राष्ट्रपति शासन लगाउनु पर्छः विजुक्छें

काभ्रे, ४ भदौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले राष्ट्रपति शासन लगाएर निकास निकाल्नु पर्ने बताएका छन् ।
निकास चाहने शक्ति तथा जनताहरुले राष्ट्रपतिलाई दवाव दिनुपर्ने उनको भनाई थियो । काभ्रेको बनेपामा आज पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष विजुक्छेंले राष्ट्रपति शासन नलगाउने हो भने दलहरु मिल्नुको विकल्प नभएको बताए ।
उनले प्रधानमन्त्रीले संविधानसभाको घाँटी थिचेर हत्या गरेको आरोप लगाउदै नयाँ निर्वाचन गराउने अधिकारपनि नभएको बताए ।
‘प्रधानमन्त्री बाबुराम भट्टराईले विदेशीको दबावमा संविधानसभाको विघटन गरे’ उनले भने, ‘बाबुराम अहिले थाल–खाउ कि भातको अवस्थामा पुगेका छन् ।’
उनले भट्टराईलाई आफ्नै पार्टीले राजीनामा दिन नदिएर नैतिकताको पतन गराएका बताए ।
पुष्पकमल दाहालले २५ वर्ष सत्ता चलाउने र अध्यादेश नआए सडक तताउने भनेर दिएको अभिब्यक्ति डराएर दिएको धम्की भएको विजुक्छेंको टिप्पणी थियो ।
‘हामी सडक कब्जा गरेर अध्ययादेश ल्याउँछौं जनताले मान्छन् ? एमाओवादी मान्न तयार हुन्छ,’ उनले प्रश्न गरे ।

प्रतिक्रिया