झिनामसिना कुरा

“प्रधानमन्त्रीज्यू नमस्कार’– आकस्मिक रूपमा बालुवाटार बोलाइएका पत्रकारहरूले उत्सुकतापूर्ण नजरले हेर्दै भने । सबैको अनुहार सरसर्ती हेर्दै प्रधानमन्त्रीले भन्नुभया, ‘तपाईंहरूले पनि अब संस्कार भुल्नु भयो हैन ?’ एकाबिहानै ठुलै राजनीतिक समाचार फेला पर्ने आसमा चिया नखाई दौडिएका पत्रकार प्रधानमन्त्रीको कुरो सुनेर मुखामुख गर्न थाले । टेबल अगाडि राखिएका अखबारहरूका मुखपृष्ठ पल्टाउँदै मलिन अनुहारमा प्रधानमन्त्रीले सोध्नुभयो, ‘भन्नुस, हाम्रो संस्कार के हो ?’ मनमनै आफूले सोध्ने प्रश्नको बान्की गुन्दै आएका पत्रकार प्रधानमन्त्रीका प्रश्नले रन्थनिए । पत्रकार साथीहरूको असमञ्जसतालाई हलुका पार्दै प्रधानमन्त्रीज्यूले थप्नुभो, ‘आफूभन्दा ठूलाले भनेको मान्नु हाम्रो संस्कृति हो कि होइन ?’ पत्रकारहरूले स्वीकृतिमा टाउको हल्लाए, ‘ज्यू ।’ प्रधानमन्त्रीले फेरि सोध्नुभो, ‘यो मुलुकमा सबभन्दा ठूलो को हो ?’ आफ्नो जानकारीप्रति गर्विलो हुँदै पत्रकार दीर्घाबाट कसैले फ्याट्ट भन्यो, ‘मर्यादाक्रममा त राष्ट्रपति नै ठूलो हो ।’ पत्रकारको जबाफबाट असन्तुष्ट प्रधानमन्त्रीले भृकुटी खुम्च्याउँदै सोध्नुभयो, ‘काम गर्ने मान्छे ठूलो हुन्छ कि केही नगरी बस्ने थपना ठूलो ?’ पत्रकारले भने, ‘काम नगरी बस्नेभन्दा काम गर्ने नै ठूलो ।’ अलिक सन्तुष्ट भावमा प्रधानमन्त्रीले सोध्नुभयो, ‘त्यसो भए देशको सबै कामको जिम्मा लिएको कार्यकारी प्रमुख ठूलो भयो कि भएन ?’ आशय बुझेका पत्रकारहरूले मौनता साध्नु नै श्रेयस्कर ठाने ।
‘देशको सबैभन्दा ठूलो मान्छेले भनेको कुराको समाचार झिँगाटाउके शीर्षकमा हुने ?’ कड्किएको स्वर अलिक मत्थर पार्दै प्रधानमन्त्रीले थप्नुभो, ‘केयुकेएलको अध्यक्ष नियुक्तिमा प्रथम महिला र प्रथम पुरुषको कुनै पनि संलग्नता छैन भन्ने कुरा प्रमुख समाचारमा किन आएन ? शीर्ष मान्छेले बोलेका कुरा शीर्ष समाचार बन्नु पर्छ कि पर्दैन ?’ ‘त्यति सामान्य शिष्टाचारको कुरा पनि बोलाएर सम्झाइरहनु पर्छ तपाईंहरूलाई ।’ प्रधानमन्त्रीले यति लामो भूमिका बाँध्नुको गुह्य बुझेका पत्रकार आफ्नो सोध्ने पालो आएकोमा उत्साहित हुँदै भन,े ‘खुला प्रतिस्पर्धाबाट नियुक्त भएर आएको मान्छेलाई नियमविपरीत हटाएर आफन्तलाई ल्याइएको होइन भन्ने विश्वासयोग्य आधार फेला नपरेकाले प्रधानमन्त्री महोदयले दिनुभएको स्पष्टीकरण शीर्ष समाचार बन्न सकेन’ । प्रधानमन्त्रीले स्पष्ट पार्ने कोसिस गर्नु भयो, ‘हेर्नुस्, केयुकेलमा नयाँ अध्यक्ष नियुक्ति भएको कुरा त मैले अखबारबाट मात्र थाहा पाएको हुँ ।’ पत्रकारले भने, ‘प्रधानमन्त्री निकटस्थको दबावमा नयाँ अध्यक्ष बनाउन लागिएको शीर्ष समाचर थुप्रै प्रकाशित थिए त, देख्नुभएन ?’ प्रधानमन्त्रीले खुलस्त पार्दै भन्नुभयो, ‘आफूलाई आवश्यक भए बाहेक अन्य झिनामसिना समाचार पढ्ने मेरो बानी छैन, अल्पज्ञानीहरू के भन्छन्; ज्ञानीले सुनिबस्ने पनि होइन ।’ पत्रकारले सोधे, ‘खुलाप्रतिस्पर्धाबाट आएको मान्छे जबर्जस्ती हटाएर आफन्त नियुक्त गर्नु कसरी उचित हो ?’ प्रधानमन्त्रीले आफ्नो पक्ष राख्दै भन्नुभयो, ‘हेर्नुस्, सत्तामा पुगेपछि हाम्रो विद्यावारिधी ज्ञानले दिएको थप निचोड हो, खुला प्रतिस्पर्धाबाट नियुक्त मान्छेले सामन्तवादलाई बढावा दिँदो रहेछ ।’ ‘जुन सामन्ती व्यवस्थाविरुद्ध १० वर्ष लड्यौँ, त्यही व्यवस्थालाई पृष्ठपोषण गर्ने भएपछि हामीले यसअघि पनि विद्युत् प्राधिकरणका कार्यकारी प्रमुखलाई हटाएकै हौँ ।’ ‘धेरै बिराला जम्मा भएमा मुसा मार्दैन भन्छन्, देशको कार्यकारी प्रमुख विद्यावारिधी रहिरहने भएपछि बाँकी आदेश तामेली गर्ने मान्छे भए पुगिहाल्छ ।’ प्रधानमन्त्रीले थप प्रष्ट्याउँदै भन्नुभो, ‘खुला प्रतिस्पर्धाबाट नियुक्त भएको घमण्डमा त्यस्ता मान्छेले आफूभन्दा कनिष्ठ कर्मचारीलाई मान्छे नगनी सामन्ती व्यवहार गर्दा रहेछन्’ । ‘तपाईंहरू आफैँ विचार गर्नुस् त, प्रथम महिलाको आदेश अटेर गर्दै नियम–कानुनका कुरा झिक्नेले आफू मातहतका साधारण कर्मचारीसँग कस्तो व्यवहार गर्लान् ?’
पत्रकारहरू सहजै उन्मुक्ति दिने मुडमा देखिएनन्, ‘आफन्तलाई अध्यक्ष बनाउन प्रधानमन्त्रीज्यूको पनि दबाव थियो भन्ने सुनियो नि ?’ प्रधानमन्त्रीले दुखेसो पोख्दै भन्नुभो, ‘यो संघीयता विरोधीहरूले चलाएको हल्ला पछाडि पत्रकार मित्रहरू दौडिएको देख्दा हामीलाई दु:ख लागिराख्या छ । दिज्यू आफैँ इन्जिनियर मान्छे, योग्य भएरै छनौट हुनुभएको हो ।’ पत्रकारले कुरो अठ्याउने प्रयत्न गर्दै सोधे, ‘अघि अध्यक्ष नियुक्तिबारे केही थाहा छैन भन्नु भएको होइन प्रधानमन्त्रीज्यू ?’ प्रधानमन्त्रीले स्वर टर्रो पार्दै भन्नुभयो, ‘त्यस्तो झिनामसिना कुरा नगर्नुस्, यो शान्ति र संविधानभन्दा ठूलो विषय होइन ।’ ‘व्यक्तिको नाता, सम्बन्ध केलाएर समाचार बनाउनुभन्दा नियुक्तिमा आर्थिक चलखेल भएको छ कि छैन भन्ने कुरा मुख्य हो ।’ पत्रकारहरूले अविश्वास गरेझैँ लागेपछि प्रधानमन्त्रीले थप्नुभो, ‘धरोधर्म कुनै भ्रष्टाचार भएको छैन । एकाघरको कुरामा कसरी आर्थिक लेनदेन हुन सक्छ ? यसरी हुँदै नभएको कुुरालाई अनियमितता भयो भन्दै समाचार बनाउन मिल्छ ? दिज्यू सर्वयोग्य भएरै अध्यक्ष नियुक्त हुनु भएको हो । बरू यसअघिका भ्रष्ट र प्रतिगामी सरकारले उहाँको त्यो विराट् प्रतिभामाथि अन्यायगर्दै नयाँ नेपाल निर्माणको मार्ग अवरुद्ध गर्नुको कारण गम्भीरतापूर्वक छानविन हुनुपर्छ भन्ने हामीलाई लागिराख्या छ ।’
लामो बुद्धिविलास पश्चात थकित पत्रकारहरूले प्रसङ्ग बदल्दै सोधे, ‘प्रधानमन्त्रीज्यू मातहत रहेका सबै मन्त्रालयमा प्रथम महिलाको हैकम चल्छ भन्छन् नि ?’ केहीबेर गम खाँदै प्रधानमन्त्रीले सुस्तरी भन्नुभो, ‘तपाईं पत्रकारहरू प्रोएक्टिभ समाचारका कुरा तालिम, गोष्ठीहरूमा मात्र गर्नुहुन्छ कि क्या हो ? म नारी स्वतन्त्रताको पक्षधर मान्छे, श्रीमतीजीलाई कुनै काम गर्न बन्देज लगाएँ भने त्यो महिला हिंसा हुँदैन ?’ ‘यस्तो सकारात्मक कुरालाई अतिरञ्जित गर्ने कोसिस नगर्नुस् ।’ पत्रकारले सोधे, ‘तपाईंको सरकारले गरेका अधिकांश निर्णयहरू अदालतले उल्टाइदियो । तपाईंले प्रक्रिया मिचेरै सरकार संचालन गर्न खोज्नु भएको हो कि कार्यपालिका र न्यायपालिकाबीच मुठभेड भएको हो ?’ प्रधानमन्त्रीले अलि कड्किँदै भन्नुभो, ‘मसँग मुठभेड गर्ने ? तपाईंले रूपमा मात्र ध्यान दिनुभयो, सार के हो भने मसँग जो सुरिन्छ त्यो तुरिन्छ ।’ ‘अध्यक्ष कमरेड पनि पहिले–पहिले मसँग निकै सुर्रिनुहुन्थ्यो, अहिले मैले करिबन तुर्‍याइदिई सकेको छु । अब दुईचार महिनामा अदालत पनि रित्याइदिन्छु, अनि को आउँदोरहेछ मेरो बाटो छेक्न ?’
