दैवी समानता र गोपालको दसैँ

घटस्थापनाको बिहान, म बनेपामा छु, शिव मन्दिर परिसरबाट घण्ट ध्वनित भइरहेछ, पूजाथाली बोकेका गृहिणीहरू आउने र फर्किनेक्रम यथावतै छ, बाटोको छेवैमा एकदुई कुकुर आङ् कन्याइरहेछन् । मन्दिरको पेटीलाई सिरानी पारेर एउटा मानिस अर्धचेत सुतिरहेछ, वरिपरि टुमुक्क कसिएका एकदुई झोला छन्, सँगै छे उसकी जहान झक्झक्याइरहेकी । ‘उठ्नुस्, हेर्नुस् त बाबु यहीँ आइपुगिसक्यो’ पल्टेको लोग्नेको काँधउपर हत्केला छिराएर एकोहोरो आफ्ना कुरा मात्रै भन्छे ऊ । बिहानै नशामा छ, ऊ सुन्दैन । निधारउपर चन्दन लगाएर फर्केका एकथरी दर्शनार्थी घेरा लाग्छन् ।
‘के भएको ?’ घेरावाट कसैको आवाज आउँछ ।
‘हुर्नुस् न बिहानै……..’ सबै कुरा भनिन् उसले, अनुहारमा पोतिएको चिन्तालाई बनावटी लाजले छोपी मात्रै ।
‘सधैँ यस्तै हो ?’ मैले सोधेँ । ‘होइन हजुर, उता उदयपुरमा एउटा घर थियो त्यो बेचेर फर्केको, नाइटबसले बिहान मात्रै यता ल्याइदियो, बसबाट झरेर खान थाल्नुभो’ उसलाई ब्यँुझाउन भन्दा भिडका प्रश्नहरू छिचोल्ने चिन्ताले सताउन थाल्यो त्यस आइमाईलाई । ‘नाम के हो, के गर्नुहुन्छ यहाँ ?’ मैले एकैपटक दुईवटा प्रश्न सोधेँ, कारण चिन्तामग्न उसको मनोदशामा अझ पीडा दिन मन थिएन । ‘घर बनाउने ज्यामीको काम गर्नुहुन्छ, नाम गोपाल श्रेष्ठ हो, हाम्रो गाईघाटमा सानो घर थियो, यता दसैँ पनि चल्नै नसक्ने भएपछि बेचेर फर्केको’ प्रश्नले मागे भन्दा बढी नै उत्तर दिइ उसले । आफूले जानेका एक एक थान अर्ती दिएर दर्शनार्थीको भिड पातलियो, नजिकै आङ् कन्याइरहेका कुकुरको बथान आपसमा भिड्दै पर्तिर बतासियो, म हेरिरहेँ ।
परम्पराको जकडता र जीवनका कष्टबीचको दुरी पहिल्याउन यसबखत मलाई निकै कष्ट भइरहेछ । ‘भर्खरै दर्शन गरेर फर्केका देवता छन् के ?’ मनमा उब्जेको प्रश्न हो यो, ‘देवताले आफ्ना शौखले मानिसको रचना गरेको भए किन एकै प्रकारको जीवन दिएन उसलाई ?, वा मानिसले आफ्नो सन्तुष्टिका लागि मात्र देवता स्थापना गरेको हो ?’ देवताकै आँगनमा थरीथरीका मानिसहरू देखेपछि मनमा कैयन प्रश्नहरू उब्जे र निरुत्तर सेलाए ।
