दसैँका लागि नयाँ नोट बाँड्न सुरु

काठमाडौं, ८ असोज । दसैँ आउन तीन साता अघिदेखि नै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट बाँड्न सुरु गरेको छ । हरेक वर्षमा दसैँमा नयाँ नोटको माग बढी हुने हुँदा सर्वसुलभ रूपमा नयाँ नोट उपलब्ध गराउने मनसायले केन्द्रीय बैंकले नयाँ नोट प्रदान गरेको हो ।

केन्द्रीय बैंकका एक अधिकारीका अनुसार यस वर्ष विभिन्न दरका एक सय अर्ब रुपियाँ बराबरका नोट बजारमा उपलब्ध गराइनेछ । राष्ट्र बैंकले सर्वसुलभ रूपमा नयाँ नोट उपलब्ध गराउन पोखरा, सिद्धार्थनगर, जनकपुर, विराटनगर, वीरगन्ज, नेपालगन्ज र धादिङमा पर्याप्त नयाँ नोट पठाइसकेको जनाएको छ । त्यसैगरी नेपाल राष्ट्र बैंकको शाखा नभएका स्थानमा नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको शाखा सञ्जाल प्रयोग गरी नयाँ नोट वितरण गर्ने व्यवस्था मिलाएको छ । केन्द्रीय बैंकका अनुसार दुवै सरकारी बैंकलाई मात्रै ४१ अर्ब रुपियाँ बराबरका नयाँ नोट प्रदान गरिएका छन् ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता भाष्करणमणि ज्ञवालीका अनुसार नेपाल राष्ट्र बैंकका विभिन्न शाखा र शाखा नभएका स्थानमा नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकका शाखाबाट बैंक तथा वित्तीय संस्थाले पर्याप्त मात्रामा नयाँ नोट लगिसकेका छन् भने कति अझै लग्ने प्रक्रियामा छन् । दसैँ आउन अझै तीन साताभन्दा बढी समय बाँकी भएकाले ग्राहकलाई दुई वर्ष अघिजस्तो समस्या नरहनेमा राष्ट्र बैंक ढुक्क छ । दुई वर्ष अघि नेपाल राष्ट्र बैंकले पर्याप्त नोट उपलब्ध गराउन नसकेका कारण बैंक तथा वित्तीय संस्थामा मानिसको भिड लागेको थियो ।
खातामा पैसा हुने तर अत्यावश्यक परेका बेला वित्तीय संस्थाले रकम दिन नसक्ने अवस्था सिर्जना भएको थियो । नोट छाप्ने कम्पनीले समयमा नोट छापेर नदिएका कारण सो समस्या आएको जवाफ तत्कालीन केन्द्रीय बैंकका अधिकारीले दिएका थिए । त्यस वर्षपछि भने केन्द्रीय बैंकले पर्याप्त मात्रामा दसैँको समयमा नयाँ नोट बजारमा पठाउने गरेका छन् ।
केन्द्रीय बैंंकका अनुसार दसैँको समयमा ५, १०, २० रुपियाँको नोटको माग बढी हुने गरेको छ । टिका लगाउँदा दक्षिणाका रूपमा नोट दिने चलनका कारण सो माग बढेको ती अधिकारीले बताए । केन्द्रीय बैंकले करिब २५ अर्ब नयाँ नोटको माग हुनसक्ने अनुमान गरेको छ । प्रचलनमा रहेका नोटले नै प्रमुख जनसंख्याको मुख्य माग सम्बोधन गर्ने आशा गरेको छ । दसैँपछि प्रचलनमा रहेको नोट १० अर्बले बढ्नेछ । चाडपर्वको समयमा नयाँ नोटको बढ्दो प्रयोगसँगै नोट खराब हुने समस्याबाट पनि केन्द्रीय बैंक चिन्तित छ । अधिकारीका अनुसार दसैँका लागि प्रदान गरिएका ८० प्रतिशत नयाँ नोट बिग्रने गरेको छ । नेपालीको नोटको औसत आयु डेढ वर्ष हो तर प्रयोगकर्ताको लापरबाहीका कारण अधिकांश नोट प्रयोगमा आएको एक वर्ष नपुग्दै बिग्रने गरेको नोट व्यवस्थापनमा संलग्न केन्द्रीय बैंकका अधिकारीको अनुभव छ । नेपालभित्रै नोट नछापिने हुँदा समयअगाडि नै नोट छाप्नु पर्दा नेपालीले तिरेको कर नयाँ नोट छाप्न प्रयोग गर्नुपरेको छ ।

प्रतिक्रिया