दाहालको प्रस्ताव कोइरालाद्वारा अस्वीकार

काठमाडौं, २१ भदौ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति सुशील कोइरालासमक्ष संविधानसभा पुन:स्थापनाको प्रस्ताव दोहोर्‍याएका छन् । कोइरालाले भने यथास्थितिमा पुन:स्थापनामा जान नसकिने जवाफ दिएका छन् ।
लाजिम्पाटस्थित दाहालनिवासमा बुधबार दाहाल र कोइरालाबीच अहिलेको राजनीतिक तथा संवैधानिक संकटबाट मुलुकलाई निकास दिने विषयमा छलफल भएको थियो । स्रोतका अनुसार संविधानसभा पुन:स्थापना गरी तत्काल सहमति जुट्न सक्ने विवादित विषय समावेश गरेर नयाँ संविधान जारी गर्नुपर्ने दाहालले कोइरालासमक्ष गरेका थिए । उनले विवादित विषयमा सहमति गरेर नयाँ संविधान जारी गर्न संविधानसभा पुन:स्थापनामा सहमति भए राष्ट्रिय सहमतिको सरकारको नेतृत्व कांग्रेसलाई दिन सकिने प्रस्तावसमेत गरेका थिए ।
कोइरालाले भने राष्ट्रिय सहमतिको सरकार गठनपछि मात्रै अन्य विकल्पमा छलफल गर्न सकिने जवाफ दाहाललाई दिए । ‘उहाँ (दाहाल)ले संविधानसभा पुन:स्थापना गरेर जाउँm भन्नुभयो,’ दाहालसँगको भेटपछि पत्रकारसित उनले भने, ‘मैले राष्ट्रिय सहमतिको सरकार गठनपछि मात्रै अन्य विकल्पमा सोच्न सकिने बताए ।’
उनले चाँडै सहमतिमा पुग्नेमा आफू आशावादी रहेको बताए । दाहालसँग संविधानका सहमति हुन नसकेका संघीयता, निर्वाचन प्रणाली, शासकीय स्वरूपलगायत विषयमा छलफल भएको उनको भनाइ थियो । कोइराला र एमाले नेता केपी शर्मा ओलीबीच मंगलबार राष्ट्रिय सहमतिको सरकार गठनपछि मात्र अन्य विकल्पमा जानुपर्ने समझदारी भएको थियो ।

प्रतिक्रिया