रैथाने थलोमा केही त दिउँ !

काठमाडौं खाल्डोको जनचाप एकपल्ट पुन: आधासरो हुँदैछ । अघिल्तिरका चाडबाडको कारण यसो हुंदै गएको हो । काठमाडौंको बजार अत्यन्त न्यून सक्रिय हुनेछ भने मोफसलका बजारमा चहलपहल बढ्ने छ ।
४० लाखको हाराहारीको आवाद काठमाडौं ५० प्रतिशतले जनचाप घट्ने छ । सो अंकभित्र काठमाडौंबाट सबैभन्दा बढी बाहिरिनेमा विद्यार्थी, दोस्रोमा विदेशबाट दसैँ–तिहार मनाउन एवं पारिवारिक पुनर्मिलनको लागि आउनेको संख्या रहलान् । सोही मेसोमा यो खाल्डोबाट कैयौँ डाक्टर, इन्जिनियर, बैंकर्स, राजनीतिक नेता/ कार्यकर्ता, प्रशासक, व्यवसायी पनि आ–आफ्नो रैथाने थलो चाडबाड मनाउन जालान् । त्यसले हाम्रो मुलकको आन्तरिक पर्यटनलाई बढावा मात्र हैन, सामाजिक सद्भावको दीयो बालिरहन घिउ समेत थप्ने काम गर्छ ।
‘तर, यसपालिको दसैँ–तिहारलाई अलि फरक ढंगले मनाउने कि ? भनेर यो पंक्तिकारले मनन् र छलफलको लागि यो विषय उठान गर्ने कोसिस गरेको हो । परम्परागतरूपमा सात्विकले बाहेक खानामा मासु, लाउनमा नयाँ, यात्रामा मन्दिरसम्मको हिँडाइ, देखाउनमा फेसन, मनोरञ्जनमा तास–जुवा, बच्चालाई पिङ, पिउनमा ‘मापसे’ आदि हर्कतले आसन्न चाडपर्वहरू मनाइन्छ, मनाइन्थ्यो । तर, यसपल्ट सो प्राचीन प्रचलनभन्दा पृथक प्रकारले मनाऔँ भन्ने आग्रह गर्न खोजिएको छ ।
ठूला सहरहरू वा विदेशबाट घर फर्केका नागरिकले आ–आफ्नो थलोमा समकालीन विकासबारे छलफल चलाउन सक्नुहुन्छ । आफ्नो ज्ञान, सीप, क्षमता वा हैसियत अनुसार सबैले आफ्नै रैथाने भूगोलको लागि केही गर्नैपर्ने वातावरण बनाउन पहल गर्नु भए, त्यसले दीर्घकालसम्म असर गरिरहन्छ । राज्यबिहिन अवस्थाबाट गुज्रिरहेको नेपाली समाजले राजनीतिक मुखियाहरूबाट अपेक्षा गर्नै छाडिसक्यो । अब पनि भ्रष्ट नेताप्रति धारे हात लगाएर मात्र यो समाज रूपान्तरित हुने छैन । राजनीति बदनाम त भयो नै, नेपाली जाति बडा नामवाला नै छ नि । यो अवसरमा गाउँ फर्कने नेपाली मनहरूले धेर–थोर आफ्नो जन्मथलोप्रति केही न केही गर्नैपर्छ । सकिन्छ भने चाडबाडको मेसोमा फजुल खर्च हुने २–४ पैसा जोगाएर गर्न सकिने सेवाबाट पनि सुरु गर्न सकिन्छ । त्यस्तै, दुर्गम गाउँमा फर्कने डाक्टर वा स्वास्थ्यकर्मीले व्यक्तिगत सरसफाई र हात धुन सिकाएबाट मात्र पनि आफ्नो उपस्थिति देखाउन सकिन्छ । त्यसका लागि श्रम, समय र पैसा धेरै लगाउनैपर्छ भन्ने पनि छैन । चाहियो त केवल– मन र जाँगर । फेरि, यसको अर्थ चाडबाडलाई तनावपूर्ण बनाउने भन्ने पनि होइन ।
समकालीन राजनीतिक ठेकेदार साबहरूबाट अपेक्षा राख्नु त बेकार छ । त्यस्तै भ्रष्टाचारमा निर्लिप्त प्रशासन त अझ डामेर छाडेको साँडे भैँm राज्यकोष मसमिण्डी पार्दैछ । गाउँ– नगरमा भागबण्डालाई पुग्ने गरी पठाइएको सर्वदलीय बजेट पार्टीगत थालथालमा चाटचुट पारेको पार्‍यै छ । दण्डहिनताको कुरै नगरौँ । आफ्नो थात् थलोलाई बासयोग्य बनाउन अब हामीले आपैँmले छातिमा हात राखेर नागरिक कर्तव्यबोध गर्ने हो कि ? यसपालीको दसैँमा गाउँमा भएका भ्रष्टाचारबारे खोजखबर गरेर दोषीलाई दण्ड अभियान चलाएर पनि त मनोरञ्जन गर्न सकिन्छ ।
यसपालीको दसैँ–तिहारलाई औपचारिक शुभकामनाको रूपमा मात्र किन बन्दी बनाउने ? सार्थक र खाँटी शुभकामनाको लागि चाडबाडको समयलाई पनि किन नभजाउने ? फुर्सदको बेलामा रैथाने गाउँ–नगरका युवाहरूलाई गोलबद्ध गरेर एउटा स्वयंसेवी दस्तामात्रै तयार गर्न सकियो भने पनि त्यसले समाजमा ‘बिकासे’ छलफलको लागि पूर्वांग गर्छ । यस्तो कार्यबाट पनि बाल्यकाल बितेको थलोका लागि केही गर्न सक्यौं भने पनि आउँदो पुस्ताप्रति पनि न्याय गरेको ठहरिन्छ । पुराना द्वन्द्वका सइनमा मलम हुन पनि सक्छ ।
चाडबाड त आउँछन्, जान्छन र महान चाड बडादसैँ वा खुसानन्दीत पार्ने तिहारलाई स्मरणीय बनाउन सक्यौँ भने मात्र पनि जन्मथलोप्रतिको आंशिक कर्तव्य चुक्ता हुने थियो कि ?
आयो चाड ढोल बजाइँ
गयो चाड ऋण बोकाइँ, नहोस् ।
बरु,
आयो चाड खुसी छर्दै
विसर्जन भो. जाँगर भर्दै ।
यही अर्थमा सुभेच्छा †

प्रतिक्रिया