स्वास्थ्य संस्थामा मापदण्ड लागू गर

जुन मुलुकका नागरिक शारीरिक र मानसिक रूपले स्वस्थ रहन्छन् त्यो मुलुक समुन्नत हुन्छ । किनभने, मानव संसाधान नै राष्ट्रका लागि सबैभन्दा ठूलो सम्पत्ति हो । यही कारणले वर्तमान अवस्थामा विश्वका सबै मुलुकले स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेका छन् । तर, नेपालका दल, नेता र प्रशासक भने आफ्ना नागरिकको स्वास्थ्य र उन्नतिभन्दा पनि आफ्नो छुद्र स्वार्थ पूरा गरेर चाँडै धनी बन्ने ध्याउन्नमा लागेको पाइन्छ । शैक्षिक संस्था र स्वास्थ्य संस्थाहरूको अवस्था र व्यवहार हेर्दा त्यहाँ थोरै पनि मानवीय संवेदना र सेवा भावको झल्को पाइन्न । जसले गर्दा नगरिकमा यहाँको नीति, व्यवहार र संवेदनाहीनताप्रति गहिरो वितृष्णा फैलिँदै गएको छ । फोहोरी बन्दै गएको राजनीति, नेता र सरकारी अधिकारीको द्रव्यमोह, भ्रष्टाचार, घुसखोरी साथै गैरजिम्मेवारीका कारण पनि मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने संवेदनशील मानिएका स्वास्थ्य संस्थाहरू स्वास्थ्य नीति र मापदण्डविपरीत सञ्चालन हुन थालेका छन् । यो दु:खद् कुरा हो । कसैले पनि मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा खेलवाड गर्न पाइँदैन ।
हाम्रो मुलुकमा ०४६ सालको राजनीतिक परिवर्तनपछि शैक्षिक संस्था र स्वास्थ्य संस्था प्रशस्त खुले । कतिपयले मापदण्ड पूरा गरेका छन् भने कतिपय पैसा कमाउनका लागि मात्र खुलेका छन् । अनुगमन र नियमनको अभाव मात्र होइन मापदण्ड नपुर्‍याई खुलेका संस्थाले जानी–जानी अस्वस्थ प्रतिस्पर्धासमेत गरिरहेका छन् । यस्तो अवस्थामा सम्बन्धित निकायले मापदण्ड विपरीतका स्वास्थ्य संस्थालाई मापदण्ड पूरा गर्न लगाउनु पर्ने हो तर, त्यसको विपरित कार्य भइरहेको पाइएको छ । यसको पछिल्लो उदाहरण बन्न पुगेको छ भरतपुर कलेज अफ मेडिकल साइन्स । मापदण्ड पूरा नगरेको उक्त कलेजलाई सरकारले मिर्गौला प्रत्यारोपणको स्वीकृति दिने तयारी गरेको खुल्न आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको अंग प्रत्यारोपण समन्वय समितिले चितवनस्थित उक्त अस्पताललाई मापदण्ड पूरा नगरे पनि मिर्गौला प्रत्यारोपणका लागि स्वीकृति दिने निर्णय गरेको हो । मापदण्ड पूरा नगरेको स्वास्थ्य संस्थालाई अंगप्रत्यारोपणको अनुमति दिनु मानव स्वास्थ्यसँग खेलवाड गर्नु हो । समितिका सदस्यहरूले मापदण्ड नपुगेका स्वास्थ्य संस्थालाई स्वीकृति नदिने विचार राख्दाराख्दै पनि स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. मिङमार गेलजेन शेर्पाको दबाबमा स्वीकृति दिन सरकार तयार भएको खुल्न आएको छ । यो जनताको स्वास्थ्यसँग खेलवाड गर्ने गैरजिम्मेवारीपूर्ण कार्यको चरम नमुना हो । जनताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा गम्भीरता अपनाउनु पर्छ । र गैरजिम्मेवार कार्यहरू रोकिनु पर्छ ।
भरतपुर र चितवन मेडिकल कलेजलाई मिर्गौला प्रत्यारोपणको स्वीकृति दिनुहुँदैन भन्ने होइन । दिनुपर्छ । तर, मापदण्ड पूरा गर्न लगाउने काम पहिला हुनुपर्छ । स्वास्थ्य सेवा विभागका महानिर्देशकले आफ्नो पदीय दायित्व पूरा गर्न अनुगमन गरेर मापदण्ड पूरा नभएका स्वास्थ्य संस्थालाई मापदण्ड पूरा गर्न लगाउनुपर्नेमा उल्टै मापदण्ड पूरा नगरेको स्वास्थ्य संस्थालाई मिर्गौला प्रत्यारोपणको स्वीकृति दिनु आफैँमा शंका उत्पन्न गर्नु हो । कुन उद्देश्यबाट प्रेरित भएर के कारणले समितिको विरोधका बाबजुद उनी स्वीकृति दिँदैछन् ? मिर्गौला रोगीले समेत जान्न पाउनु पर्छ । यदि, ती स्वास्थ्य संस्थाहरूले मापदण्ड पूरा गरेका छैनन् भने सरकारले स्वीकृति दिने कार्य रोक्नुपर्छ । मानव स्वास्थ्यसँग खेलबाड गर्न कसैले पनि पाउँदैन । डा. मिङमार ग्यालजेन सेर्पा आफैँ डाक्टर भएको हुँदा उनले यस्ता विषयमा अझ गम्भीरतापूर्वक सोच्नुपर्छ । किनकि स्वस्थ नगारिक नै राष्ट्रको प्रमुख सम्पत्ति हो । तसर्थ स्वास्थ्यमा हेलचेत्रयाइँ गर्नु हुँदैन ।

प्रतिक्रिया