मत-विमत

‘लबिङ गर्नेले मदन पुरस्कार पाउँदैन’

सौर्य अनलाइन २०६९ असोज १३ गते १:४४ मा प्रकाशित

कमलमणि दीक्षित, वरिष्ठ साहित्य अन्वेषक र लेखक हुन् । मदन पुरस्कार गुठीजस्ता पुस्तकालय र जनहितका अभियानलाई आधा शताब्दीदेखि हाँकेर हिँडिरहेका ८३ वर्षीय दीक्षितमाथि मदन पुरस्कारसँग सम्बन्धित रहेर ०६६ सालमै यो कठोर वार्ता गरिएको थियो । ‘पुस्तक संसार’मा ०६७ मा प्रकाशित यस वार्तालाई सान्दर्भिक ठानेर पुन: प्रकाशित गरिएको छ ।

तपाईं मदनशमशेर र जगदम्बाको सम्पत्तिमाथि चलखेल गरेर आफ्नो नाम चम्काउँदै हुनुहुन्छ । तिनका दरबारदेखि तबेलासम्म तपाईंले आफ्नो साम्राज्य खडा गर्नुभएको छ ।
निकै सम्पन्न मणि परिवारको व्यक्ति भए पनि मेरो पिताजीको परिवारका हामीहरूको अवस्था विपन्नै थियो भन्दा हुन्छ । मदनशमशेरका सेवामा पिताजीले मासिक पाउने एक सय देखि पाँच सय रुपियाँसम्मको जागिरले हामी १० जनालाई पिताजीले पाल्नुभएको थियो । मदनशमशेरको २०१० सालमा स्वर्गवास भएपछि रानी जगदम्बाले उहाँलाई जागिर नछोड्न अनुरोध गरेपछि रानी जगदम्बाले नै हाम्रो परिवारलाई राम्ररी खाई–लाई बस्नसक्ने अवस्थामा पुर्‍याइदिनुभएको हो । रानी जगदम्बाले आफ्नो स्वामित्वमा आएका झन्डै पाँच सय रोपनी ललितपुर पुल्चोकको जग्गा आफ्ना आरक्षित ढोके, पाले, पुजाकोठे, बैठकेलगायत ४० जना जति कर्मचारी र २० जना जति नेपाली कवि–लेखक साहित्यिकलाई वितरण गर्नुभयो । त्यसमा मेरा पिताजीलाई १५ रोपनी तथा उहाँको सेवामा प्रवेश गरिसकेको मलाई समेत ७ रोपनी जग्गा दान गर्नुभएको हो । त्यसलाई मदनशमशेर र रानी जगदम्बाको सम्पत्तिमाथि चलखेल गरेको भन्ने भए त्यो गरिएछ भनौँ । तर, एउटा कुरो, मेरा पितामाताको सल्लाह र ‘उक्साहट’मै परेर रानी जगदम्बाले आफ्नो श्रीमहल दरबार त्यसबेलाको श्री ५ को सरकारलाई तथा साझा केन्द्रलाई ५० रोपनी जग्गा तथा साझा यातायातलाई २२ रोपनी जग्गा लिखित गरी ‘दान’ गर्नुभएको थियो भन्ने कुरा बिर्सनु नहोला ।
कुरामा साहित्य सेवा र लोकतन्त्र, व्यवहारमा सामन्तवाद कमल दीक्षितको मूल चरित्र हो भनिन्छ । मदन पुरस्कार पुस्तकालयमा सामान्यजनको पहुँच छैन । तपाईको कृपा नभई त्यहाँका दुर्लभ ग्रन्थको दर्शन गर्न पनि पाइन्न ।
मदन पुरस्कार पुस्तकालयमा मैले किताब पढ्न पाइनँ भन्ने एकजना ‘विद्वान्’को नाम दिनुभए म त्यसमा अनुसन्धान गर्नेछु । भन्नुभएजस्ता ‘दुर्लभ’ वस्तु अभिलेखालयमा हेर्न कुनकुन मन्त्रालय र विभागको स्वीकृति चाहिन्छ थाह छ तपाईंलाई ?
