नेपाली राजनीतिका निमित्त नायकहरू

नेपाली सञ्चारमाध्यमहरूमा यदाकदा नेपालमा सकारात्मक परिवर्तन के कति र के कस्ता भएका छन् भन्ने चर्चा परिचर्चा चलाउने प्रयास गरेको देख्न पाइन्छ । हालै मात्र डा. सुरेशराज शर्माले पनि त्यस्तो प्रयास गर्नुभएको थियो । कांग्रेसको विरोधको मौसम नभएका बेला अथवा ०४६ सालको परिवर्तनपछिका विकृति–विसंगतिमा कांग्रेसको योगदानको चर्चा सुरु भएका बेला यदाकदा डा. रामशरण महतलाई पनि यस्तो सकारात्मक भावनाको छुद्दे चल्ने गर्छ र उहाँ भन्नुहुन्छ–प्रजातन्त्रमा केही पनि भएन भन्ने कुरामा म सहमत छैन ।
तर नेपाली सञ्चारमाध्यमको प्रवृत्तिगत अवधारणा के छ भने जो सत्तामा छन् ती सधैँ सकारात्मकताको हरियाली देख्छन् र सबैले सकारात्मकता नै सकारात्मकताको चर्चापरिचर्चा गरिरहून् भन्ने चाहन्छन् । (प्रधानमन्त्री डा. बाबुराम भट्टराईको शैलीचाहिँँ सञ्चारमाध्यम र अन्य नेताको सम्बन्धलाई चक्कर दिने खालको छ ।) जो विपक्षमा छन् ती नकारात्मकताको नै माला जपिरहेका हुन्छन् । व्यावसायिक सञ्चारमाध्यम स्वाभाविक रूपमा जनतामा अत्यधिक रूपले फैलिएको नकारात्मक भावनालाई आवाज दिएर मात्रै बाँच्न र टिक्न सकिने कुरामा जानिफकार छन् र नै त्यहाँ बढी नकारात्मकता भर्न बढी रुचाउँछन् ।
अब सोच्नुपर्ने कुराचहिँ के हो भने जनतामा यति धेरै नकारात्मकता किन छ ? किन नेताहरू, राजाहरू, पार्टीहरू र सत्ताधारीहरूप्रति जनता यति धेरै नकारात्मक बनेका छन् ? किन नकारात्मक सामग्रीमा बढी चाख मान्छन् जनता ? किन नकारात्मक कुराहरूमा मात्रै विश्वास गर्छन् जनता ? जनता के मूर्ख भएर यसरी नकारात्मक भएका हुन् ? के जनतालाई कुनै पार्टी, कुनै नेताले भड्काएर यसरी नकारात्मक कुरामा चासो जागेको हो त ? होइन, नेताले भनेकै भरमा जनता यसरी सामाजिक परिवर्तनजस्तो गहन अनुभूतिको विषयलाई उपेक्षा गरेर अधिकांश संख्यामा नकारात्मक बन्ने प्रश्नै आउँदैन ।
यस कुराको उत्तर खोज्न हामीले सर्वप्रथम आफैँ सर्वसाधारण जनता हुन सक्नुपर्छ । एकपटक सत्ताबाहिर रहँदाको आफ्नो अवस्थालाई सम्झेर छातीमा हात राख्दै सोचे पुग्छ । अनि थाहा भइहाल्छ जनता किन र कति नकारात्मक हुन् भनेर । जनतालाई नेपाली समाजको परिवर्तनको प्रशस्त अनुभूति नभएको अवश्य होइन । बितेका ८०/८५ वर्षमा नेपाली समाज दासप्रथा र सतीप्रथाजस्तो प्राचीन सामन्ती स्वरूपबाट बदलिँदै आजको विश्वव्यापीकरणको प्रभावमा पाइला चालिरहेको अवस्था परिवर्तनको निकै ठूलो फड्को हो भन्ने कुरा के कुनै नेपालीलाई अनुभव छैन होला र ? पहिले हप्तौँ लगाएर हिँडेका बाटा अहिले केही घन्टामै छिचोल्न सकेको अनुभव नेपालका सर्वसाधारणलाई पनि आधुनिक विशेषज्ञलाई भन्दा बढी नै छ ।
आधुनिक विश्वको प्रगतिको तुलनामा नेपालजस्तो मुलुकमा ५/६ हजार किलोमिटर सडक मात्र बन्नु अरूभन्दा पछाडि नै पर्नु हो भन्ने हीनताभासको अनुभव सकारात्मकताको मादल बजाउनेलाई बढी हुन्छ । तर, नकारात्मकताका पात्र बनाइएका सर्वसाधारणलाई त जति छ त्यही पनि विकासको छलाङ नै भएको छ । यस्तै स्वास्थ्य, शिक्षा, सञ्चार, मालमत्ताजस्ता कुरामा नेपाल हिजो जहाँ थियो त्यसलाई विचार गर्दा हिजो र आजको नेपाल थाहा पाउनेका लागि आकाश–जमिनको फरक छ भन्ने कुरामा कुनै सन्देह नै छैन । नकारात्मक जनता पनि मानव सभ्यताको यो देनप्रति कृतज्ञ हुन जान्दछन् र जानेका पनि छन् । ००७ सालअघिको नेपाल देख्नेहरू, ००७ सालपछि ०२० सालसम्म र त्यसयताको नेपाल देख्नेहरू आजको नेपाल हेरेर जिब्रो टोक्ने पनि छन् । परिवर्तनप्रतिको सकारात्मकता यहाँभन्दा बढी के हुनु ?
