छानबिन माग गर्दै युवा संघ अख्तियार जाने

काठमाडौं, २० भदौ । एमालेको युवा संगठन युवा संघ नेपालले लडाकुका नाममा राज्यकोषबाट करोडौँ रकम दुरुपयोग भएको भन्दै त्यसको छानबिन माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने भएको छ ।
एमाओवादीले तीन हजारभन्दा बढी नक्कली लडाकु कागजमा खडा गरी राज्यकोषबाट बर्सेनि करोडौँ रकम अनिमियतता गरेको तथ्य फेला पारेको भन्दै त्यसबारे छानबिनको माग गरी संघले अख्तियारमा उजुरी दिने भएको हो । ‘एमाओवादीले नक्कली लडाकुका नाममा राज्यकोष लुट्ने काम गरेको देखियो, त्यसको सही जानकारी पाउने अधिकार जनतालाई छ, त्यही भएर उजुरी दिने तयारी गरेका छौँ,’ संघका उपाध्यक्ष झपट रावलले भने, ‘उजुरीका लागि तथ्यांक संकलन भइरहेको छ ।’
एमाओवादी र ऊ नेतृत्वको सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएको संघले यसमार्फत कानुनी लडाइँ पनि थाल्ने जनाएको छ । ‘कानुनी लडाइँअन्तर्गत तथ्य संकलन गरी उजुरीको तयारी गरेका छौँ,’ महासचिव नीरज आचार्यले भने । संघले २४ भदौका लागि नेपाल बन्द घोषणा गरी त्यही दिन हिँडेरै अख्तियार पुगी उजुरी दायर गर्ने रावलले बताए ।
०६३ देखि एमाओवादीले लडाकुका नाममा बर्सेनि करोडौँ रकम राज्यकोषबाट लिँदै आएको थियो । लडाकुको भत्ता, भरणपोषणका लागि भन्दै एमाओवादी नेतृत्वले बुझ्दै आएको रकममा तीन हजारभन्दा बढी नक्कली लडाकुको रहेको सावित भएपछि संघले उजुरीको तयारी गरेको हो । उजुरीका लागि आवश्यक प्रक्रिया पूरा भइसकेको रावलले बताए । तथ्य संकलन, नक्कली लडाकुको संख्या संकलन संघले गरिरहेको छ ।
संघले नक्कली लडाकुका नाममा राज्यकोष दुरुपयोग गर्ने एमाओवादी नेताबारे छानबिनको माग गर्ने भएको छ । त्यसका लागि संघले विभिन्न पक्षसँग छलफल गरिरहेको छ । संघले मंगलबार एमालेनिकट कानुन व्यवसायीसँग छलफल गर्‍यो ।
त्यसैगरी, संघले मानवताविरोधी कार्यमा संलग्न व्यक्तिलाई कारबाहीका लागि अन्तर्राष्ट्रिय अदालतमा जाने बाटो खुला गर्न माग पनि गरेको छ । एमाओवादीका कारण फौजदारी मुद्दा अन्तर्राष्ट्रिय अदालतमा जान नसकेको उल्लेख गर्दै उसले पीडित पक्षसँग छलफलसमेत थालेको छ । ‘हामीले पीडित पक्ष, मानवअधिकारकर्मी र कानुन व्यवसायीसँग छलफल चलाइरहेका छौँ,’ रावलले भने, ‘ाष्ट्रसंघलाई युएनडिपीमार्फत २८ भदौमा निवेदन पठाउने योजना बनाएका छौँ ।’
एमाओवादीका कारण सशस्त्र युद्धका नाममा जथाभावी राजनीतिक प्रतिशोधका कारण पीडित बनाइएका हजारौँले न्याय नपाएको ठहर संघले गरेको छ । रोम सम्मेलनमा नेपाललाई भाग लिन नदिनु यसको प्रमाण भएको रावलको ठम्याइ छ ।

प्रतिक्रिया