‘यही सरकारलाई सहमतिको स्वरूप दिन सक्नुहुन्छ’

पोखरा १७ मंसीर । राष्ट्रपति डा. रामवरण यादवले नयाँ राष्ट्रिय सहमतिको सरकार निर्माणमा दलहरूबीच सहमति नभए यही सरकारलाई सहमतिको सरकारमा परिणत गर्न आग्रह गरेका छन् । नयाँ राष्ट्रिय सहमतिको सरकार नभए बाबुराम भट्टराई नेतृत्वको सरकारलाई भए पनि सहमतिको सरकारमा परिणत गरेर मुलुकलाई निकास दिनुपर्ने उनको सुझाव छ ।
शनिबार पोखरामा चौथो राष्ट्रिय एड्स सम्मेलन उद्घाटन गर्दै राष्ट्रपति डा. यादवले सरकारले आगामी वैशाखमा चुनाव गर्छु भनेर प्रतिबद्धता जनाएकाले त्यसलाई साकार गर्न नयाँ सहमतिको सरकार गठन या यही सरकारलाई सहमतिको सरकारमा रूपान्तरण गर्नुपर्ने बताए । ‘वैशाखमा चुनाव गर्छु भनेर सरकारले भनेको छ,’ उनले भने, ‘वैशाखमै चुनाव होस् र सबै उपलब्धि संस्थागत गर्न सकियोस् भनेर सहमतिको सरकारमा जोड दिएको हो ।’ उनले थपिएको सात दिनभित्र राजनीतिक दलहरूले सहमति गरेर मुलुकलाई निकास दिने विश्वाससमेत व्यक्त गरे । आफूले कुनै हस्तक्षेप नगरी राष्ट्राध्यक्षको नाताले दलहरूलाई हात जोडेर निकास निकाल्न आग्रह गरेको उनले बताए । आफू जनताको छोरा राष्ट्रपति भएका बेला आन्दोलनको उपलब्धि संस्थागत गर्न नसके अरूलाई दोष दिन नसुहाउने भएकाले निकास निकाल्न दश औँला जोडेर दलहरूलाई बिन्ती गरेको उनको भनाइ छ ।
विदेशीले नेपालका नेतालाई परिवर्तन ल्याउन सक्ने तर त्यसको संस्थागत गर्न नसक्ने भनेर टिप्पणी गर्न थालेको उल्लेख गर्दै राष्ट्रपति डा. यादवले परिर्वतन मात्रै होइन, परिवर्तनलाई संस्थागत गर्न सक्षम छौँ भनेर देखाउन नेताहरूलाई आग्रह गरे । नेपालीहरू मिलेर परिवर्तनलाई संस्थागत गर्न सक्छ भन्ने उदाहरण देखाउन सबै दल एक हुनुको विकल्प नरहेको उनको भनाइ छ । गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताजस्ता प्राप्त उपलब्धिलाई गुम्न नदिन चुनावमार्फत निर्वाचित निकायले संविधान निर्माण गराउनेतर्फ अगाडि बढ्न अब ढिलाइ गर्न नहुनेमा उनको जोड छ ।

प्रतिक्रिया