दसैँ र समाज

दसैँलाई हिन्दूको महान् चाड भन्ने गरिन्छ । कसैकसैले यसलाई नेपालीको महान चाड पनि भन्ने गर्दछन् । विशेषत: काठमाडौं उपत्यकालगायत मध्यपहाडी भेकमा हुर्केकाको स्मृतिमा आफूले सानो छँदा मनाएको दसैँको छाप गाढासँग बसेकै हुन्छ । हामीले यदाकदा सुन्ने गरेका नै छौँ, ‘पहिले–पहिले दसैँ खुबै रमाइलो हुने गथ्र्यो, अहिले त दसैँको रौनक नै हरायो ।’ तर, त्यस्तो किन हुँदै गयो ? दसैँको महत्त्व कम भयो या यसको अर्थान्तर भयो ? यसै सेरोफेरोमा दसैँको सन्दर्भलाई अलि अपरम्परागत कोणबाट यहाँ चर्चा गर्ने जमर्को गरेको छु ।
‘हिन्दूमात्रको महान् चाड दसैँ’ बाट प्रसंग सुरु गरौँ । अथवा, यसो भनौँ यस प्रश्नबाट सुरु गरौँ । के संसारभर फैलिएका हिन्दूको कुल जनसंख्याको अधिकांश हिस्साले दसैँलाई आफ्नो महान् चाड मान्छन् होला ? कि तुलनात्मकरूपले सानो हिस्साले मात्र दसैँलाई आफ्नो प्रमुख चाडका रूपमा मान्दछ ? नेपालकै सन्दर्भमा पनि हिन्दूको ठूलो हिस्सा जो नेपालको तराईमा बसोबास गर्दछन् उनीहरूका लागि दसैँ काठमाडौंमा भनिएभैँm, काठमाडौंले मानेभैँm महान् चाड वा मुख्य पर्व होइन । तब, यो कसरी शाश्वत ‘हिन्दूमात्रको महान् चाड’ बन्न पुग्यो त ? यस प्रश्नको उत्तर खोज्नेक्रममा हामी केही हदसम्म दसैँलाई ऐतिहासिक र बृहत्तर अर्थमा बुझ्ने प्रयत्न गर्नुपर्ने हुन्छ । जे भनिए पनि, जे भए पनि, दसैँ धेरै नेपालीलाई प्रभाव पार्नसक्ने, पार्ने गरेको एउटा प्रमुख चाड भने हो । त्यस्तो किन होला ? बहसका लागि यिनै प्रश्नका वरिपरि केही विमर्श गरौँ ।
इतिहासमा जहिले पनि शक्ति र सत्तामा रहेकाले साधारण मानिसको जीवन व्यवहारमा अभिन्न अंग बनेर बसिसकेका चाड–पर्व, महोत्सव, बानी–व्यवहार, मूल्य–मान्यता र प्रचलनलाई आफ्नो अनुकूल बनाउने, आफ्नो परिभाषामा ढाल्ने र अन्तत: आफ्नो शक्ति र सत्ताका लागि सामाजिक मान्यता आर्जन गर्ने र तिनको निरन्तरताका लागि उपयोग गर्ने गर्दछन् । हाम्रो सन्दर्भमा, दसैँलाई पनि त्यसैगरी र हिन्दू मिथकको उपयोग गरी, राज्यको धर्मअनुकूल बनाएर आफ्ना लागि राजनीतिक, सामाजिक, सांस्कृतिक मान्यताको पुन:उत्पादन र निरन्तरताको माध्यम बनाइएको हो । एउटा परिकल्पना गरौँ, यदि नेपालको इतिहासमा कथंकदाचित एउटा मध्यपहाडका खस, हिन्दूहरूको बर्चस्व कायम नभई अन्य कसैको बर्चस्व कायम हुन गएको भए पनि दसैँ त हुन्थ्यो तर उक्त समूहको बर्चस्व निरन्तरताको लागि दसैँसँग जोडिएका फरक मिथकहरू हुन्थे, फरक कथा भनिन्थ्यो । तसर्थ, त्यस अवस्थामा शायद दसैँ मनाउने तरिका फरक हुने थियो । किन कि शक्तिशालीहरूले आफ्नो बर्चस्व र हैकम निरन्तरताको लागि सांस्कृतिक उपायहरू अपनाइरहैकै हुन्थे, अपनाइरहेकै हुन्छन् । तसर्थ, त्यतिबेला पनि दसैँ हुन्थ्यो तर फरक मिथकहरूको टेकोमा टेकेर । रामले रावणमाथिको विजय, देवीद्वारा दानवको वधको कथाको साटो त्यस्तै अरू कथाहरू प्रचलनमा रहन्थे र आममानिस त्यसैलाई शास्वत ठानिरहेका हुन्थे ।
तसर्थ, दसैँ हिन्दूको महान् चाड भन्नु राजनीति थियो । हिन्दू एकात्मक राज्यसत्ताको चरित्र अनुरूप दसैँलाई अथ्र्याइएको थियो । परिभाषित गर्न खोजिएको थियो । यसोगर्दा खस क्षेत्रीय, शासक वर्ग र शक्तिसमुदायलाई फाइदा हुन्थ्यो तसर्थ, यसले राज्यको पर्वको रूपमा निरन्तरता पायो र पाइरहेछ । यद्यपि, भन्न त भनिन्छ, नेपाल धर्मनिरपेक्ष राज्य हो भनेर । के धर्म निरपेक्ष राज्यको चरित्रभित्र पर्छ कुनै एउटा धर्म विशेषको पर्वलाई खास राजकीय मान्यत दिनु ?
