चेलीहरूको सुरक्षा चिन्ता

‘गोर्खाली देवीहरूसँग प्रार्थना’ । यो दार्जलिङ्बाट प्रकाशित हुने गोर्खे खबर कागतमा सन् १९२८ मे महिनामा प्रकाशित एक लेखको शीर्षक हो । पाठकका मनमा यसलाई यहाँ किन महत्व दिइएको हो भन्ने प्रश्न उब्जिइसक्यो होला । त्यसैले अर्थ खुल्ने गरी यस लेखको सार उल्लेख नगरी रहन सकिन्न । यसको सार हाम्रा दिदीबहिनीहरूको अस्मिता नबेचून् भन्ने हो । आज यस लेखमा पनि हाम्रा दिदीबहिनीहरूकै बारेमा चिन्ता र अफसोच प्रकट गरिँदै छ ।
यता हुँदो चेलीबेटी बेचबिखनको इतिहासबाटै सुरु गरौँ । दक्षिण एसियामा यो समस्याको शुरुवात १९ औँ शताब्दीमा बेलायती उपनिवेशसँगै भएको देखिन्छ । औपनिवेशिक सत्ताका सेना र शासकलाई यौनसेवा उपलब्ध गराउन महिलाहरू नेपाललगायत दक्षिण एसियाका अन्य ठाउँबाट भारतमा लगिन्थ्यो रे † यसैको विकसित रूप रहेछ आज मान्छेको बेचबिखन भयावह आकारमा फैलावट हुनु । नेपालको सन्दर्भमा कुरा गर्दा डा. मीना पौडेलका अनुसार १९ औँ शताब्दीमा राणा र शाह शासकहरूले काठमाडौं आसपासका जनजाति महिलाहरूलाई नर्तकी, सुसारे र धाईआमाको रूपमा दरबारमा ल्याई गैह्र यौनजन्य तथा यौनजन्य श्रमको लागि प्रयोग गर्ने गर्थे । सुरुमा दरबारमा नचाहिएका र परिवारले अस्वीकार गरेका यौनदासी महिलाहरूलाई सीमा कटाउन थालियो । यसैको प्रभावस्वरूप बिस्तारै विकट गाउँबाट रोजगार दिने मिथ्या आश्वासनमा पारी भारतमा बेच्न थालियो । आज नेपाली चेलीहरू मुम्बईमा त बेचिए बेचिए पछिल्ला दिनहरूमा भने मुम्बई मात्र होइन खाडी हुदै मलेसिया र दक्षिण अफ्रिकामा समेत यसको सञ्जाल फैलिइसकेको रहेछ ।
यहाँनेर झिलिक्क देखा पर्छ नुवाकोट । त्यहाँका आधिकांश चेलीबेटी जति बेचिइसकेछन् । ६० भन्दा बढी घर भएको सिसिपु गाउँमा बितेको नौ वर्षमा एउटा मात्रै विवाह भयो रे † कतिसम्म भने त्यस क्षेत्रमा बिहे भइसकेकाहरूले पनि श्रीमती जोगाउन आच्छुआच्छु पर्ने रहेछ । दुईचार दिन पुरुषले घर छोड्नासाथ दलालले माउबच्चै छोपिहाल्ने रहेछ । घ्याङ्फेदी गाविसमा त बालबच्चा, पुरुष र वृद्धवृद्धा मात्र बाँकी रहेछन् । बेचिएकाहरूले सकेसम्म त्यस नरकबाट उम्केर दलालहरूको ठेगाना खोज्ने प्रयासमा हुन्छन्, आफू जे भए पनि अरू दिदीबहिनीको भविष्य नबिग्रियोस् भन्ने सोच्लान् भन्ने अनुमान गरिन्छ तर … † भारत पुर्‍याइएकाहरूमध्ये पाँच दर्जन महिलाले आपैँm कोठी चलाएका छन् भन्ने सुन्नुपर्दा यो मन त्यसैत्यसै अमिलो भएर आउँछ । ती महिलाहरू छुट्टीमा गाउँ आएको भन्दै अरूलाई पनि लैजाने रहेछन् । तिनको तडकभडक देखेर युवतीहरू फसिहाल्ने रहेछन् । त्यसैले नै दलालबाट खोसिएका युवतीहरू