“ट्रफी समग्र क्यारेवियनका लागि”

कोलम्बो, २३ असोज । आइसिसी टी–ट्वान्टी विश्वकपको उपाधि जितेपछि वेस्ट इन्डिजका कप्तान डारेन सामी आफ्नो क्रिकेट टिमको झन्डासहित ट्रफीलाई अगाडि राखेर पोस्ट म्याच कन्फेरेन्समा उपस्थित भए । ‘ट्रफी यति ठूलो लागिरहेको छ कि तपार्इंहरूलाई केही देखिरहेकै छैन,’ सञ्चारकर्मीको पहिलो प्रश्नमा उनको जवाफ थियो । उनले उक्त ट्रफी आफ्नो बाँकी जीवनको सम्पत्तिका रूपमा रहने बताए ।
‘मेरा लागि यो क्षण जीवनकै सबैभन्दा ठूलो हो,’ सामीले भने, ‘हामी यस क्षणलाई जीवनका हरेक दिनमा स्मरण गरिरहनेछौँ ।’ उनले क्यारेवियन जनता यस ट्रफीका कारण गर्व महसुस गरिरहेको पनि भन्न छुटाएनन् । ‘यो ट्रफी क्यारेवियन जनताका लागि पनि हो । विश्वभर रहेका वेस्ट इन्डिज समर्थक यस सफलतामा यतिबेला रमाइरहेका छन् । मलाई थाहा छ, जमाइकादेखि गुयानासम्म यतिबेला पार्टी भइरहेको छ,’ उनले अगाडि थपे ।
कप्तानका रूपमा यो सफलता पछिल्लो समय टोलीमा आफ्नो स्थानलाई लिएर आलोचना गर्ने सबैलाई गतिलो झापड भएको उनले बताए । आलोचना गर्नेको काम नै आलोचना गर्ने भएको बताउँदै तर आफूलाई क्यारेवियन जनताका लागि खेल्दा आनन्द आउने गरेको उनको भनाइ थियो । ‘कमेन्टेटरले बोलेबापत, पत्रकारले समाचार लेखेबापत अनि म क्रिकेट खेलेबापत पारिश्रमिक पाउँछु,’ उनले थपे ।
आलोचना जहाँतहीँ हुने भन्दै उनले आफूलाई जिसससँग तुलना गरे । ‘मेरो जीवन जिउने एउटा तरिका छ । क्रिस्ट (जिसस) पृथ्वीमा आए । कुनै गल्तीविना नै उनलाई झुन्डयाइयो । समय–समयमा म आफूलाई क्रिस्टको जीवननजिक पाउँछु,’ उनले भने, ‘मेरो बारेमा हरेक मानिसले विचार बनाउन सक्छ । मलाई यो मन पर्छ पनि । त्यसलाई थाम्न मेरो छाती ठूलो छ । मैले क्रिकेट खेल्न थालेदेखि नै निकै आलोचना सहँदै आएको छु । जब मैले यो लुगा लगाएँ (टिसर्ट देखाउँदै) यसलाई मैले मेरो मनमा पनि लगाएँ । साँच्ची भन्ने हो भने मैले घमण्डका लागि कहिले खेलिन तर जहिले पनि क्यारेवियन जनता नै मेरो प्राथमिकता हुन्थ्यो ।’
आधाभन्दा बढी इनिङ सकिँदा पनि टोली
३२–२ को स्थितिमा हुँदा वेस्ट इन्डिजले के का कारण विश्वकप जित्यो भनी प्रश्न गर्दा उनले विश्वास र भगवान कारण बताए । ‘हामीलाई भगवानप्रति बलियो विश्वास छ । भगवानले रहस्यमय तरिकाले काम गर्छन् । साँच्ची उनले अचम्मै गर्छन्,’ सामीले भने ।
उनले आफ्नो टोली विश्वकपका लागि पहिलेदेखि नै बलियो दाबेदार भएको बताए । ‘मैले हरेकजसो पत्रकार सम्मेलनमा भन्दै आएको थिएँ, विश्वकप जित्न सक्ने क्षमता यस टोलीमा भएको हामीमा विश्वास थियो,’ उनको भनाइ थियो । एजेन्सी

जयावद्र्धनेद्वारा कप्तानबाट राजीनामा
आइसिसी टी–ट्वान्टी विश्वकपको फाइनलमा वेस्ट इन्डिजविरुद्ध पराजित भएपछि श्रीलंकाका कप्तान माहेला जयावद्र्धनेले टी–ट्वान्टी टोलीको कप्तानबाट राजीनामा दिएका छन् । उनले कम्तीमा आगामी जनवरीसम्म टेस्ट र एकदिवसीय टिमको कप्तान रहने प्रष्ट पारेका छन्, ‘यो प्रतियोगिता सुरु हुनु अघिदेखि नै छनोटकर्ताहरूसँग मैले कुराकानी गरिरहेको थिएँ । म यस विश्वकपपछि टी–ट्वान्टी कप्तानबाट राजीनामा दिँदै छु ।’ उनले अब युवालाई टी–ट्वान्टीको कप्तान बनाउन आफूलाई छनोटकर्तालाई सल्लाह दिएको जानकारी दिए । ३५ वर्षीय जयावद्र्धनेले सन् २००९ मा सबै क्रिकेटको स्वरूपमा कप्तानबाट राजीनामा दिए पनि यसै वर्षको जनवरीमा तिलकरत्ने दिल्सानले राजीनामा दिएपछि उनी पुन: उक्त जिम्मेवारीमा आएका थिए । सन् २०११ को विश्वकपको फाइनलमा भारतसँग पराजित भएपछि कुमार संगकाराले कप्तानबाट राजीनामा दिएका थिए । श्रीलंका दोस्रो संस्करणको टी–ट्वान्टी विश्वकपको फाइनलमा पुग्दा पनि जयावद्र्धने कप्तान थिए ।

प्रतिक्रिया