दुईसय तोला सुन र २५ लाख नगद चोरी

पोखरा १४ असोज । पर्वत जिल्लाको चित्रे–६, धारापानीकी पवित्राकुमारी गुरुङको घरबाट करिव दुई सय तोला सुन र २५ लाख रुपियाँ नगद चोरी भएको छ ।
गत बिहीबार विहान १ बजे नकाब लगाएर आएका हतियारधारी समूहले सो धनमाल लुटेर लगेको ६१ वर्षीय पवित्राले जानकारी दिईन ।
जिल्ला प्रहरी कार्यालय पर्वतले पनि लुटपाट र चोरी भएको पुष्टि गरेको छ । प्रहरी निरीक्षक श्यामु अर्यालका अनुसार कति चोरी भएको हो भन्ने बारेमा एकिन नभए पनि लुटपाट भएको पुष्टि गरेका छन् ।
घटना स्थल पुगेको प्रहरी टोलीका अनुसार लुटपाट भएको घर नजिकै करिव ७ तोला सुनका गहना फालिएको अवस्थामा फेला पारेको थियो । प्रहरीले करिब ६० तोला सुन चोरी भएको हुन सक्ने अनुमान गरेको छ ।
लुटपाट गर्ने क्रममा हतियारधारी समूहले पवित्राका छोरा र छोरीलाई खुकुरी समेत प्रहार गरेरका थिए । खुकुरी प्रहार पछि घाईते उनीहरुलाई हातखुट्टा बाँध्नुका साथै मुखमा बुझोसमेत लगाइदिएको पीडितहरुको भनाई छ ।
एक्कासि हतियार सहित घरमा प्रवेश गरेको समूहले धनमाल र गरगहना कहाँ छ भनी लुटपाट गरेको पवित्राकी छोरी बृन्दाले जानकारी दिइन् ।
सुनका वाला, यार्लिन, ११ तोलाको सिक्री, रिङ, औठीलगाएत दुई सय तोला सुन र २५ लाख नगद लुटपाट भएको पीडितहरुको भनाई छ ।
लुटेराको खुकुरी प्रहारबाट घाईते पवित्राको पोखराको चरक अस्पतालमा उपचार भइरहेको छ । पवित्रालाई आज विहान २ बजे मात्रै अस्पताल भर्ना गरिएको हो ।
पीडित पवित्राका पति शिवशरण गुरुङ बेलायती सेनाका पेन्सनवाला हुन् ।

प्रतिक्रिया