औषधि निर्यातको बाटो खुला

काठमाडौ : नेपाली औषधि विदेश निर्यातका लागि पुन: बाटो खुलेको छ । औषधि व्यवस्था विभागले निर्यातका लागि दिइने प्रमाणपत्र ‘सटिफिर्केट अफ फर्मास्युटिकल्स प्रोडक्ट मुभिङ इन इन्टरनेसनल मार्केट’ (सिपिपी) पुन: दिन थालेपछि बाटो खुलेको हो ।
विभागका अनुसार ६ वटा नेपाली औषधि कम्पनीले निर्यात गर्ने प्रमाणपत्र लिएका छन् । प्रमाणपत्र लिनेमा नेपाल फर्मास्युटिकल्स
ल्याबरेटरिज (एनपिएल), देउराली जनता फर्मास्युटिकल्स, म्याग्नस फर्मा, नेसनल हेल्थ केयर, टाइम फर्मास्युटिकल्स र विजयदीप फर्मास्युटिकल्स छन् । विभागले एनपिएललाई १५ वर्षअघि नै निर्यातका लागि बाटो खुला गरिदिए पनि भारतको निरुत्साहित नीति र झन्झटिलो प्रशासनिक संरचना तथा विभागले पनि सहयोग नगर्दा औषधि निर्यात हुन सकेको थिएन ।
नेपालबाट सिपिपी लिएका कम्पनीहरूको सम्बन्धित देशले सिपिपी स्वीकार गरेपछि मात्र औषधि निर्यात गर्न सकिनेछ । विश्व स्वास्थ्य संगठनको कुशल उत्पादन अभ्यास (जिएमपि) पाएका जुनसुकै कम्पनीले विदेशमा औषधि निर्यातका लागि सिपिपी पाउन सक्ने व्यवस्था छ । (सौस)

प्रतिक्रिया