तपाईंका केही विश्वासपात्र छन् । तिनलाई तपाईंले मदन पुरस्कार गुठीका सर्वकालिक अभियन्ता बनाउनुभएको छ । तिनले तपाईंले भनेबमोजिमका लेखकलाई मदन पुरस्कार दिलाउँछन् । उत्कृष्ट कृतिहरूमाथि अन्याय भइरहेको छ, निकम्मा लेखकहरू पुरस्कृत भएका छन् ।
मदन पुरस्कार गुठीमा मेरो को–को विश्वासपात्र रहेछन् ? त्यहाँको १३/१४ जना विद्वान्–विदुषीको नाम पढ्नुभएको छ ? त्यस्ता स्वानामधन्यहरूमाथि यस्तो आक्षेप लगाउनु उचित होला ?
यस वर्ष ‘प्रेतकल्प’ (२०६६) जस्ता एक–दुई उत्कृष्ट कृति पन्छाइए । तपाईंलाई भनसुन नगरी त्यस्तो ‘गरिमामय’ भनिएको पुरस्कार पाउनु सम्भव छैन । जगदम्बाश्रीका सन्दर्भमा त्यति गुनासो गरिएको नपाइए पनि मदन पुरस्कारमा दर्खास्त हाल्नेदेखि पहुँच पुर्‍याउनेसम्मका प्रक्रिया विवादमा छन् ।
यस वर्ष युवराज नयाँघरेले कुन दिन मसँग भनसुन गर्न आएछन् कुन्नि † मदन पुरस्कार कुनै एक व्यक्तिले चाहेर कसैलाई दिन सकिँदो रहेनछ भन्ने यो ५६ वर्षमा अब त मान्छेले बुझ्नुपर्ने हो । बरु ‘लबिङ’ गरेर पनि कुनै कृति पुरस्कृत नभएकोचाहिँ मैले अनुभव गरेको छु ।
तपाईंको लेखाइमा प्राय: आफ्नो दीक्षित परिवार बखानको गन्ध आउँछ । आफ्ना बाजेको योगदानप्रति तपाईं बढी नै आशक्त देखिनुहुन्छ । कहिल्यै जनसाधारणका दु:ख–पीडाले तपाईंलाई पोलेन र तिनले तपाईंको लेखनीमा स्थान पाएनन् ।
‘दुर्भाग्यवश’ दीक्षित परिवारमा धेरैजना कवि–लेखक भइदिए, के गर्नु ? मैले सुनेसम्म एउटै परिवारमा यति धेरै लेखक छैनन् रे नेपालमा । हो या होइन, थाहा छैन । तर, मेरै ‘बुइँगल’मा मैले चर्चा गरेको तीन सयजना जति कविहरूमा चार जनाभन्दा बढी दीक्षित रै’नछन् । मैले लेखेका ५० वटा जति किताबमा जम्माजम्मी एक सय ६३ कवि/लेखक बुद्धिजीवीबारे मैले कलम चलाएको रहेछु । ती एक सय ६३ मा आधा दर्जन जति मात्र दीक्षित रहेछन् । त्यसैले यो अभियोग कुठाउँमा पर्‍यो कि भन्छु । हो, म किताब र लेखोटकै बारेमा मात्र शोधखोज गर्ने भएकाले कसैको पनि दु:ख, पीडाका कुरा मेरा लेखनीमा उठ्दैन । जनसाधारणका दु:ख, पीडाले पोल्ने/नपोल्ने कुरा बिल्कुलै बेग्लै विषय हो ।
तपाईंलाई नेपालका गरिबको चाह, जनजीवन र सपनाबारे पटक्कै भेउ छैन । मुठ्ठीभर सम्भ्रान्तको घेराभन्दा बाहिर तपाईं केही सोच्नुहुन्न ।
त्यो छैन होला । तर, मैले जुम्ला पुगेका बेला या ललितपुरको साधारणतया कोही नपुग्ने दुर्गम आश्राङ दुर्लुंङजस्ता ठाउँका दयनीय अवस्थाको कुरा लेखेको कसैले पढिदिएको छ ?
तपार्इं नेपाल बैंक, साझा प्रकाशन वा साल्ट ट्रेडिङ जहाँ काम गर्नुभयो, त्यहाँ विवाद धेरै र काम थोरै भयो । विवाद र कमलमणि पर्याय हुन् भनिन्छ नि ।