जीवनका सुख र दु:ख के हुन् आपैँmले बुझेको छैन र बुझेका सत्यहरू पनि एकपछि अर्काे फेरिँदै गएका छन्, कसरी पहिल्याउनु सत्य ? एउटै दसैँ मानिसहरूका लागि किन बेग्लै छ ? पूजा गरेर फर्कंदै गरेकी एक गृहिणी र हातले जतनसाथ उसको कान्छीऔँला पक्डेर गएको एक बालक पनि यसै बेला देखिरहेको छु । मुहारमा बेग्लै प्रकारको आभा छरिएको छ त्यो बालकको र एउटा अपूर्व सन्तुष्टिले ऊ उल्लासित पनि छ । तर, गोपालकी पत्नी आफ्नो बालक छोरा आइपुगेको बताएर गोपालको अर्धचेतलाई ब्यँुझाउन खोजिरहेकी छ । कति भिन्न छन् ती दुई बालकको जीवन र उनीहरूले मनाउने तयारी गरिरहेको दसैँ † म आफ्नो शिशुकालीन दसैँ सम्झन पुग्छु ।
०००
दसैँ आउँथ्यो, आकाशवाट बादलका घना चकालाहरू हट्नथालेपछि । आँगनमा रुखवाट बिहानै पारिजात फूलको वर्षा हुन्थ्यो, शीतपातले बनस्पतीका मुनाहरू लत्रिन्थे । सन्ध्याकालमा सगरमा बादल डढेको, जो हामी डाँडामा बसेर हेथ्र्याैं, सूर्य अस्ताउँदा पहँेलो बनेको आकाश र धर्तीको मिलनभूमी क्षितिज, फाँटमा पहँेलपुर भएको धानको प्रतिबिम्ब परेको हो कि भैँm लाग्थ्यो । कमेरो र रातोमाटोले भर्खर पोतिएका सेता, राता घरहरू, पूजा कोठामा धूपबत्तीको बीचमा राखिएको दुर्गाको तस्बिर, बाहिरतिर चिउरामिलबाट आएको चर्काे वासनाबीच हामी आ–आफ्ना घरका खसीबोकाको नापजोख र वर्णन गरिरहेका हुन्थ्यौँ । उस्तै केटाकेटीहरूको असमान दसैँ म त्यतिबेला बुझ्न सक्दिनथेँ । शिशुकाल सपना, योजना, त्रास र कुण्ठा कुनै पनि बन्धनले नबेरिएको समय, जीवनका जटिलताहरू बुझ्न नसकेको काल केही दसैँहरू एवं रितले आइरहे गइरहे, यो दसैँ, अर्काे दसैँ, झन् अर्काे र अरू केही अर्काे दसैँहरू भएर । बितेका ती समयमा कति आत्मीय प्रौढहरू गुमाउँदै गइयो, कतिलाई धर्तीमा स्वागत गरियो सनातन ।
ईश्वरीय निर्भरता र ईश्वरले दिएको खुशीको समानताउपर मेरो विश्वास धमिलियो र त्यसै क्रममा मैले बुझेँ समाजको आर्थिक आयाम जसले एउटै दसैँ मानिसहरूका लागि बेग्ला बेग्लै भइदिएको छ । हिजो अकाट्य ठानेको सत्य, दसैँ परिवार, संस्कृति र समाजिक सम्बन्धको विनिमय हो । तर, आज लाग्छ सत्य त्यति मात्र होइन, यसका आर्थिक आयामहरू छन्, घर बनाउने ज्यामी, वर्षाैं सहरमा घर बनाइरहन्छ, दसैँको बोझ थेग्न नसकेर आफ्नो घर बेच्छ र पीडालाई एक घुट्को रक्सीले पखालेर देवताको आँगनमा पल्टिन्छ । हेर्दा उस्तै लाग्ने दसैँहरू उत्पादन, वितरण र उपभोगका अर्थराजनीतिक आयामहरूले बेग्ला बेग्लै लागिरहेछन् । म आज अनुभूत गरिरहेको छु, छोरा डोर्‍याएर मन्दिरबाट जाने त्यो आइमाईको दसैँ, गोपालको दसैँ र मेरो दसैँ †
०००