जनता परिवर्तनका साक्षी हुन्छन् । यो परिवर्तनमा को कहाँ थियो ? कसले के भूमिका खेलेको थियो ? परिवर्तनमा कसले श्रेय पाउने काम गरेको छ अनि को यसको निमित्त नायक बनेर उभिने गर्छ भन्ने कुरा पनि इतिहासका साक्षी जनताले हिसाब त राखेकै हुन्छन् । नेपालमा राणा शासनको अन्त्य कसरी भयो, कसले कति बलिदान गरे कसले दोहोरो भूमिका खेले ? आदि कुरामा कसैले इतिहास लेखेको छ भने त्यसमा उसको आफ्नो दृष्टिकोण बोलेको हुन्छ । तर, त्यहाँ जनता नै बोलेको हुन्छ भन्न सकिँदैन । जनतामाझ सधैँ एउटा मूक र अलिखित इतिहास प्रस्तुत हँुदै गइरहेको हुन्छ । बन्दै गइरहेको हुन्छ । कसैले त्यसलाई मेट्न र फेर्न सक्दैन । यस्तै ०१७ साल, ०२७ साल, ०३७ साल, ०४७ साल र ०६३ सालमा नेपालमा जुन राजनीतिक परिवर्तन भए, ती वास्तवमा नेपाली जनता र नेपाली समाजमा देखापरेका परिवर्तनका आकांक्षा तथा भएका परिवर्तनका संवाहक थिए वा समयको गति बुझ्न नसक्ने शासन सत्तामा टाँसिएका मूर्ख शासकहरूका गल्तीका परिणाम थिए भन्ने कुराको विश्लेषणबाट मात्रै जनताको कथित नकारात्मक भावनाको वास्तविकता खोतल्न सकिन्छ ।
यसो भनेर हामीले जनताको परिवर्तनको आकांक्षा छँदै थिएन वा जनताको यी परिवर्तनहरूमा बलिदान नै भएन भन्ने पुष्टि गर्न खोजेको होइन । तर, जनताको आकांक्षाअनुरूप परिवर्तनको संवाहक बन्न खोजेर पनि त्यसलाई मूर्तरूप दिन अन्तिम विन्दुसम्म सफल भएका कुनै राजनीतिक पार्टी, व्यक्ति, राजा वा नेता इतिहासमा कोही पनि यस्तो देखापरेन, जसले नेपालमा भएका परिवर्तनको श्रेयको माला पहिरियोस् । बरु विश्वको, छरछिमेकको र आफ्नै देशभित्रको बदलिएको परिस्थितिबाट मक्काइसकेका शासकीय प्रणलीले परिवर्तनको प्रवाहलाई बुझ्न नसकेर पछारिए । पछि त्यो शून्यता भर्न समय समयमा विभिन्न रंगका निमित्त नायकहरू नेपालको राजनीतिक रंगमञ्चमा देखापर्ने गर्छन् । र, कोही क्रान्तिको अभिनय गर्छन्, कोही प्रजातन्त्रको अभिनयमा नाच्छन्, कोही विकासको ढोंग रच्छन् । अनि जनताले उनीहरूको अभिनयलाई वाहवाहीको ताली पिटीदिएन भनेर खुलामञ्चमा गएर कुर्लने गर्छन् ।
नेपालका यी निमित्त नायकहरूले परिवर्तनका जुन सकारात्मक रेखाहरू हाम्रा अगाडि तेस्र्याएका हुन्छन्, यहाँ आइपुग्नु अगाडि नै वासिंटनमा विश्व बैंकले तिनलाई तयार गरिसकेको हुन्छ भन्ने बबुरो जनता पनि थाहा पाइरहेकै हुन्छ । श्रेयको मालाको अधिकारी वास्तवमा वासिंटन हुन्छ, दिल्ली हुन्छ । अनि जनताले कसरी निमित्त नायकको गला सिँगारिदिन सक्छन् । परिवर्तन त समयले पहिले नै तय गरिसकेको हुन्छ, निमित्त नायकहरूले त केवल अभिनय गरे पुगिहाल्छ, मक्काएका खम्बा त जसरी पनि ढलिहाल्छन् । परिवर्तनको संवाहकलाई त जनताले चिनिसकेकै छन्, अनि किन त्यसको श्रेयमा तिमीले दाबी गर्ने नेताजीहरू ?

प्रतिक्रिया