पुन: हराएका घटनाहरू पनि उत्तिकै रहेछन् । पछिल्लो समय तिब्बतको खासा पनि नेपाली चेली बेचबिखनको नयाँ गन्तव्यका रूपमा विकसित हुन थालेको समाचारहरूले चस्स घोचेको छ यो मुटुमा । यताको भन्दा तेब्बर बढी पारीश्रमिक पाउने लोभमा राजधानी काठमाडौं र पोखराका रेष्टुरेन्ट तथा डान्सबारबाट युवती खासा पुग्ने गरेको तथ्यांक माइती नेपालले सार्वजनिक गरेको हो ।
काठमाडौंमा मात्रै दुई हजारभन्दा बढी यौनगृहहरू रहेका तथ्य सार्वजनिक भइसकेकै हो । पोखरासमेत यौनव्यवसायका मामिलामा सगरमाथा चुम्दै छ भन्दा अत्युक्ति नहोला । सुन्दरीबजार नामदिएका गृहहरूमा युवतीहरू छपक्कै देखिन्छन् । इटहरीको हालत पनि त्यस्तै रहेछ ।
आखिर चेलिबेटी बेचबिखन तथा यौन व्यवसाय बढ्दै जानुका कारणहरू केके हुन् त ? अशिक्षा वा बाध्यता ? लाग्दैन अशिक्षाकै कारण यस्तो भइरहेछ । अहिले शिक्षितहरूमाझ समेत यस्ता गतिविधिमा लागेका समाचारहरू सार्वजनिक भइरहेकै छन् । मलेसिया, दुवई र दक्षिण अफ्रिका हुँदै महिनामा ५० हजारदेखि एक लाखसम्म गोजीमा पर्ने भएपछि छिटै, सजिलै, रमाईरमाई कमाउन उद्यत प्रवृतिका मान्छेहरू नलोभिने कुरै भएन । काठमाडौंका डान्सबारहरूबाट त्यता केटी निर्यात हुने रहेछ । अरू सबै चीज आयात गर्ने तर नाक निर्यात गर्ने हाम्रो देश । त्यसो त राणाहरूले देशभरिका युवाहरूलाई अंग्रेजको भाडाको टट्टु बनाएर उहिल्यै काटेका हुन् नाक ।
कति केटीहरू उतै बस्ने रहेछन् भने कति नेपाल फर्किने रहेछन् । फर्किनेहरू फेरि त्यही बाटो लाग्ने भइहाले । आउनेजाने गर्दागर्दै आपैँm पनि दलालको काम गर्न थाल्छन् रे † गाउँघरका दिदीबहिनीहरू उनीहरूको उच्च जीवनशैलीबाट प्रभावित भइहाल्छन् । ‘कहाँ जालिस् मछली मेरै ढडिया’ भनेभँैm भएको छ । अहिले पराईको ओछ्यान तताइदिन प्रतिमहिना सरदर ५०० का दरले नेपाली युवतीहरू खाडीबाहेकका मुलुकहरूमा पुगिरहेका तीतो खबर पढ्नु र सुन्नुपरिरहेको छ । सगरमाथाको देश होइन, पैसाका लागि जे पनि गर्नेहरूको देश, उफ् †
यहाँ झट्ट हेर्दा पुरुषहरू नै यसको कारण मान्ने गरिएको छ । तर, यसमा महिला स्वयंको हात कति छ त्यतातिर सोचिएको छैन कि लाग्छ । नेपालमा सक्रिय यौनकर्मी महिलाहरू पुरुषले बेचेका त होइनन् पक्कै । यदि हो भने तिनले उचित मौकामा विद्रोह गर्नुपर्ने । अनि भनिन्छ धेरै महिलाहरू खराब श्रीमान्का कारण जीविकाको खोजीमा यस्तो धन्दामा लाग्छन् । यो तर्कको पनि तुक छ भन्ने लाग्दैन । वल्लो गाउँदेखि पल्लो गाउँसम्म नटेकेका महिलाहरू सात समुद्रनाघी जुठेल्नु स्याहार्न जान सक्छन् भने यहीँ जीविकाको मेलो गर्न किन सक्दैनन् ? के खाडीमा पुछो