वर्षमा मुस्किलले दुईतीन पटक मलाइ गाउँ घुम्ने अवसर हुन्छ, रहरले, पेशाले र युगले आविष्कार गरेका आधुनिक नयाँ सपनाले म सहरमा छु । एक दिन आफ्नै जन्मगाउँ घुमेर फर्कंदा गाउँको बदलाव देख्छु । बाटो खुलेपछि गाउँमा खेपका खेप गाडीहरू पुगेका हुन्छन्, बिहानै दूध र केही अनाज बोकेर सहर छिरेको मालबाहक गाडी बेलुकी चामल, चिनी, ढुटो, सिलप्याक रक्सी र शृंगारका प्रसाधन लिएर गाउँ फर्कन्छ । गाई भैँसीले गोठहरू टनाटन छैनन् रित्तिदैछन्, झुप्रै भए पनि घरका बगलमा मोटरसाइकल अड्याएर राखिएका छन् । करेसाबारी हरियाली नै छ तर, घरदेखि टाढाका खेतहरू बाँभिँmदैछन् । जीर्ण शरीर र शुष्क सम्झनाहरू मात्र बाँकी रहेका बृद्ध बृद्धाहरू गाउँमा छन्, वलिष्ठ पाखुरी भएकाहरू कि त सहर पसेका छन् कि विदेशी भूमिमा पसीना चुहाउँदैछन् । डाँडामा उभिएर हेर्दा नागवेली देखिने कच्ची सडकले गाउँलाई सहरसँग जोडेको छ र त्यही वाटो हुँदै सहरको उपभोक्तवादी संस्कार र बजारको चरित्र पनि गाउँ छिरेको छ । जमिनले धान्न नसकेको जीवनआधार बलियो बनाउन हरेक युवाले नयाँ वाटो खोजेको गाउँ पस्दा देख्न सकिन्छ, आफूसँग भएको सीप र शिक्षाको साधन बोकेर ऊ सहर छिर्छ र अझ अलिकति घरखेत बेचेरै भए पनि ऊ विदेशिन्छ । लाग्छ, जीविकोपार्जनको पुरानो पद्दति फेरिएको छ र त्यस सँगै मानिस समाजको नियन्त्रणबाट बजारको नियन्त्रणमा पुगेको छ । दु:ख हुँदा, सुख हुँदा मानिस कूल–कुटुम्ब, नातेदार र आफन्तकहाँ जान छाडेको छ । घरबाट निस्केपछि ऊ सिधँै बजार पुग्छ र जीवनको नाफा–नोक्सान बजारले नै निर्धारण गरिदिन्छ । सहरमा बसेर घर बनाउँने ज्यामी काम गर्दाको नोक्सान आफ्नो घर बेचेर चुक्ता गरेजस्तै हर मानिस सहरसँग आफ्नो जीवनको हिसाव–किताव गरिरहेको हुन्छ ।
लक्ष्मीप्रसाद देवकोटाको मुनामदनमा जस्तो, भोटबाट मदन फर्कदा अब मुना उसलाई गाउँमै पर्खेर बसेकी छैन, आजका मदनहरू अरब र मलेशियामा कम्पनी आर्जन गरिरहेका छन् र मुनाहरू आफ्नो सामथ्र्यको नापजोख गर्दै सहरतिरै नयाँ सपना फुलाइरहेछन् । बजारले नियन्त्रण गरेको जीवनको समुद्रमा पौडन जान्नेहरू, दसैँको निरन्तर सनातनमा छोराछोरी डोहोर्‍याएर मन्दिर घुमेका छन् र पौडन नजान्नेहरू घटस्थापनाकै दिनदेखि घर बेचेर रक्सीमा डुबेका छन्, लाग्यो यो जीवनको रित हो । ईश्वर उहिल्यै पनि थिए र नित्य छन् । मलाई भने ईश्वरकै सामु बदलिएका दसैँहरूको लेखाजोखा गर्न मन लागिरहेछ, ‘कसका दसैँ कस्ता हुने यसको नापजोख ईश्वरले होइन समाजको आर्थिक व्यवस्थाले गर्ने रहेछ’ मन्दिरमा घन्टको ठूलो आवाज गुन्जिएपछि तन्द्रा भंग भयो र गोपाल सुतेको त्यस ठाउँवाट हिडेँ म ।

प्रतिक्रिया