जंगली हात्तीले गाउँमा आतंक

राजविराज : कोसी टप्पु वन्यजन्तु आरक्षबाट निस्किएका जंगली हात्तीले सप्तरीको पूर्वी क्षेत्रका दर्जन गाविसमा आतंक मच्चाएको छ । हात्तीले राति–राति गाउँ प्रवेश गरेर घर भत्काउने, खाद्यान्न, लत्ताकपडा तथा भाँडाकुँडालगायत सामग्री नष्ट गर्ने क्रम बढ्दै गएपछि सर्वसाधारण पीडित बनेका हुन् ।
जंगली हात्तीले शुक्रबार रातिसमेत भारदह–१ का शिवजी सुतिहार, बालकृष्ण अधिकारी, पनाई खङलगायत आधा दर्जन स्थानीयको घर भत्काएर क्षति पुर्‍याएको छ । दर्जनको संख्यामा आएका हात्तीले घरमा रहेको अन्नपात, तरकारी खेती, धानबाली तथा केरा खेतीसमेत नष्ट गरेको पीडितले बताए । १५ दिनयता हात्तीको आक्रमणमा परेर थुप्रै घर भत्किएका छन् । जंगली हात्तीले भारदह, पोर्ताहा, बरमझिया, कञ्चनपुर, बैरबा, २ नम्बर योगिनिया, जगतपुर, धरमपुर, कमलपुर, ओद्राहा, फत्तेपुर तथा उदयपुरका तपेश्वरी, रामपुरलगायत स्थानमा समेत दु:ख दिइरहेको उनीहरूले बताए । (सौस)

प्रतिक्रिया