मध्यपश्चिम विश्वविद्यालयमा तालाबन्दी

सुर्खेत, ६ पुस । मध्यपश्चिम विश्वविद्यालयका पदाधिकारीले आफ्ना मागप्रति बेवास्ता गरेको आरोप लगाउँदै चार विद्यार्थी संगठनले विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन् ।
१० मंसिरमा विश्वविद्यालयमा सातबुँदे माग पेस गरेका ती विद्यार्थी संगठनले आठौँ चरणसम्मको वार्तामा पनि विश्वविद्यालयका पदाधिकारीले बेवास्ता गरेपछि तालाबन्दी गर्न बाध्य हुनुपरेको अनेरास्ववियुका केन्द्रीय सदस्य एवं सुर्खेत क्याम्पसका स्ववियु सभापति कमल सिजापतिले बताए । विश्वविद्यालयका पदाधिकारीले विश्वविद्यालयको ऐनमा रहेर कार्यसम्पादन गर्नुपर्नेमा मनोमानी ढंगले कर्मचारी नियुक्ति र भर्ना शुल्क एकलौटी निर्धारण गरेको आरोप पनि उनले लगाए । ऐनविपरीत भएका सबै कार्य बदर गरिनुपर्ने बताउँदै सिजापतिले भर्नाशुल्क निर्धारण समितिसमेत गठन गरिनुपर्ने माग गरे ।
यसैगरी, नेकपा (माओवादी) निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य भीष्म शाहीले लामो समयदेखि विश्वविद्यालय पदाधिकारी एकलौटी ढंगले अघि बढेको साथै आफूहरूले राखेका मागप्रति उदासीन भएकाले विश्वविद्यालयमा अनिश्चितकालीन तालाबन्दी गर्नुपरेको बताए । अनेरास्ववियुका केन्द्रीय सदस्य सुशील थापाले पदाधिकारी जति क्रूर बन्छन् त्यति नै विद्यार्थीको आन्दोलन चर्किंदै जाने चेतावनी दिए । उनले विश्वविद्यालयका पदाधिकारीलाई आफ्ना माग पूरा गर्न घुँडा टेकाइछाड्ने बताए ।
अनिश्चितकालीन तालाबन्दीबारे विश्वविद्यालयका विज्ञान संकायका डिन डा. केशरसिंह रानाले शुल्कको विषयमा सोमबार विद्यार्थीसँग भएको वार्ता सफल भएको तर मंगलबार एकाएक विद्यार्थी संगठनले तालाबन्दी गरेकोमा आफू आश्चर्यमा परेको बताए । विश्वविद्यालयका पदाधिकारी मनोमानी ढंगले कार्यसम्पादन गरेको भन्ने विद्यार्थीको आरोप निराधार भएको जिकिर गरे ।
स्वतन्त्र विद्यार्थी युनियन सुर्खेत क्याम्पस शिक्षा, अनेरास्ववियु (क्रन्तिकारी) सुर्खेत, अनेरास्ववियु, सुर्खेत र अखिल छैटाँैले मंगलबार नै प्रेस विज्ञप्ति जारी गरी सर्वसुलभ शुल्क निर्धारण गनुपर्ने, केन्द्रीय सम्पर्क कार्यालय हटाउनुपर्ने, नियुक्ति भएका कर्मचारीको नियुक्ति बदर गर्नुपर्ने, एकेडेमिक डाइरेक्टरको खारेजी, पाठ्यक्रम सार्वजनिक गर्नुपर्ने र विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । यसअघि विश्वविद्यालयका डिन नियुक्तिमा विश्वविद्यालयका पदाधिकारीले एकलौटी निर्णय गरेको भन्दै प्रगतिशील प्राध्यापक संगठनले विश्वविद्यालयमा तालाबन्दी गरेका थिए ।

प्रतिक्रिया