विद्यालय भत्किदा पढाई प्रभावित

जाजरकोट, ५ असोज । अत्यधिक वर्षाले विद्यालयको दुई कोठे भवन भत्किदा जाजरकोट जिल्लाको खलंगा–१, रानागाउँस्थित भेरी प्राथामिक बिद्यालयको पठनपाठन प्रभावित भएको छ ।
बुधवार राती परेको पानीले विद्यालयको दुई कोठे भवन भत्किए पछि विद्यालयमा अध्ययनरत झण्डै तीन सय विद्यार्थीको पठन पाठन प्रभावित भएको प्रधानाध्यापक ललितराज भण्डारीले जानकारी दिए ।
वर्षाले विद्यालयको खेल मैदान समेत भासिएको छ । बिद्यालयमा गत बर्ष पनि माथिबाट पहिरो खस्दा भवनमा केही क्षति पुगेको थियो ।
विद्यालय भन्दा केही तलबाट नेपाली सेनाको वीरदल गण र मछाईना जाने दुई वटा बाटो निर्माण गरेकाले विद्यालयको खेल मैदान भासिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीनबहादुर सिंहले बताए ।
पहिरो रोकथामका लागि जिल्ला शिक्षा, गाविस, जिविसलगाएतका विभिन्न निकायमा पटक–पटक अनुरोध गरे पनि वेवास्ता गरेको अध्यक्ष सिंहले बताए ।
सदरमुकाम खलंगा–१, गैरीखालीमा रहेको विद्यालयलाई आठ वर्ष अघि रानागाउँमा सारिएको थियो । गैरीखालीमा खुल्ला मञ्च निर्माण गरिए पछि विद्यालयलाई रानागाउँ सारिएको हो ।
अहिले सोही खुल्लामञ्च हुँदै जाजरकोट–जुम्ला सडक निर्माण पछि खुल्लामञ्च प्रयोग विहिन छ ।
विद्यालय भन्दा तलको भाग भिरालो भएकाले विद्यार्थीहरुलाई समेत समस्या परेको छ ।

प्रतिक्रिया