्नुपर्ने भन्दै दोषीलाई कारवाही गर्न आफू दृढ रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
उनले बेलायती सरकारले नेपाली सेनाका महासेनानी कुमार लामालाई अनधिकृत ढंगले गिरफ्तार गरेर द्वन्द्वकालको मुद्दा लगाउनु आपत्तिजनक रहेको जनाएका छन् । उनले बेलायतको सो कार्यले नेपाली सार्वभौमसत्ताको गम्भीर अतिक्रमण गरेको जनाएका छन् ।

प्रतिक्रिया