डरलाग्दा डिभाइडर

 

 

काठमाडौं, २९  मंसिर । राजधानीका सडकमा राखिएका डिभाइडरले दुर्घटनाको जोखिम बढाइरहेको पाइएको छ । डिभाइडरमा सवारीसाधन ठोकिएर हालसम्म १ सय ८९ दुर्घटना भइसकेका छन् जसमा आठ जनाको मृत्यु भएको छ ।
ट्राफिक नियम मिचेर जथाभावी सवारी चलाउनेहरूलाई नियन्त्रण गर्न डिभाइडर राख्नुपरेको हो । अहिले राजधानीका सडकमा अधिकांश सिमेन्टेड डिभाइडर राखिएका छन्, जसमा ठोकिनेबित्तिकै मान्छेको ज्यानै जाने खतरा हुन्छ । विशेषगरी २० वर्षदेखि ३५ वर्षसम्मका युवा सवारी चालकले तीव्र गतिमा चलाउने गर्नाले बढी दुर्घटना हुने गरेका छन् ।
महानगरीय ट्राफिक प्रहरीको तथ्यांकअनुसार डिभाइडरमा ठोकिएर सवारी दुर्घटनामा पर्नेमध्ये अधिकांश पुरुष नै छन् । दुर्घटनाको मुख्य कारण चालकको लापरवाही नै रहेको ट्राफिक प्रहरीको ठम्याइ छ ।

यसरी सवारीसाधन डिभाइडरमा ठोकिएर
अत्यधिक दुर्घटना साँझमा हुने गरेको छ । राजधानीका पक्की र भित्री सहरका ठाउँ–ठाउँमा सडक भत्केकाले पनि धेरै दुर्घटना बढाएको छ ।
बिहान कार्यालय समय र साँझ कार्यालयबाट घर फर्किने समयमा राजधानीमा खटिएका ११ सय ट्राफिक प्रहरीलाई ट्राफिक व्यवस्थापन गर्न धौ–धौ पर्छ । सडकको चाप र सडक खुकुलो देख्नेबित्तिकै सवारीसाधन कुदाउने प्रवृत्तिले पनि राजधानीका सडक असुरक्षित बन्दै गएको पाइएको छ । ट्राफिक प्रहरीका अनुसार सबैभन्दा बढी दुर्घटना हुने सवारी कार तथा जिप हुन् भने दोस्रोमा मोटरसाइकल पर्छ ।
राजधानीमा धेरै असुरक्षित डिभाइडर रहेको महानगरीय ट्राफिकमहाशाखाका प्रवक्ता पवन गिरी स्विकार्छन् । ‘हुन त राजधानीजस्तो सहरमा सिमेन्टेड डिभाइडर नै नहुनुपर्ने हो,’ उनी भन्छन्, ‘तर हामी नेपालीलाई जहाँ पनि तानेर सिकाउनुपर्ने भएका कारण डिभाइडर नभई हुँदैन ।’ राजधानीका सडकमा वाटर हिल टेक अर्थात् पानी वा बालुवा भरेर प्लाष्टिकबाट बनेका डिभाइडर राख्नुपर्ने उनको विचार छ । सिंहदरबारको प्रमुखद्वारमा रहेका सडकमा ‘डेमो’का रूपमा यस्ता डिभाइडर प्रयोगमा ल्याइएको छ ।
जापानी सरकारको सहयोगमा निर्माण भएको लोकन्थली सडकमा सिमेन्टेड डिभाइडर र फलाममा गमला राखिएका छैनन् जुन अति नै असुरक्षित हुन् । पुतलीसडकमा गमला राखिएका डिभाइडर भएर पनि हतारमा रहेका मानिस प्वालबाट छिरेर बाटो काटिरहेका हुन्छन् । जमल, कान्तिपथमा गमलासहित फलामको डिभाइडर बनाएर राखिए पनि ती सुरक्षित छैनन् । एउटा सवारीसाधन अचानक डिभाइडरमा ठोकिँदा अरू सवारीसाधन पनि दुर्घटनामा पर्न सक्ने सम्भावना रहेको महाशाखाका पवक्ता गिरीको भनाइ छ । अहिले भने सडकका डिभाइडरमा ठोकिएर हुने दुर्घटनामा केही कमी आएको उनी बताउँछन् ।
‘ठूला सहरका लागि रोड मार्किङ उपयुक्त हुन्छ तर राजधानीमा सिमेन्टेड डिभाइडर राख्नुपर्ने बाध्यता छ,’ प्रमुख डिआजी उपेन्द्रकान्त अर्याल भन्छन्, ‘सडकमा पैदल यात्रु र सवारीचालकलाई अनुशासनमा बाँध्नका लागि डिभाइडर अत्यावश्यक छ ।’ काठमाडौंको ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीको संख्या अपुग रहेको पनि महाशाखाका प्रमुख अर्यालको भनाइ छ ।

प्रतिक्रिया