प्रशिक्षकसँग डेटिङ गर्दै सेरेना

पेरिस, ३१ भदौ । प्रशिक्षक प्याट्रिक मौराटोउग्लोउसँग यस वर्ष टेनिस स्टार सेरेना विलियम्सले धेरै समय कोर्टमा बिताइन् । यसबीचमा यी दुईको सहकार्य पनि निकै सफल रहयो– खेलाडी र प्रशिक्षकका रूपमा । १५ एकल ग्रान्डस्लामकी विजेता अमेरिकन सेरेनाले कोर्टमा ‘ब्याक टु ब्याक’ सफलता हात पारिन् । सेरेनाले पछिल्लो समय तीन ठूला प्रतियोगिता लगातार जित्ने क्रममा उनी विम्बल्डन, ओलम्पिक र युएस ओपन च्याम्पियन बनिन् । यी तीनवटै सफलता सेरेनाले मौराटोउग्लोउले प्रशिक्षण सम्हालेयता हात पारेकी हुन् ।
यसैबीचमा सेरेनाले प्रशिक्षकसँग डेटिङ गरिरहेको प्रसंग यतिबेला टेनिस दुनियाँमा चर्चाको विषय बनेको छ । फ्रान्सेली अखबारहरूले यी दुई सँगसँगै टाँसिएर हिँडिरहेको फोटो सार्वजनिक गरेपछि उक्त सम्बन्धबारे आशंका सुरु भएको हो । फ्रान्सको राजधानी पेरिसका सडकमा हालसालै सेरेना र मौराटोउग्लोउ टाँसिएर सँगै हिँडिरहेको देखिएको थियो । यसकारण यी दुईबीच सम्बन्ध विकास भइरहेको अनुमान गरिएको छ । फ्रान्समा टेनिस एकेडेमी सञ्चालन गरिरहेका मौराटोउग्लोउले यसै वर्षको फ्रेन्च ओपनपछि सेरेनोको प्रशिक्षक भएर काम गर्न थालेका हुन् ।
३० वर्षीय सेरेनाको सम्बन्ध यसअघि विभिन्न क्षेत्रका मानिसहरूसँग रहेको सार्वजनिक भइसकेको छ । अमेरिकन र्‍यापारी/व्यापारीद्वय कमन र ड्रकसँग उनले डेटिङ गरिरहेको तस्बिर पनि बाहिर आएको थियो । उनले आफैले पनि कतिपय सम्बन्ध स्वीकार गरेकी थिइन् । ‘प्रेममा आफ्नो लक नभएको’ भनेर पनि सेरेना चर्चामा आएकी थिइन् । एजेन्सी

प्रतिक्रिया