‘विवाद र कमलमणि पर्याय हुन्’ भनेर तपाईंले नै तोक बोलिसकेपछि मैले जवाफ फर्काउने कुरा आएन । तर, मेरो अनुरोध, मेरै ज्ञानका लागि ती–ती ठाउँमा मैले के–के विवादित काम गरेछु, जानिराख्न पाए हुन्थ्यो ।
मदन पुरस्कारको गरिमा र ओजन दिन–प्रतिदिन धूलिसात हुँदै छ । यो विशुद्ध तपाईंको आफ्नो स्वार्थ र शैलीका कारण हो ।
होला, मेरो यसमा भन्नु केही छैन । तर, किन हो कुन्नि, अझै नेपाली साहित्यिकहरू अरू ठूलाठूला रकमका पुरस्कारभन्दा यही पाउन चाहँदा रहेछन् ।
तपार्इं वर्तमानसँग डराउनुहुन्छ । मतलब वर्तमान राजनीति, समाज र संस्कृतिप्रति तपाईंको चासो छैन । वर्तमानसँग डराएकै कारण तपार्इंं सधैँ इतिहासको मात्रै कुरा गर्नुहुन्छ ।
म वर्तमानसँग डराउन्नँ । म वर्तमानमै संघर्ष गरेर बाँचिरहेको छु । तर, राजनीतिप्रति चासो भए पनि म त्यसमा मुछिन्नँ । केदारमान व्यथित कविजीको भनाइ मान्छु म । उहाँ राजनीतिलाई ‘शौचालय’ भन्नुहुन्थ्यो, साहित्यलाई ‘भोजनालय’ । म पनि भोजनालय नै रुचाउँछु । इतिहास राजनीतिक मात्र होइन, साहित्यिक, सांस्कृतिकसमेत मेरो चाखका विषय हुन् । म तिनको ‘विज्ञ’ होइन विद्यार्थी हुँ, खोज्छु, खोजाउँछु, लेख्छु र लेखाउँछु । यो अपराध हो भने त्यो अभियोग म स्विकार्छु ।
तपाईं रुखो, घमण्डी र संकीर्ण हुनुहुन्छ †
तपाईंले भनेपछि म त्यस्तै छु हुँला । अब यो ८० वर्षको उमेरमा म आफूलाई परिवर्तन त गर्न सक्तिनँ । त्यसैले मजस्तो छु, त्यसैमा सतुष्ट छु भनौँ ।
समाजसेवा, अध्ययन–अनुसन्धान वा प्रकाशन जेसुकैमा संलग्न भए पनि तपाईंले आफ्नो व्यक्तिगत प्रचारप्रसारलाई प्राथमिकतामा राख्नुहुन्छ, होइन ?
हो, एकजना पोखराका प्राध्यापक मेरा बारेमा विद्यावारिधिको थेसिस लेख्न लागेका रहेछन् । मसँग मबारेमा सोध्न आए, मैले जवाफ दिनैपर्‍यो । यही अन्तर्वार्ता पनि छापियो भने उनले पढ्लान् नै । मैले लेखेका ५० वटा किताबमा ५० जना विद्वान्ले समीक्षा गरेको संकलन गरेर छाप्यो, नइ प्रकाशनले । त्यसको पनि मैले विरोध गरिनँ । भनेपछि मैले मेरो प्रचार–प्रसारमा प्राथमिकता राखिनँ भनेर मैले कसरी भन्नु ? भगवान् पशुपतिनाथलाई पनि आफ्नो स्तुतिहरू प्रिय लाग्छन् रे † मेरो प्रशंसा गर्नेलाई म कसरी गाली गरूँ ? म त मलाई गाली गर्नेलाई पनि गाली गर्न सक्तिनँ । यस्तै छ ।
तपाई पैसा भनेपछि भुतुक्कै हुनुहुन्छ †
म यो विश्वमा धनदौलतमा लालसा नहुने एकैजनाका बारेमा मात्र जान्न पाए कृतार्थ हुने थिएँ । धन देख्ता पशुपतिनाथको त तेस्रो नेत्र खुल्छ रे भने म बबुराको के बुता पैसा चाहिँदैन भन्ने † तर, म पैसामा भुतुक्कै छु भन्ने कुराचाहिँ मलाई यसअघि कसैले सुनाएको थिएन ।

प्रस्तुति : दीपक सापकोटा

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय