दुई साताअघिको आइतबार काभ्रे जिल्ला विकास समितिको कार्यालयमा उर्जा शाखामा छिर्न लाग्दा एक अधबँसेले मलाई सोधे, ‘ए भाइ मलाई डाँडापारीको डाँडागाउँका सचिवको नम्बर भनिदिनुस् न ।’ जिविसको ढोका अगाडिकै सूचना पाटीमा टाँसिएको नम्बर मैले भनिदिएपछि उनले फेरि आफू पढेलेखेको मान्छे नभएको भन्दै कागजमा लेख्न भने र लेखिदिएँ । मलाई उनको कामबारे जिज्ञासा लाग्यो र सोधँ, सचिव केका लागि चाहियो र तपाईंलाई ? उनले जग्गाको सिफारिस चाहिएको र गत शुक्रबार आउँदा सचिव नभेटिएको गुनासो पोखे । बिहीबार सबेरै हिँडेका उनी शुक्रबार बिहान मात्र धुलिखेल आइपुगेका रहेछन् । धुलिखेलमा सचिव खोज्दाखोज्दै नभेटेपछि शुक्रबार उनको दिन बित्यो । शनिबार बिदा भएकाले उनी आइतबार आउँदा कसैले जिविसको सूचना पाटीमा सचिवको मोबाइल नम्बर हुने बताएपछि यी डाँडागाउँका साइला तामाङ जिविस आइपुगेका रहेछन् । उनले सचिव भेट्नै गाह्रो भएको र सहरमा आएर होटेलमा धेरै खर्च भएको गुनासो पनि पोख्न भ्याए । गाउँमा सचिव नगएको र सहरमा पनि नभेटिएको उनको पीडा सुन्दै म उर्जा शाखाको कार्यालयभित्र छिरेँ । केही कुरा गरेपछि म बाहिर निस्किएँ ।
बनेपा फर्कदा डाँडागाउँदेखि धुलिखेलसम्मको पीडाको चित्र मेरो मनमा आयो । पटकपटक पत्रकारिताको क्रममा डाँडापारी गएको र काभ्रेको कर्णाली डाँडापारी र डाँडापारीको पनि कर्णाली नामले चिनिने डाँडागाउँको पीडासँग म परिचित थिएँ । एकपटक हिड्ने बाटो अप्ठेरो भएकै कारण ऋण काटेर हेलिकोप्टर रिजर्भ गरी भाङ्टारबँेसीमा चाउखोला लघु जलविद्युत्को उपकरणहरू लिएर जाँदाको अनुभव मात्र होइन, पटकपटक यातायात, सञ्चारलगायतका सुविधाबाट वञ्चित डाँडापारीको त्यो ठाउँ ठूलो कष्टका साथ पुगेको स्मरण पनि मसँग ताजै छ । त्यहाँबाट सदरमुकाम धुलिखेल आउन झण्डै १२ घण्टाभन्दा बढी हिँडेर कामीडाँडा आइपुग्नुपर्छ र त्यहाँ पनि मोटर नपाएमा थप २ घण्टाभन्दा बढी हिँडेर खोपासी आइपुग्नुपर्छ । अहिले काठमाडौंमा बसेर जलविद्युत्लाई बिट बनाई पत्रकारिता गरिरहेको मेरो दिमागमा सरकारले हालै ल्याएको लोडसेडिङ न्यूनीकरण कार्ययोजनाको याद आयो । शनिबार एक दिन बिदा हुँदा त डाँडागाउँका साइला दाइले पीडा पाएका छन् भने लोडसेडिङ न्यूनीकरण कार्ययोजना अन्तर्गत आगामी कात्तिक १५ गतेपछि हप्ताको दुई दिन अर्थात शनिबार र आइतबार बिदा हुँदा धेरै साइला दाइहरूले कति पीडा पाउने हुन् ?
अधिकांश विकट र ग्रामीण क्षेत्रमा बिजुली पुगेको छैन । त्यो संख्या ६५ प्रतिशत भन्दा बढी छ । विद्युत् नपुगेका लागि लोडसेडिङ हुनु र नहुनु ‘कागलाई बेल पाक्यो, हर्ष र विस्मात्’ भने जस्तै हो । यातायात, सञ्चार, स्वास्थ्य, शिक्षालगायतका पूर्वाधारबाट टाढा रहेका उनीहरूको जिन्दगी अँध्यारो छ । मोटर देख्न सहर पुग्नुपर्छ, मोबाइल फोन गर्न डाँडातिर कुद्नुपर्छ, स्वास्थ्य केन्द्र र उच्च शिक्षा लिन सहर धाउनुपर्छ र विद्युत्को उज्यालो देख्न पनि सहर पुग्नै पर्छ । गाउँमा सचिव नपुग्ने हुनाले सामान्य सिफारिसदेखि सबै काम गर्न सहर नपुगी धर नै पाउँदैनन् । सहर पुगेपछि गाविस सचिव नभेटिने, सरकारी कार्यालयका अधिकृत नभेटेर वा गोष्ठी, सेमिनारमा पुगेर दिनभरि कुर्नुपर्ने अर्को बाध्यता त उनीहरूसँग छ नै । बिजुली नभएर अन्धकारमा बसेका विकटका धेरै सर्वसाधारणलाई आफूलाई जनमुखी भन्ने सरकारले अर्को पीडा थपिदिँदैछ, ‘हप्ताको दुई दिन बिदा’ । लोडसेडिङ समस्याको पीडामा छ सहर तर त्यो पीडाको भागीदार सरकारले तिनै विकट र दुर्गमका सर्वसाधारणलाई थोपर्दै छ । जस्ले बिजुली बाल्न पाएका छैनन् । अब, विकट क्षेत्रका बासिन्दा बिहीबार वा शुक्रबार आएर गाविस सचिव वा तालुकदार सरकारी कार्यालयका हाकिम नभेटेमा आइतबार वा सोमबारसम्म बस्नुपर्नेछ, जसको कारण गरिबी, अशिक्षा र अभावले बढी ग्रसित विकट बासिन्दाको ढाड सेकिनेछ । एउटा नागरिकता सिफारिस वा अन्य सिफारिसका लागि आउँदा हजाराँै खर्च गर्नुपर्ने छ । सरकारी योजनाको कारण हिउँदमा लोडसेडिङ कम भएर सहरबासीले केही राहत त पाउनेछन् तर अधिकांश विकट गाविसका बासिन्दाका लागि यो वाध्यताले ठूलो आहत बनाउनेछ, ठूलो पीडा थप्नेछ । पहिला गाउँ आफ्नो आधार इलाका भएको र विकटतामा पार्टी हुर्केको बताउने बाबुराम भट्टराई अहिले प्रधानमन्त्री छन् । ऊर्जा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रम भट्टराईको हप्ताको दुई दिने बिदा दिने निर्णयले सहर र सरकारी कर्मचारी त खुसी नै छन् तर विकट गाउँका बासिन्दाको मन नराम्रोसँग कुडिन थालेको छ । बिजुली नपाउने ६५ प्रतिशतभन्दा सहरका ३५ प्रतिशत जनताका लागि उनले गरेको निर्णयले अधिकांश जनतालाई पीडा थपिँदै छ । महिनाको एकदिन विकट गाउँमा बस्ने सकारात्मक अभियान सुरु गरेका उनले मोटर नजाने र धेरै विकासका पूर्वाधारबाट वञ्चित गाउँलाई भन्दा सहरबासीलाई प्राथमिकता दिन थालेका छन् । युद्धको क्रममा गाउँगाउँ पुगेका र पछिल्लो समय सिंहदरबार छिरेका प्रमले गाउँका साइला दाइहरूको पीडा बिर्सन मिल्छ र ? सत्ता, शक्ति र सुखमा भुलिएका प्रमले हप्ताको दुई दिन सरकारी बिदा दिँदा सहरबासीलाई मस्ती र गाउँलेलाई सास्ती हुने तीतो यथार्थतालाई बिर्सिएका प्रधानमन्त्रीलाई कसरी गाउँलेका प्रिय नेता भन्ने । हप्ताको एकदिन बिदा हुँदा साइला दाइले पाएका पीडा सम्झेर प्रमसँग यही प्रश्न गरिरहेको छु, ‘बिजुली बाल्ने सहरबासीका लागि सामान्य सरकारी सेवा लिन सदरमुकाम धाउनुपर्ने विकटका सर्वसाधारणलाई किन सास्ती दिने ?’
प्रतिक्रिया