पत्रकारले सोधे, ‘तपाईंले नै पहिला सन् १९५० को सन्धिलगायतका असमान सन्धीहरू खारेजीका कुुरा उठाउनु भएको थियो, खारेज गर्नु हुन्छ अहिले प्रधानमन्त्रीभएका बेला ?’ प्रधानमन्त्रीले हड्बडाउँदै भन्नुभयो, ‘त्यस्ता झिनामसिना कुरा नगर्नुस्, अहिलेको प्रमुख कार्यभार शान्ति र संविधानभन्दा ठूलो विषय होइन त्यो । ६० वर्ष अघिका कुरा झिकेर देशलाई पश्चगमनतर्फ लैजाने चेष्टा नगरौँ ।’ पत्रकार– ‘भारतीय लगानी विस्थापित नगरी देश विकास हुन्न भन्नु भएको होइन… ?’ पत्रकारको कुरा नसकिँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘त्यस्ता झिनामसिना कुरा नगर्नुस्, तपाईंहरू अध्ययन कम गर्नुहुन्छ, त्यसैले चौथो आयामबारे विचार पुर्‍याउन नसक्दा सतहमै दौडिरहनु हुन्छ ।’ पत्रकारहरूले आफ्नो अनभिज्ञता स्वीकार्दै सोधे, ‘त्यो चौथो आयाम भनेको के हो ?’ पत्रकारहरूलाई आफ्नो विद्वताले कायल बनाउन सकेकोमा दङ्ग पर्दै प्रधानमन्त्रीले रवाफिलो स्वरमा भन्नुभयो, ‘त्यो चौथो आयाम भनेको समय हो । त्यतिबेला हामी सत्ताको आसपास पनि थिएनौँ, अहिले केन्द्रमा छौँ । त्यसले ठूलो फरक पार्छ । प्रश्न सोध्नुअघि आइन्दा विचार पुर्‍याउनु होला ।’
थप प्रश्न गर्न बिर्को लगाइदिएपछि पत्रकारहरूले जिज्ञासा पोखे, ‘उसो भए के सोध्ने र के लेख्ने त प्रधानमन्त्रीज्यू ?’ ‘सडक विस्तार बारे लेख्नुस् । जानिफकारहरूले त्यसलाई ‘हरक्युलियस टास्क’ भनेका छन् । त्यसैको बारेमा सोध्नुस् र लेख्नुस् । लेखिरहनुस् ।’ ‘अनि थप के लेखौँ त प्रधानमन्त्रीज्यू ?’ –पत्रकारहरूले सोधे । निकैबेर दिमागमा जोड लगाएर प्रधानमन्त्रीले भन्नुभयो, ‘हरेक मसान्तमा हुने बाबुरामको घर बाबुराम कार्यक्रमबारे लेख्नुस् ।’ लामो समयदेखि मौन रहेका एक पत्रकारले रन्किँदै सोधे, ‘दरबारमा हुर्किएका त्रिभुवन नेपाली जनताले दूधभात पनि खान पाएका रहेनछन् भनि सोध्थे रे, गरिब नेपाली जनताको घर कसरी चलेको छ भन्ने थाहा नहुन तपाईं राजा त्रिभुवन हो प्रधानमन्त्रीज्यू ?’ केही थप्न खोजिरहेका पत्रकारलाई उछिन्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘तिमी पहिलो, दोश्रो, तेश्रो, कुन लिङ्गी पत्रकार हौ ? तिम्रो पनि लिङ्ग परीक्षण गराइदिऊँ ? यस्ता झिना मसिना कुरा गरेर परिवर्तनलाई अवरुद्ध पार्न खोज्ने ?’ ‘म सदाचार, सुुशासन र लोकाचारमा विश्वास गर्ने मान्छे भएकाले पदको दुरुपयोग नहोस् भन्नेमा सचेत छु । त्यसैले ठूलाबडाले भनेको मान्नुस्, मनमा गाँठो पारेर बाँध्नुस् । नत्र अग्रगमनविरोधी कित्तामा पुगिएला’ ।

प्रतिक्रिया