पेनउडलाई दोहोरो सफलता

काठमाडौं, ७ असोज । तेस्रो प्याब्सन मध्यक्षेत्रीय कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि पेनउडले शनिबार जितेको छ । पेनउड ब्वायज र गल्र्स दुवैमा च्याम्पियन बन्यो । दुवैको फाइनलमा पेनउडले डेनेबलाई पाखा लगायो ।
प्याब्सन मध्यक्षेत्रीय कमिटी, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको ब्वायज फाइनलमा पेनउडले डेनेबलाई ४१–२४ ले पराजित गर्‍यो । पेनउडको जितमा फुर्वा शेर्पाले १६ अंक योगदान गरे । मैतिदेवीस्थित आनन्दभूमि हाइस्कुलको कोर्टमा भएको गल्र्सको फाइनलमा पेनउडले डेनेबलाई ३२–२ को फराकिलो अन्तरले पाखा लगायो । पेनउडकी प्रिया लामाले १७ स्कोर गरिन् । ब्वायजमा सूर्योदयले हेम्सलाई २९–२५ तथा गल्र्समा हेम्सले काठमाडौं इंग्लिस स्कुल (केइएस) लाई १८–१४ ले हराउँदै तेस्रो भए । ब्वायजमा फुर्वा शेर्पा तथा गल्र्समा एलिशा बुढाथोकी ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवै पेनउडका हुन् । ३१ भदौदेखि सुरु भएको प्रतियोगिताको ब्वायजमा १७ तथा गल्र्समा ११ टिम सहभागी थिए ।

प्रतिक्रिया