पृथ्वीनारायण शाहले १८२५ मा उपत्यका कब्जा गरिसकेपछि र यसैलाई आफ्नो विस्तारित भूभागको केन्द्र बनाउने निर्णय गरिसकेपछि गोरखाबाट फूलपाती नुवाकोट दरबारमा नभई हनुमान ढोका दरबारमा भित्र्याउने, बढाई गर्ने प्रचलनका साथ गोरखा राज्यको राजनीतिको निरन्तरता र दसैँलाई राज्यको मूलपर्वको

रूपमा मान्यता पाएको नै हो । सनातनी मिथकहरूको उपयोग पनि यसै सन्दर्भमा बुझ्नुपर्ने हुन्छ यदि ‘हिन्दूमात्रको महान चाड दसैँको राजनीतिक पाटो बुझ्ने प्रयत्न गर्ने हो भने । थप एक प्रसंग हेरौँ । गोरखा राज्यको लिम्बूवानमा विस्तार भएपछि लिम्बूलगायतले समेत दसैँ अनिवार्य रूपमा मान्नु पर्ने, बलिदिनु पर्ने र प्रमाणस्वरूप बलि दिएको पशुको रगतको पञ्जा—छाप घरको मूलढोकामाथि वा भित्तामा लगाई राख्नुपथ्र्यो ता कि राज्यका प्रतिनीधिहरू, बडाहाकिमहरू निरीक्षणमा आउँदा त्यो देख्न सकुन् । त्यसो गर्नु नेपाल अधिराज्यको अन्तर्गत र अधिनमा लिम्बूवान अधिराज्य बसेको लाक्षणिक प्रमाण ठानिन्थ्यो । अन्यथा, राजाज्ञाको अवज्ञा ठानिन्थ्यो, दण्डनीय अपराध मानिथ्यो ।
यस सन्दर्भमा गरिनुपर्ने अर्को विमर्श भनेको दसैँमार्फत हिंसाको संस्कृतिको स्वीकृति तथा यसको राजनीतिक अर्थ पनि हो । यो पाटो कुनै समयको लागि थाँति राखेर अहिले दसैँको अर्को पाटोमाथि केही चर्चा गरौँ ।
दसैँको सामाजिक पाटो
‘हिन्दूमात्रको महान चाड’ भनिने दसैँ परम्पराको सामाजिक र आर्थिक पक्ष आजको सन्दर्भमा दसैँ चर्चाकालागि महत्त्वपूर्ण रहनेछन् ।
सामाजिक अर्थका हिसावले दसैँ सायद सवभन्दा महत्त्वपूर्ण चाड हो, मूलत: तिनकालागि जसले दसैँ मनाउँछन् । दसैँले सामाजिक सम्बन्धहरू र विशेषगरी पारिवारिक मूल्य, मान्यता र महत्त्वको निरन्तरता, पुन:नविकरण, पुन:उत्पादन गरिरहेको हुन्छ । यसले हार्दिकता र सौहार्दताको आदानप्रदान गर्न अवसर प्रदान गरिरहेको हुन्छ । हामी सबैले देखे भोगेकै हौँ कि दसैँकै समयमा टाढा–टाढा सम्म छरिएका, लामो समयसम्म अलग्गिएका परिवारका सदस्यहरू एकाठाउँ जम्म हुने, उपहार र सद्भावको आदान प्रदान गर्ने गर्दछन् । यसर्थ, दसैँको सामाजिक अर्थ केन्द्रीय रहने गर्दछ । अर्का तर्फ यसले विविध आयमका समाजिक असमानता र सामाजिक उच—निचको बिभाजनलाई पनि निरन्तरता दिइरहेको हुन्छ । समाज असमानतामा आधारित छ, समाजमा सामाजिक हैसियत र मर्यादा असमानरूपले वितरण भएको हुन्छ र कमजोरहरू शक्तिशालीप्रति अनुग्रहित हुनु पर्दछ भन्ने अवधारणलाई पनि मान्यता दिइरहेको हुन्छ, संस्थागत गरिरहेको हुन्छ । दलितहरू विष्ट—बराजूकहाँ, मोहीकिसानहरू र हली—हरूवाहरू जमिन्दारकहाँ, गाउँलेहरू मुखियाकोमा, कर्मचारीहरू हाकिमकहाँ, प्रजाहरू राजाकोमा, कार्यकर्ताहरू पार्टी नेताकोमा टीका थाप्न र आशिर्वाद लिन जाने परम्पराले त्यही असमानतामा आधारित समाजिक सम्वन्धहरूको निरन्तरतालाई संस्थागत गरीरहेको हुन्छ ।
