छानबिन टोली डोटीतर्फ

काठमाडौं : डोटीको काडामान्डौ गाविसमा दादुराविरुद्धको खोपले चारजनाको मृत्यु भएको विषयमा छानबिन गर्न सरकारले टोली गठन गरेको छ । खोपलगायतका कारण चार बालबालिकाको मृत्यु भएको खबर आएपछि बालस्वास्थ्य महाशाखाले बुधबार छानबिन समिति बनाएर स्थलगत अध्ययनका लागि डोटी पठाएको छ ।
महाशाखामा बुधबार बसेको आकस्मिक बैठकले उक्त घटनाको अनुसन्धानका लागि महाशाखा र विश्व स्वास्थ्य संगठनका एक/एकजना प्रतिनिधि तथा डोटीमै रहेको अनुगमन समितिका दुई गरी चारजनाको छानबिन समिति गठन गरेको हो । समितिले बिहीबार डोटी पुगी उक्त घटनाको अनुसन्धान गरी बालबालिकाको मृत्युको कारणका विषयमा जानकारी दिनेछ । देशभर जारी नियमित दादुराको खोप कार्यक्रम भने यथावत् रहने महाशाखाले जानकारी दिएको छ ।
३ भदौमा स्थानीय उपस्वास्थ्य चौकीमा चलेको नियमित खोप कार्यक्रममा मातृशिशु कार्यकर्ताबाट दादुराको खोप लिएपछि काडामान्डौका एक वर्षीय मिलन दमाई, एक वर्षिया सुजाता नेपाली, एक वर्षिया गौरी चिराल र पोखरी–९ की १० महिनाकी मञ्जु विकको मृत्यु भएको थियो । खोप लगाएपछि बिरामी परेका १२ बालबालिकालाई उपचारका लागि सदरमुकाम ल्याइएको जानकारी डोटी जिल्ला स्वास्थ्य कार्यालयले गराएको महाशाखाले जनाएको छ । (सौस)

प्रतिक्रिया