लाउन जानु नै अन्तिम विकल्प हो ? नाच्न र लाजका गहना बेच्न जानु नै अन्तिम विकल्प हो ? इच्छाशक्ति हुनुपर्छ, भारतीय चटपटे र पानीपुरी व्यापारीहरूबाट हामीले सिक्न किन सक्दैनौँ जुन महिलाहरूले सहजै गर्न सक्छन् । तर, दिनभरि सडकमा घामपानीसँग भिडन्त गर्न को चाहन्छ ? बरु मुर्खताका साथ खाडीतिर खङारिन तयार हुन्छन् । सिन्धुपाल्चोककी एक तामाङ महिला खाडी जाने तयारीमा रहिछन् । उनी नाता पर्ने एक दलालबाट सात वर्षअघि भारतको मुम्बईमा झन्डै बेचिएकी थिइन् रे † यो घटनाले ऐना जस्तै छर्लंग देखाउँछ कि आधा दोष दलालको हो भने प्रलोभनमा पर्ने महिलाहरूको दोष पनि आधा नै हुन्छ । यो पंक्तिकारकै नजिकका दुई दिदीबहिनी कुवेत गएका थिए तर नफर्केको वर्षौं भइसक्यो । भारतीय सेनाका रिटायर्ड पिताका छोरीहरूलाई के यस्तै निर्णय लिनुपर्ने बाध्यता पर्ला र ?
जति पनि नेपाली महिलाहरू खाडी क्षेत्रमा बिचल्लीमा परेका छन् ती सबलाई नेपाल सरकारले उद्धार गरिदिनुले पनि अहिले उनीहरू ढुक्कै उडिरहेका छन् कि भन्ने लाग्छ । जब पखेटा काटिन्छन् तब उनीहरू दूतावासको शरणमा पर्छन् । कुवेतस्थित नेपाली दूतावासको काम त तिनै अलपत्र चेलीहरूको उद्धार गर्नु भइरहेको समाचारहरू पुराना भइसके । अब त उद्धार कार्यमा शर्तहरू लागू गर्नुपर्ने हो कि † यसबारेमा चर्चा सुरु भएको सुनिन्छ जुन सह्रानीय छ । हाम्रा चेलीहरू कम्तीमा पनि आÏनो सुरक्षाको प्रबन्धसम्म गर्न सक्ने अवस्थामा होऊन् । बल्ल हाम्रा चेलीहरूले जेजे गरे पनि अलपत्र परेर रोइकराइ गर्नुपर्दर्ैन । तर, राम्रो कुरा हाम्रो दिमागमा घुस्दैन । सरकार वैधानिक बाटोबाट मात्र जाऊ भन्छ, उनीहरू जस्केलाबाट गइदिन्छन् । सरकार उद्धारकर्मी छँदैछ ।
हाम्रा चेलीहरूले बुझ्नुपर्ने हो, खाडी भनेको आÏना चेलीलाई सोझो आँखाले हेर्न पनि नदिने र अरूका चेलीलाई चाहिँ गिद्धले झैँ लुछ्नेहरूको भूमि हो । रामायणमा रावणले सीतालाई जस्तै सुरक्षित राख्लान् भन्ने नसोचे पनि हुन्छ । समाजमा मान्छेका व्यापारीहरू घुमिरहेछन् भन्ने ज्ञान कुन जुगमा फुर्ने हो ? घोटेर पिलाइदिने कसले ? कुन इज्जत र कुन बेइज्जत भन्ने ख्याल किन नगरेका होलान् ? आज संसारमा जति पनि विकास भएको छ र जेजे सुखसयलका लागि शरीर बेच्न पछि परिरहेका छैनन्, यौनिक पसिनाको होइन दिमागी पसिनाका उपलब्धि हुन् ती । सबैले यस्तै सजिलो बाटो रोज्ने हो भने संसारको हाल के हुन्थ्यो तिनले सोचून् ।
अन्तमा, गोर्खे खबर कागतका ती लेखकले भैँm यो पंक्तिकार पनि अब यो नारकीय गन्थन गरिरहनुपर्ने स्थितिले कोल्टे फेरोस् भनी यो खबरपत्रमा प्रार्थना गर्दछ ।

प्रतिक्रिया