नेबैलि चेसकप उपाधि होड खुला

काठमाडौं : नेपाल बैंक लिमिटेड खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताका दुई चरण बाँकी रहँदा उपाधि होड खुला भएको छ । नौ चरणको खेलमा सात चरण सकिँदा ६ खेलाडी समान ५.५ अंकसहित शीर्षस्थानमा छन् । संयुक्त अग्रता कायम गर्नेमा शीर्ष वरीयताका केशव श्रेष्ठसहित राष्ट्रिय च्याम्पियन फिडे–मास्टर मनीष हमाल पनि रहेका छन् । यसैगरी, चौथो दिन बुधबार छैटौँ र सातौँ चरणका खेलहरू सम्पन्न भए । सातौँ चरणको समाप्तिमा हमाल र पूर्वनेपाल च्याम्पियन बद्रीलाल नेपाली प्रतिस्पर्धामा छन् । यसैगरी दोस्रो वरीयताका सुरवीर लामा, गोल्डेनगेट कलेजका यु–१९ राष्ट्रिय च्याम्पियन रूपेश जैसवाल र मकवानपुरका कृष्ण थापा पनि समान ५.५ अंकसहित अग्रस्थानमा छन् । मनीषले छैटौँ चरणमा ध्रुवतारा क्लबका निरज निरौलासँग बराबरी गरे भने सातौँमा ओलम्पियाड भेट्रान राजेन्द्रप्रसाद श्रेष्ठलाई हराए । कालो गोटी लिई कारोकान डिफेन्स प्रणालीमा आक्रामक खेल खेल्दै मनीषले सातौँ चालमा घोडा बलिदान दिएका थिए । फलस्वरूप निरन्तर दबाब झेलेका राजेन्द्रले ३८औँ चालमा खेल परित्याग गरे ।
त्यस्तै बद्रीले दुवै खेल बराबरी गरे । उनले छैटौँमा रूपेश र सातौँमा कृष्णसँग बराबरी गरे । केशवले छैटौँ चरणमा हिमालयन चेस क्लबका प्रेमकृष्ण महर्जन र सातौँमा गोल्डेनगेट कलेजका मदनकृष्ण कायस्थलाई पराजित गरे । रूपेशले सातौँ खेलमा पूर्वनेपाल च्याम्पियन नवीन तण्डुकारसित बराबरी खेले । उता सुरवीरले छैटौँमा मदनकृष्णसित बराबरी गरेका थिए भने सातौँमा एभरेस्ट चेस क्लबका विवेक लामालाई हराए ।
नेपाल बैंक लिमिटेडको ७६औँ वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा ५ अंक प्राप्त गरी संयुक्तरूपमा दोस्रो स्थानमा रहेका खेलाडीहरूमा नवीन तण्डुकार, मदनकृष्ण, भेट्रान च्याम्पियन रवीन्द्र शाक्य, निरज निरौला, मच्छिन्द्र क्लबका श्यामसुन्दर श्रेष्ठ र विराटनगरका पूर्णराज खड्का छन् ।
नेपाल बैंक केन्द्रीय प्रशिक्षण केन्द्र, कोपुन्डोलमा सञ्चालित खेलमा गोल्डेनगेटका हिमाल लामा, विवेक लामा र प्रेमकृष्ण महर्जनले समान साढे ४ अंक हासिल गरेका छन् । त्यस्तै, ४ अंक प्राप्त गर्नेहरूमा फिडेमास्टर सुजेन्द्रप्रसाद श्रेष्ठ, भेट्रान राजेन्द्रप्रसाद श्रेष्ठ, सीताराम अग्रवाल, ललितपुरका राजु ताम्राकार, चेतनशील समाजका राजु शाक्य, सप्तरीका भुवनेश्वर चौधरी, चितवनका सन्तोष गौतम, भक्तपुरका उमेश सैँजू, दामोदर गाइँजू, रुकुमका मिलन रोका, सुनसरीका मणिराज डाँगी र काभ्रेका कृष्णप्रसाद श्रेष्ठ छन् ।

प्रतिक्रिया