सामाजिक सांस्कृतिकपाटोको नै कुरा गरिरहँदा मेरो मनमा उठ्ने अर्को कुरा हो दसैँ र स्त्रीशक्तिको उपासानाको कथा । मलाई लाग्दछ यो हिन्दूधर्मले निर्माण गरेको नारी शक्तिस्वरूपाको मिथक वा भ्रम हो । त्यो किन पनि हो भने दैनिक जीवनका समग्र पाटोमा जुन समाजमा महिलामाथि दमन, थिचोमिचो, हिंसा र असमानता छ त्यसले नारीशक्तिको उपासना गर्दछ, नारीको सम्मान गर्दछ भन्नु नै भ्रम हो । मिथक र पुराणहरूको भरमा गरिने यो एउटा छल हो । दसैँमा नारी शक्तिको उपासना गरिने भएकै कारण आफ्नो सशक्तिकरण भएको, सम्मानित भएको महसुस गर्ने नारीहरू मैले भेटेको छैन । यो र यस्ता अनेक पक्षमा थप बहस र छलफल हुनु वान्छनीय नै होला । अहिले विषयान्तर गरौँ ।
दसैँ र बजार
अहिले दसैँको लागि बजार होइन कि बजारको लागि दसैँ महत्त्वपूर्ण बन्ने गरेको छ । र, यो पाटो सबभन्दा बलशाली र घातक हुँदै आईरहेको छ । ‘आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई’ भन्ने आहान त उहिल्यै देखिकै हो तर मानवरुचिका यावत विषयलाई बस्तुकरण गर्ने, उपभोगको तलतल लगाइदिने र नाफाको माध्यम बनाउने पुँजीवादको चालबाजी यस्ता चाडपर्वताका निकै खुलेको देखिन्छ । र, यो झन् झन् आक्रमक बन्दै आइरहेको छ । अधिकांश कृषकसमुदायमा मुख्यबाली भित्र्याए पछि वा उत्पादनको सुनिश्चितता भए पछि र गैर कृषिक्षेत्र, विशेषत: नियमित जागिरेहरूलाई राज्यले थप खर्चसमेत दिए पछि मनाइने चाड हो दसैँ । यसबेला मानिसहरू तुलनात्मकरूपमा खर्चगर्ने मूड अनि बाध्यतामा हुन्छन् । त्यही मूड र बाध्यतालाई क्यास् गर्दछ बजार । यसैकारण आम मानिसको क्रयसिलता र खर्च ह्वात्तै बढ्ने गर्छ दसैँको लागि, दसैँको बहानामा । यसले शायद अर्थतन्त्रमा गतिसिलता थप्दो हो । सक्नेभन्दा अलि बढी, ऋण नै काढेर भए पनि लोकलाज बचाउन खर्च गर्छन् मानिसहरू दसैँमा । त्यसैले त अहिले पनि धेरै मानिसको नियति हुने गर्दछ, ‘…गयो दसैँ ऋण बोकाई’।
सोझोरूपमा भन्दा दसैँ हुनेहरूले सम्पन्नता प्रदर्शन गर्ने बहाना बन्ने गरेको छ । राम्रो लाउने, मीठो खानेकुरा अब निजी वा घरपरिवार भित्र मात्र सिमित हुन छाडेको छ । यो प्रदर्शनकारी व्यवहार बन्न थालेको छ । यस्तो प्रवृत्तीले एकातिर उपभोक्तावादी संस्कृतिलाई व्यापक र सघन बनाई रहेको हुन्छ भने अर्कातर्फ आर्थिक अपराधलाई पनि उक्साई रहेको हुन्छ ।
माथिका केही बुँदाहरू बहस र छलफलकालागि अघि सारिएका हुन् । मेरो ठहर छ कि हाम्रो समाजिक सांस्कृतिक जीवनको अभिन्न अंग बनिसकेका कुनै पनि चाड पर्व, प्रचलनहरूलाई सांस्कृतिक—ऐतिहासिक, अर्थराजनीतिक कोणबाट विसद् विश्लेषण गरेमामात्र तिनमा निहित अर्थ र सन्दर्भहरू बुझ्न सकिन्छ । उत्पादनका सम्वन्धहरूको फेरबदल, तिनले ल्याउने आर्थिक राजनीतिक परिवर्तनसँगै दसैँजस्ता चाडबाडको अर्थ र महत्त्व पनि फेरिँदै जान्छन् । हामीले पनि देखिरहेकै छौँ दसैँको अर्थान्तर कसरी भइरहेको छ । त्यसैले यदि दसैँलाई आम नेपालीको चाडको रूपमा विकास गर्ने हो भने यसलाई धर्म निरपेक्ष चाडकोरूपमा परिभाषित गरिनु अनिवार्य हुन्छ । ‘हिन्दूमात्रको महान चाडको रूपमा राज्यले संरक्षण गर्ने कुराले दसैँको साख धानी राख्न सकिँदैन ।
र बाँकी कुरा
करिब १० हजार बर्ष पहिले देखि मानव जाति घुमन्ते जीवनबाट क्रमस: कृषियुगमा प्रवेश गर्‍यो । उसले अतिरिक्त उत्पादनगर्न थाल्यो । खाद्यान्न जगेडा, श्रमको बचत, र स्थायी बसोबासको कृषियुगको चरित्र हुन गयो । भारतीय उपमहाद्वीपमा पनि करिब ६ सात हजार बर्ष पहिले त्यस्तो स्थायी बसोबास सहितको कृषिमा आधारीत समाज सुरु भइसकेको मानिन्छ । यसरी, खाद्यान्नको पर्याप्तता, स्थायी बसोबास र फुर्सद एकसाथ हुन थाले पछि मानिसहरू अतिरिक्त उत्पादनको उपयोग, उत्पादित बस्तुहरूको आदानप्रदान, मनोरञ्जनात्मक उत्सवहरूको व्यापकता र संस्थागत हुने क्रम पनि बढ्न थाले । त्यस्ता मनोरंजनात्मक उत्सव पर्वहरूको उद्देश्यमध्ये निरन्तर श्रमकाकारण कमजोर हुँदैगएको शक्तिको पुन:प्राप्ति गर्नु, उत्पादनकालागि प्राप्त श्रमसहयोगका लागि कृतज्ञता र हार्दिकता प्रदान गर्नु, सामाजिक सौहार्दता र बाँडीचुँडी खाने परम्पराको विकास गर्नु पनि हुन्थ्यो । यसैले कृषिमा आधारितहुँदै आएका सबै समाजमा प्रमुख कृषिकार्य सकिए पछि, अझ खासमा त बाली भित्र्याई सकेपछि उल्लास र उत्सवहरू मनाउन थालियो । पृथ्वीको कुनै पनि भूखण्डमा बस्ने मानव समुदाय, जो आज सांस्कृतिक हिसाबले नितान्त भिन्न देखिन्छन्, उनीहरूले पनि यस्ता उत्सव पर्वहरू मनाउँदै आएका छन् । भौगोलिक, पर्यावरणीय अवस्था, श्रोतको उपलब्धता आदिका कारण त्यस्ता उत्सव पर्वहरूमा विविधता देख्न सकिन्छ । क्रमस: राजनीतिक ऐतिहासिक प्रक्रिया र कारणहरूका परिणामस्वरूप त्यस्ता पर्वहरू भूगोल र सांस्कृतिक समुदाय विशेष हुँदै गए । आज हामीलाई लाग्छ ति खास खास समुदायका विशिष्ट पर्वहरू हुन् तर ती कालक्रममा विकास भएका विशिष्ठता भन्दा अलि पर त्यस्ता परम्परा, प्रचलन र तिनका कार्यहरूमा सारभूतरूपमा समानता भएको हामी पाउदछौँ । हामीले नेपालको विशेषत: मध्यपहाडी समुदायले मनाउने दसैँलाई पनि त्यसै सन्दर्भमा बुझ्न सक्दछौँ । समयक्रममा, दसैँले अन्य कुनै पनि परम्परा र प्रचलनले जस्तै धार्मिक, सामाजिक, मान्यता प्राप्तगरी आफ्नो राजनीतिक उद्देश्य पनि पूरा गरिरह्यो भन्ने कुरालाई वोधगर्ने काम कठीन जस्तो देखिएला तर नकार्न पनि उत्तिकै कठीन हुनेछ ।
(लेखक मानवशास्त्री हुन्)

प्रतिक्रिया